भविष्यको मुद्रा बन्ने तयारीमा क्रिप्टो, केन्द्रीय बैंकको भूमिकामा प्रश्न



विश्व कोरोना भाइरसको संकटमा परेको एकवर्ष भइसकेको छ । कोभिड १९ को संकटलाई न्यूनिकरण गर्नका लागि नेपालमा गत वर्ष चैत ११ मा गरिएको लकडाउनको पनि एकवर्ष पूरा हुँदै छ ।

पछिल्लो एकवर्षमा कोरोना भाइरसले विश्वमा धेरै खाले परिवर्तन ल्यायो । सँधै हतारमा हिँड्ने हामी सबै भाइरसबाट बच्न घरभित्रै बस्यौं । एक वर्षको अवधीमा कोरोनाविरुद्धको भ्याक्सिन आइसकेको छ । जसले केही हदसम्म भए पनि हाम्रो आत्मावल बढाएको छ ।

कोरोना भाइरसले डिजिटल युगमा प्रवेश गरेको विश्वलाई थप डिजिटल बनाउँदैै लगेको छ । विकसित देशहरु त्यसैपनि डिजिटल प्रणालीमा गइसकेका थिए । नेपालजस्ता देशहरुलाई पनि लकडाउनले गर्दा डिजिटल प्रणाली बढ्दै छ ।

अनलाइन माध्यमबाट हुने किनमेल होस् या भुक्तानीका लागि अपनाइएको डिजिटल प्रणाली । कोभिडले गर्दा डिजिटल प्रणालीमा नयाँ क्रान्ति नै ल्याइदियो भन्दा हुन्छ ।

विश्वमा पछिल्लो दशकमा जबरजस्त विकसित भएको र लगानी गर्ने क्षेत्र भने अर्को भर्चुअल करेन्सी भएको छ । जसले नोट निष्कासन गर्ने केन्द्रीय बैंकको भूमिकामा प्रश्न उठेको छ । नोट निकाल्ने र बैंक तथा वित्तीय संस्थाको नियमनको काम केन्द्रीय बैंकले गर्छ ।

कुनैपनि केन्द्रीय बैंकले निष्कासन नगर्ने भर्चुअल करेन्सीमा पछिल्लो समय लगानी र आकर्षण नै ठूलो मात्रामा बढेको छ ।

उदाहरणका लागि क्रिप्टो करेन्सी बिटक्वाइनलाई नै लिँदा हुन्छ । सन् २००९ मा आएको क्रिप्टो करेन्सी १ बिटक्वाइनको मूल्य ६० हजार ७४३ अमेरिकी डलरसम्म पुग्यो ।

लेखक ज्ञवाली

लगानी र सम्पत्तिको परिभाषा क्रिप्टो करेन्सीको विकाससँगै फेरिँदै गयो । कृषि युगमा हुँदा लगानी र सम्पत्तिको मापन भएका जनावरसँग हुन्थ्यो वा जमिन । विकास क्रमसँगै लगानीका क्षेत्रहरु बढ्दै जादा सम्पत्ति मापनको तरिका पनि परिवर्तन हुँदै गयो ।

एक दशकमा विकसित भएको क्रिप्टो बिटक्वाइनले त्यसलाई पुष्टी गरेको छ । आजको दिनमा विश्वमा क्रिप्टो करेन्सीको भ्यालु मात्र १ ट्रिलियन अमेरिकी डलरको भएको छ । बिटक्वाइनपछि आएका विभिन्न करेन्सीमा समेत मानिसहरुको आकर्षण बढ्दै छ भने लेनदेनका लागि समेत यसको प्रयोग हुन थालेको छ ।

विश्वमा सबैभन्दा पुरानो केन्द्रीय बैंकको स्वीडेनको रिक्सा बैंकले इ-मुद्राको परीक्षण गर्ने भएको छ । स्वीडेनको केन्द्रीय बैंकले इ-क्रोनाको परीक्षण गर्ने घोषणा गरेको छ ।

सिंगापुरको मौद्रिक प्राधिकरणले राज्य लगानी कम्पनी टेमासेक र जेपी मोर्गन चेजको साथ ई-मुद्राको परीक्षण पूरा गरेको छ । यसले भविष्यको मुद्रालाई देखाएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको केन्द्रीय बैंक पीपुल्स बैंक अफ चाइनाले शेन्जेन सहरमा डिजिटल युआनको पहिलो परीक्षण गत अक्टोबरमा गर्यो । चीन दक्षिणी भेगमा रहेको शेन्जेन चीनको नयाँ सहरहरुमा चिनिन्छ । त्यहाँको १५ लाख डलरको लट्री निकालेको थियो । विजेताहरूले मोबाइलमा डिजिटल युआन मोबाइल एप्लिकेशन प्राप्त गरेका थिए । जसको माध्यमबाट शन्जेनमा रहेका ३ हजार पसलमा किनबेच गर्न सकिने थियो ।

अमेरिकाको स्टक एक्सचेन्ज नास्ड्याकमा सूचिकृत सूचीबद्ध कम्पनी, माइक्रोस्ट्रेटेजीले आफ्नो सञ्चित कोषमा रहेको ४२५ मिलियन अमेरिकी डलर लगानी गर्ने छुट नियामकबाट पायो ।

क्रिप्टो करेन्सी बिटक्वाइनको तुलना अहिले सुनसँग नै हुन थालेको छ । यसमा भएको लगानीले त्यसलाई संकेत पनि गर्छ ।

नेपालमा भने क्रिप्टो लगायतमा यस्ता भर्चुअल करेन्सीमा लगानी गर्न प्रतिबन्ध छ । यद्यपी घुमाउरो पारामा नेपालीहरुले बिटक्वाइनजस्ता क्रिप्टो करेन्सीमा लगानी गरेका छन् ।

केही समयअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क क्षेत्रमा भर्चुअल करेन्सी विकास गर्न सकिने बताएका थिए ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले अहिले क्यूआर कोडलाई प्रबद्र्धन गरेका छन् । जसको उद्देश्यको नगदरहित समाज बनाउनु हो । क्यूआर कोडमार्फत् हुने खुद्रा भुक्तानीले नगद बोक्ने झन्झट हट्ने छ ।

गभर्नर अधिकारीले भनेजस्तो उनी र उनीपछि आउने गभर्नरले हस्ताक्षर गर्ने नोट केवल संग्रहमा सीमित हुने छ ।

तर, क्रिप्टोको विकासले केन्द्रीय बैंकले निकाल्ने भौतिक मुद्राको भविष्यलाई पछाडि धकेल्ने देखिएको छ । विश्वमा देखिएको क्रिप्टोको आकर्षण यो मुद्राको एउटा रुप भने बनेको देखिन्छ ।

हामीले समयमै यसको महत्व नचिन्ने हो भने भर्चुअल मनिको दुनियाँमा धरै पछि पर्ने निश्चित छ ।


आशीष ज्ञवाली