औद्योगिक सडकमा परिवर्तन हुँदै भैरहवा-परासी खण्ड, ५० अर्ब लगानी
भैरहवा । एक दशकअघिसम्म भैरहवा–परासी सडकखण्डको परिचय हुलाकी सडकखण्डका रुपमा मात्रै थियो । सामान्य आवतजावतका लागि मात्रै प्रयोग गरिने यो खण्डको अहिले परिचय फेरिएको छ ।
भैरहवादेखि पूर्वपरासीसम्मको खण्ड औद्योगिक करिडोरका रुपमा स्थापित हुन थालेको छ ।
बृहत लुम्बिनी क्षेत्र विकास परियोजनाले समेट्ने क्षेत्रभन्दा १५ किलोमिटरभित्र उद्योग खोल्न प्रतिबन्ध लागेसँगै उद्योगहरु भैरहवा परासी करिडोरमा स्थानान्तरण भएका हुन् । जसले भैरहवा-परासी बीचको खण्डलाई औद्योगिक सडकखण्डका रुपमा विकसित हुन थालेको छ ।
भैरहवा परासीको खण्डमा श्री स्टिल र एशियन कंक्रिटो सञ्चालन गरेका उद्योग राजेश अग्रवाल लुम्बिनी रोडमा नयाँ उद्योग खोल्न प्रतिबन्ध लागेसँगै उद्योगहरु भैरहवा परासी रोडमा सिफ्ट भएको बताउँछन् ।
हाल यो क्षेत्रमा ठूला लगानीका स्टिल उद्योग, मदिरा, मोटरसाइकल एसेम्बल उद्योग सञ्चालनमा छन् । उद्योगीहरुले हालसम्म यस क्षेत्रका विभिन्न उद्योगमा ५० अर्ब हाराहारीमा पुगेको छ ।
व्यवसायिक घराना लक्ष्मी ग्रुपले सिद्धी लक्ष्मी स्टिल उद्योग सञ्चालनमा ल्याएको छ । त्यसैगरी हुन्डाई गाडीका नेपालको बिक्रेता र डेरी तथा चकलेट उद्योगमा लगानी गरिरहेको लक्ष्मी ग्रुपले स्टिल उद्योगका लागि भैरहवा-परासी खण्डनै रोजेको छ ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ नेपाल भारत सीमाबाट नजिक र सस्तो जग्गा भएको कारण स्टिल उद्योगको लागि भैरहवा परासी रोडलाई रोजेको बताउँछन् ।
‘स्टिल उद्योग खोल्नका लागि अन्यत्रभन्दा जग्गाको हिसाबले भैरहवा परासी रोड उपयोगी देखियो, नेपाल भारत सिमानाबाट नजिक तथा सडक सञ्जालले गर्दा उद्योग खोल्न त्यहाँ पुगेको हो,’ श्रेष्ठले भने ।
लक्ष्मी ग्रुपले स्टिल उद्योग करिब २ अर्ब रुपैयाँ लगानी गरेको छ ।
भैरहवा परासी खण्डमा श्री स्टिल्स्, सिद्धीलक्ष्मी स्टिल विजय डिस्टिलरी, राज ब्रुअरी, सिद्धिबिनायक फुड्स, रोहिणी एग्रो, आरती एग्रो, वेष्टर्न फ्लोर मिल, बरुण बेभरजको तराई प्लान्ट (पेप्सिकोला उद्योग सञ्चालनमा छ ।
यस्तै मिलानो सुज, इन्भिपावर इनर्जी एण्ड फर्टिलाइजरको सिएनजी ग्यास उद्योग, आसी इण्डष्ट्रिज, एचएच बजाज मोटरसाइकलको एसेम्बल प्लान्ट, एशियन कंक्रिटोलगायतका उद्योग पनि सञ्चालनमा छन् ।
मदिरा व्यवसायमा अग्रणी मानिएको जावलाखेल ग्रुप अफ कम्पनीको २ वटा मदिरा उद्योग पनि यसै क्षेत्रमा सञ्चालनमा छन् । कम्पनीले रुस्लान भोड्का उत्पादन गर्ने विजय डिस्टिलरी पहिलेदेखि नै भैरहवा परासी रोड सञ्चालन गरेको थियो ।
जावलाखेल ग्रुप अफ कम्पनीले वियर उद्योगमा समेत लगानी गर्ने र जर्मनको लोकप्रिय बियर बासडाइनर वियरको उत्पादनका लागि यही क्षेत्रलाई रोजेको थियो । राज ब्रुअरीले उद्योगमा ४ अर्ब रुपैयाँ लगानी गरेको छ । जसबाट जर्मन बियर बासडाइनरबाहेक पछिल्लो सातादेखि बडवाइजर बियरको समेत उत्पादन शुरु गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छाले नेपालमा शुरु गरेको बजाज मोटरसाइकलको एसेम्बल प्लान्ट पनि भैरहवा परासी रोडमै छ ।
‘बुटवलदेखि भैरहवासम्म जग्गा अत्यधिक मूल्यवृद्धि र आवासीय घरहरु बढी भएको कारण उद्योग खोल्न सम्भव छैन, त्यसको बिकल्पका रुपमा भैरहवा परासी क्षेत्रलाई रोजिएको हो,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।
सस्तो जग्गा तथा पूर्वपश्चिम राजमार्ग जानका लागि नवलपरासी भूमईमा जाने बाटो पनि निकै राम्रो छ । नेपाल भारत सिमानासँग नजिक भएको तथा सहज बाटो भएको कारण उद्योगीको रोजाई भैरहवा परासी रोड बनेको हो ।
डुबान र विजुली मुख्य समस्या
औद्योगिक हवका रुपमा विकसित भएपनि वर्षाको समयमा हुने डुबान तथा पर्याप्त विजुलीको आपूर्ति भैरहवा परासी रोडमा रहेका उद्योगले भोग्नु परेको साझा समस्या हो ।
‘उद्योगका लागि चाहिने गरेर पर्याप्त विजुलीको दिन प्राधिरकणले सकेको छैन,’ श्री स्टिल र एशियन कंक्रिटोका सञ्चालक राजेश अग्रवाल भन्छन् ।
सरकारले उद्योगका लागि चाहिने फिडर उपलब्ध गराउने र दीर्घकालीनरुपमा औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने हो भने भैरहवा परासी खण्ड देशको नयाँ औद्योगिक क्षेत्रको रुपमा विकसित हुने धारणा अग्रवालको छ ।