५० रुपैयाँ बोकेर काठमाडौं आएका बमबहादुर मिश्र: हकर, मास्टर, बैंकर हुँदै डेपुटी गभर्नरसम्म



काठमाडौं । २०५८ सालमा राष्ट्र बैंकको सहायक निर्देशक पदमा जागिरका लागि आवेदन दिँदा बमबहादुर मिश्रलाई साथीभाईले ठीक गरिनस् भन्ने सल्लाह दिन्थे । किनभने त्यसबेलै उनको मासिक तलबभत्ता ३२ हजार रुपैयाँ थियो ।

तर, राष्ट्र बैंक उनले आवेदन दिएको पदको मासिक तलब ८ हजार रुपैयाँमात्रै थियो । खाइपाई आएकोभन्दा ३ गुणाले घटेर नयाँ जागिर खान फेरि दुःख गरेको भन्थे उनलाई ।

त्यसबेला उनी एनआइसी (हालको एनआइसी एशिया बैंकमा) सिनियर अफिसर थिए । तलबभत्ता गरेर महिनामै ३२ हजार बुझ्थे ।

२०५८ सालमै बिहे गरेकाले उनलाई पैसाको आवश्यकता पनि बढेको थियो । सामान्य परिवारको व्यक्ति भएकाले एकातिर पैसातिरको मोह पनि थियो भने अर्कातिर सरकारी जागिरको लालच । मिश्रको अन्तरमनमा पनि राष्ट्र बैंकमा आवेदन दिउँ कि नदिउँ भइरहेको थियो ।

तर, जे भए पनि सरकारी जागिर हो, त्यो पनि नियामक निकायको । उनले आवेदन दिने निधो गरे । किनभने उनीसँग भविष्यमा ठूलो बान्छे बन्नुपर्छ । काममा मिहेनत गर्नुपर्छ भन्ने दृढ संकल्प थियो । त्यसैले निजी बैंकको जागिरमा पैसाको लोभमा अल्झिएनन् ।

लिखित परीक्षा दिए । पास भए । जब पास भएको रिजल्ट आयो । तब उनलाई तनाब शुरु भयो । किनभने उनले अफिसलाई जानकारी नै नदिई परीक्षा दिएको भन्दै प्रष्टिकरण सोध्यो ।

नेकपा एमालेसँग बैचारिक निकटता राख्ने मिश्रलाई तत्कालीन कांग्रेस सरकारले नियुक्ति गरेका गभर्नर डा. चिरञ्जीबी नेपालले पनि विश्वास गरेर महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए ।

२०५९ जेठ १९ गते अन्तर्वार्ता दिए । त्यसमा पनि पास भए । र, २०५९ साल साउन २७ गते राष्ट्र बैंकमा उनको नियुक्ति भयो । र, बैंक निरीक्षण तथा सुपरीवेक्षण विभागमा पोष्टिङ भयो । केही समयपछि बैंकिङ कार्यालय बीरगन्ज र बैंकिङ कार्यालय थापाथलीमा सरुवा भयो ।

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

२०६५ सालमा बढुवा भएर उपनिर्देशक भएका मिश्र ०७२ सालमा आन्तरिक प्रतिस्पर्धामा नाम निकालेर निर्देशक बने । फेरि बीरगञ्ज सरुवा भयो ।

२०७३जे ठमा सरुवा भएर बालुवाटारस्थित केन्द्रीय कार्यालयमाआए । ०७५ चैतमा कामु कार्यकारी निर्देशक भए । ०७६ साउन पहिलो साता कामु कार्यकारी निर्देशककै रुपमा भुक्तानी प्रणाली विभाग सरुवा भए । र, अन्तिम साता कार्यकारी निर्देशकमा बढुवा भए । भुक्तानी प्रणाली विभामा रहँदा चेकै नकाटी भुक्तानी गर्न मिल्ने व्यवस्था अर्थात् रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) शुरु गर्न अत्यन्तै महत्वपूर्ण भूमिका खेले ।

त्यसपछि ०७६ माघमा सरुवा भएर विदेशी विनिमय व्यवस्थापन विभाग पुगेका मिश्रलाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डेपुटी गभर्नरमा नियुक्ति गर्यो ।

मिश्र २०२९ सालमा पूर्वी पहाड पाँचथरमा जन्मिएका हुन् । पछि उनको परिवार झापाको दमक बसाईँ सर्यो । जुन अहिलेका प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र हो ।

राष्ट्र बैंक प्रवेश गरेको छोटो समयमै डेपुटी गभर्नर बन्ने केही व्यक्तिमध्येका एक हुन् मिश्र । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सूचिमा १३ बरियतामा रहेका मिश्र को हुन् ? र, उनले यहाँसम्म आइपुग्न के कस्ता दुःख संघर्ष गरेका थिए ? भन्ने बारे जानकारी दिनेछौं ।

साइन्स पढेर डाक्टर बन्ने सपना सजाउँदै २०४८ सालमा काठमाडौं आएका मिश्र बैंकर हुँदै राष्ट्र बैंकको जागिरे भए । र, अहिले डेपुटी गभर्नरसम्म बनेका छन् ।

डाक्टर बन्ने सपना साँचेर काठमाण्डौ आउँदा मिश्रले एक बोरा चामल र ५० रुपैयाँमात्रै साथमा बोकेका थिए ।

२०४६ सालमा एसएलसी दिएका उनी स्कुल टपर बनेका थिए । र, धरानको हात्तिसार क्याम्पसमा आइएस्सी भर्ना भए । आइएस्सीमा पनि कलजे टपर भए ।

त्यसपछि उनी ०४८ सालमा डाक्टर बन्ने सपना साँचेर बीएस्सी अध्ययन गर्ने सोच बनाएर काठमाडौैं आएका थिए । त्रिचन्द्र क्याम्पसमा बीएस्सी भर्ना भए । बायोलोजी पढ्न शुरु गरेका उनी फिजिक्स पढ्न अमृत साइन्स क्याम्पस (अस्कल) भर्ना भए ।

कहिलेकाहीँ घरबाट पठाइदिएको पैसाले काठमाडौंमा खानबस्न धौ-धौ हुन्थ्यो । विद्यार्थी जीवनमा उनले ठूलो आर्थिक संकट भोग्नुपर्यो । कुलेश्वरमा डेरा गरी बस्ने मिश्र हिँडेरै क्याम्पस आउने जाने गर्थे । किनभने उनीसँग गाडी चढ्ने भाडा नै हुँदैनथ्यो ।

हक्की स्वभावका मिश्र पढाइमा जस्तो अब्बल छन्, काममा पनि उस्तै मिहेनती र अब्बल छन् ।

काठमाडौंको महंगीमा बाँच्नै गाह्रो हुन थालेपछि मिश्रले पत्रिका बेच्ने हकरको काम गर्न थाले । र, त्यसरी कमाएको पैसाले साइकल किने । अनि साइकलमै क्याम्पस आउन जान थाले ।

मिश्र अचेल पैदल हिँड्न मन पराउँछन् । साइकल त उनको सोख नै हो । विदाका दिन साइकल लिएर निस्किहाल्छन् । तर त्यसबेलाको हिँडाइ र साइक्लिङ बाध्यता थियो भने अचेल रहर ।

पत्रिका बेचेर पनि प्रगति होला जस्तो लागेन र सोह्रखुट्टेस्थित एभरेष्ट स्कुलमा पढाउन थाले मासिक ३ सय रुपैयाँ तलबमा । पछि उनको तलब बढेर १००० रुपैयाँ भयो ।

पैसा त कमाउन थाले । तर, व्यवस्तताले गर्दा मिश्रसँग खाना पकाएर खाने समयको पनि अभाव हुन थाल्यो । साँझ चाउचाउ र अण्डा खाएर राति पढ्थे । ज्यान सुकेर हावाले उँडाउलाजस्तो भएको थियो । तर, उनले ज्यानभन्दा करिअरलाई प्राथमिकतामा राखे । मिहेनत गर्न छाडेनन् ।

बीएस्सीको रिजल्ट आयो । यो पटक पनि मिश्रले कलेज टप गरे । त्यसपछि अन्नपूर्ण माविमा पढाउन थाले । यसैबीच तत्कालीन नेपाल अरब (अहिलेको नविल बैंक)मा जुनियर असिस्टेन्टका लागि जागिर खुल्यो । आवेदन दिए । परीक्षा दिए । पास पनि भए । पहिलो पोस्टिङ बिराटनगर भयो । तलब बढेर मासिक ५ हजार पुग्यो । जागिर खाँदै एमबिए भर्ना भए । त्यो पनि पास गरे । अनि आफू पढेकै कलेज पढाउन थाले ।

बिराटनगरमै मूख्य कार्यालय रहेन गरी एनआइसी बैंक खुल्यो । जुन पछि बैंक अफ एशियासँग मर्ज भएर एनआइसी एशियाको नाममा सञ्चालनमा छ । उनी एनआइसी बैंकको जुनियर अफिसर भए । तलब बढेर मासिक १३ हजार पुग्यो । पछि बढुवा भएर सिनियर अफिसर भए । त्यसबेलासम्म उनको तलबभत्ता बढेर ३२ हजार रुपैयाँ पुगिसकेको थियो ।

मिश्र २०२९ सालमा पूर्वी पहाड पाँचथरमा जन्मिएका हुन् । पछि उनको परिवार झापाको दमक बसाईँ सर्यो । जुन अहिलेका प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र हो ।

मिश्रले त्रिभुवन विश्व विद्यालयबाट बिएस्सी, एमबिए, एलएलबी र जापानको टोकियोबाट अर्थशास्त्रमा एमफिलसम्मको अध्ययन पूरा गरेका छन्।

हक्की स्वभावका मिश्र पढाइमा जस्तो अब्बल छन्, काममा पनि उस्तै मिहेनती र अब्बल छन् ।

नेकपा एमालेसँग बैचारिक निकटता राख्ने मिश्रलाई तत्कालीन कांग्रेस सरकारले नियुक्ति गरेका गभर्नर डा. चिरञ्जीबी नेपालले पनि विश्वास गरेर महत्वपूर्ण विभागको जिम्मेवारी दिएका थिए ।

सायद उनको काम गराई देखेरै सरकारले डेपुटी गभर्नरजस्तो महत्वपूर्ण पदको जिम्मेवारी दिएको हुनुपर्छ । किनभने राष्ट्र बैंकका काबिल १७ जना कार्यकारी निर्देशकलाई पछि पार्दै मिश्र डेपुटी गभर्नर बन्न सफल भएका छन् । सफल कार्यकालको शुभकामना ।


पुष्प दुलाल