भन्सार एजेन्टको लाइसेन्स खुलाइदैं, व्यापारको आकारमा संख्या निर्धारण गरिने



काठमाडौं । करिब २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई यस वर्ष अगाडि बढाइने भएको छ । भन्सार विभागले एजेन्टको नयाँ लाइसेन्स चालु आर्थिक वर्ष भित्रै जारी गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाएको छ ।

विभागले २०५४ सालमा एजेन्टको लाइसेन्स दिएको थियो । त्यससँगै २०५७ सालमा पुनः अनुमति दिएको थियो । तेस्रो पटक विभागले २०६२ वा ६३ सालमा एजेन्टको अनुमतिका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

तर, त्यसबेला अख्तियारमा उजुरी परेपछि मुद्धा परे पछि अनुमतिको प्रक्रिया खारेज गरेको थियो ।

यतिबेला करिब २० वर्ष पछि लाइसेन्स खुलाउने प्रक्रिया अन्तिम चरणमा पुगको विभागका प्रवक्ता शिशिर घिमिरेले बताए ।

उनका अनुसार गत वर्ष नै परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तर, कोभिड–१९ महामारी शुरु भएपछि यतिकै रोकिएको थियो ।

चालु आर्थिक वर्षमा नै अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनले बताए । विभागले अन्तिम चरणको छलफल समेत गरिसकेको हुनाले सकेसम्म छिट्टै खुल्ने उनको भनाइ छ ।
विभागले नयाँ लाइसेन्सको लागि आवश्यक परीक्षाको पाठ्यक्रम, कार्यविधि, नियम कानून तयार भइसकेको उनले जानकारी दिए ।

‘विभागले लामो समयपछि भन्सार एजेन्टका लागि परीक्षा लिने कार्य अगाडि बढाएको छ,’ उनले भने, ‘भन्सार एजेन्ट नखुलेको २० वर्ष नै भइसकेको छ । अब विभागले एजेन्ट खुलाउने बेलामा राष्ट्रिय स्तरको पत्रपत्रिकामा र विभागको वेवसाइटमा सूचना प्रकाशित गर्नेर्छौ’ उनले भने ।

त्यसका लागि विभागले एक महिनाको अवधि राखेर सूचना प्रकाशन गर्ने तयारी छ । सूचना प्रकाशन भएको करिब एक महिनापछि परीक्षा, अन्तर्वाता लिएर मात्रै लाइसेन्स दिने कानुनमा स्पष्ट व्यवस्था भएकाले सोही अनुसार विभागले योजना बनाएको विभागले जनाएको छ ।

‘परीक्षाका लागि पाठ्यक्रम, कार्यविधिलगायत सम्पूर्ण कार्यक्रम स्वीकृत भइसकेको छ । कोभिडको कारणले परीक्षा लिँदा केही गाह्रो हुन्छ कि भनेर परीक्षा लिइएको थिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘विश्वविद्यालयले परीक्षा लिन थालिसकेका छन् । त्यसैले सम्भवत छिट्टै परीक्षा हुनेछ ’ उनले भने ।

उनले लामो समयपश्चात भन्सार एजेन्ट खुल्न लागेकाले अत्याधिक परीक्षार्थी सहभागी हुन सक्ने अनुमान गरे । लाइसेन्सको लागि स्नातक गरेको नेपाली नागरिक हुनुपर्नेछ । त्यसैले अहिले स्नातक गरेको धेरै परीक्षार्थी सहभागी हुने विभागको अनुमान छ ।

व्यापारको आकार हेरेर संख्या निर्धारण गर्ने

विभागका अनुसार अत्याधिक मात्रामा परीक्षार्थी सहभागी भएपनि यति नै संख्या भन्ने यकिन नभएको बताए ।

‘अहिले नै यति एजेन्टलाई लाइसेन्स दिने भन्ने किटान गरिएको छैन । वर्षभरीमा भन्सारमा कति डिक्लेरेशन हुन्छ भन्ने तथ्याङ्कको विश्लेषण भइरहेको छ । सोही तथ्याङ्कको विश्लेषण गरेर संख्या तोक्ने छौं,’ उनले भने ।

यस्तै, २० वर्ष अगाडिको व्यापारमा कति एजेन्टले काम गरिरहेका थिए । अहिले उक्त व्यापार बढेर कति पुग्यो । सोही अनुपातमा तथ्याङ्क विश्लेषण गरेर संख्या निर्धारण हुने उनले बताए ।

पुरानो र नयाँलाई मिलाएर दिनुपर्छ – अध्यक्ष शर्मा

लामो समयसम्म खुल्न नसकेको भन्सार एजेन्टको लाइसेन्स खुलाउने निर्णय स्वागतयोग्य रहेको भन्सार एजेन्ट महासंघका अध्यक्ष डा. शान्तकुमार शर्माको भनाइ छ । उनका अनुसार एजेन्टको लागि एउटा कार्यविधि बनाई २० वर्षदेखि भन्सारमा काम गर्दै आएको एजेन्ट प्रतिनिधि तथा लामो कार्यानुभव रहेका प्रतिनिधिलाई पनि समावेश गर्नुपर्ने हुन्छ ।

‘लाइसेन्सको लागि आह्वान गर्ने सम्पूर्ण जिम्मेवारी विभाग नै भएकाले सोही अनुसार यस विषयमा महानिर्देशकसँग धेरै पटक छलफल गरिसकिएको छ,’ उनले भने, ‘अब छिट्टै नै भन्सार विभागले अनुमति खुलाउनेछ । ’

विभागको निर्णयलाई सहमति जनाउँदै महासंघले कार्यविधि, योग्यता पुगेका वा कम्प्युटरको अनुभव राख्ने जस्ता विषयमा छलफल गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।
यस्तै विभागले भन्सार एजेन्टलाई कम्पनीमा लगेमा आवश्यक एजेन्टको आपूर्ति हुने उनको अनुमान छ । विगतका प्रतिनिधिलाई व्यवस्थापन गर्न सकियो भने झनै राम्रो हुने उनले बताए ।

‘हाल देशभर ३ सय त्यस्ता प्रतिनिधि छन् । सबैलाई समावेश गर्न नसके पनि ५० प्रतिशतलाई समावेश गर्नुपर्छ । साथै, नयाँ एजेन्टमा पनि ५० प्रतिशत खुलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।

हाल पनि भन्सार एजेन्ट भने कमी नरहेको हुनाले पुरानोबाट डेढ सय र नयाँबाट डेढ सय लिए सहज हुने उनले बताए ।

‘हाल १७० एजेन्ट कार्यरत छन् । त्यसमा एउटा एजेन्टको दुई जना प्रतिनिधि हुन्छन् । अहिले पनि ५ सयको हाराहारीमा एजेन्टहरु क्रियाशिल छन् । तर, लामो समयसम्म खुल्ला नगरेको हुनाले विभिन्न जिज्ञासा, विरोध तथा कार्टेलिङ गरेको आरोप लागेको छ । त्यसैले, लाइसेन्स खोल्नुमा कुनै आपत्ति छैन,’ उनले भने ।

सो प्रक्रियाका लागि महासंघसँग समन्वय गरेर जानुपर्ने आफूहरुको माग रहेको उनीहरुको भनाइ छ । आगामी दिनमा प्राविधिमैत्री पनि हुनुपर्ने भएकाले युवालाई अवसर दिनुपर्ने माग पनि उठेको छ ।

हाल ५० वर्षभन्दा बढी उमेर भएका एजेन्टहरू मात्रै छन् । त्यसैले युवाको प्रवेश हुनुपर्ने महासंघको भनाइ छ ।


क्लिकमान्डु