कोरोनाले बिजनेश मोडल नै परिवर्तन गरिदियो, अब राजनीति गर्छुः चौधरी



व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी विश्वविख्यात म्यागेजिन फोर्ब्सले सूचिकरण गरेका नेपालका एकमात्र डलर अर्बपति हुन् । उनीसँग अहिले १ अर्ब ५० करोड डलर अर्थात् डढ खर्ब रुपैयाँ बराबरको सम्पत्ति छ । पारिवारिक विरासतमा पाएको व्यवसायलाई चौधरीले क्रान्तिकारी शैलीमा फड्को मारेर अन्तर्राष्ट्रिस्तरमा समेत फैलाउन सफल भएका छन् । बिघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद् रहेका चौधरीको योजना अब राजनीतिकरुपमा सक्रिय हुने छ । कोभिड-१९ गर्दा व्यवसायमा नयाँ संकट सँगै अवसरको पनि सिर्जना गरेको छ । चौधरीसँग कोभिडपछिको व्यवसायिक सम्भावना, राजनीतिक सक्रियता र व्यावसायिक जीवनमा भोगेका संकट र संघर्षलगायतका विषयमा क्लिकमाण्डूका लागि पुष्प दुलाल, आशीष ज्ञवाली र कमलकुमार बस्नेतले गरेको कुराकानीः

भनिन्छ हरेक महामारीले चुनौतीसँगै अवसर पनि ल्याउँछ । हामी अहिले मानव सभ्यतालाई नै चुनौती दिने कोरोनाजस्तो महामारीको सामना गरिरहेका छौं । व्यवसायीका हिसाबले यो महासंकटले के कस्ता अवसरहरु सिर्जना गर्यो ?

यसलाई अवसरभन्दा पनि दोस्रो विश्वयुद्ध पछिको वा त्योभन्दा पनि ठूलो विश्वसंकटका रुपमा लिनुपर्छ । दोस्रो विश्वयुद्धबाट सबै मुलुक प्रभावित भएका थिएनन् । तर कोरोना महामारीका कारण सबै मुलुक, धनी–गरिब कोही पनि छुटेनन् । यसले के देखायो भने संसार जति विकसित भए पनि अझै पनि मानव क्षमताभन्दा बाहिरका शक्तिहरु रहेछन् । जसले मानिसलाई लाचार बनाइदिने रहेछ ।

हामी वातावरणीय परिवर्तन भएको विषय विश्व चिन्तित भएको कुरा गर्दै आएका थियौं । यसबीचमा उड्ययन, यातायात क्षेत्र नै ठप्प भयो । मानिसहरु घरघरमै बस्न बाध्य भए । मुर्झाएर खत्तम भएका प्राकृतिक स्वरुप फेरि फर्कियो । चरा नभएका ठाउँमा चरा फर्किए, पानी नआउने ठाउँमा पानी आउन थाले ।

राजनीतिज्ञहरु पनि आफूभित्र खोक्रो भएर बाहिर गएर जति चिच्याए पनि केही हुँदैन । सबै जनता आर्थिकरुपमा सम्पन्न हुनुपर्छ । त्यसका लागि बौद्धिकरुपमा सम्पन्न हुनुपर्छ । हामीले गाउँगाउँमा स्कुल त बनायौं । तर त्यो शिक्षा चैं दिन सकिएन । म राजनीतिमा आउनुको कारण पनि समाजमा आर्थिक क्रान्तिको जागरण ल्याउनलाई हो ।

दोस्रो कोरोनाका कारणले मानिसलाई फरक ढंगले बाँच्न सक्ने पाठ सिकाइदियो । मानिसहरु डर र त्रासले नै घरभित्र बसेका हुन् । सबैभन्दा ठूलो विषय व्यक्तिगत सुरक्षा नै भएको छ । त्यसबाहेक अनलाइन, डिजिटल प्रविधिको प्रयोग, फूड ह्याविटमा परिवर्तन आयो । शिक्षा, हस्पिटिलाटीजस्ता क्षेत्रमा ठूलो परिवर्तन आयो ।

यातायात रोकिन्छ भन्ने कसैले सोचेको थिएन । मै पनि महिनामा २० दिन यात्रा गरिरहने मान्छे हुँ । तर ९ महिनापछि अस्तीमात्रै दिल्ली र दुबई जान पाएँ । अहिले त मलाई बेकारमा पहिले दौडिरहेको रहेछु भन्ने लाग्न थालेको छ । जहाँ पनि भौतिकरुपमै उपस्थित भएर हिँड्नुपर्ने रहेनछ भन्ने लाग्न थालेको छ ।

त्यसकारणले यो महामारीले मानिसका प्राथमिकतालाई रि–डिफाइन गर्न बाध्य बनायो । कार्यालय सञ्चालनमा पनि पहिले १ सय ९० जनाले चलाउने होटल अहिले ६० जनाले चलाइरहेका छन् । सीमित कर्मचारीमा पनि मानिसहरुले ‘मल्टिटास्किङ’ गर्न थालेका छन् ।

तपाईं त संकटमा पनि अवसर देख्ने उद्यमी । कोरोनापछि आफ्नो व्यवसाय र लगानीलाई कुन रुपमा र कहाँ ‘डाइभर्ट’ गर्दै हुनुहुन्छ ?

डिजिटल टेक्नोलोजी । हरेक क्षेत्रमा फिजिकलभन्दा बढी भर्चुअल कनेक्टिभिटी हुनुपर्ने अवस्था आएको छ । सेवादेखि लिएर हरेक क्षेत्रमा डिजिटल माध्यमबाट भयो भने दीगो हुने रहेछ भन्ने अवस्था आयो । अब त हामी आफ्नो व्यवसायको मोडल नै परिवर्तंन गर्न बाध्य भयौं । यसमा खाली डिजिटल व्यवसायमात्रै चलाउने भन्ने होइन । वितरण प्रणालीमा परिवर्तन गर्ने हो । वाइवाइ वितरणकै कुरा गर्दा पहिले हामी आफैंले वितरण गर्दै आएका थियौं भने अब इकमर्श व्यवसायलाई हामीले प्रयोग गर्न सक्छौं । अब हरेक काममा डिजिटलको आवश्यकता बढ्यो । यसले व्यवसायलाई अझ बढी प्रतिष्पर्धात्मक बनाउँछ ।

डिजिटल टेक्नोलोजीको आवश्यकता महसुस भएसँगै आगामी दिनमा कस्ता खालका इनोभेसन आउलान् र त्यसमा चौधरी ग्रुपको भूमिका कस्तो रहला ?

महामारी आउनुभन्दा अगाडि नै केही शुरुवात भइसकेको थियो । पहिले कुनै जमानामा फोटो खिच्न कोड्याक कम्पनीको बर्चश्व थियो भने अहिले त डिजिटलको प्रभुत्व जम्न थालेको छ । आजका दिनमा सामान्य कार्यालय मात्रै भएको आधारमा एयर बीएन्डबी र ओयोजस्ता कम्पनीले सेल्स र डिमाण्डका बीचमा काम गरेर ठूलो व्यवासाय शुरु गरिरहेका छन् । आज एउटा पनि कार नभएको कम्पनी उबर ट्याक्सी रन गर्ने सबैभन्दा ठूलो कम्पनी भयो । आज म एउटा पनि विमान नभइकन विमान कम्पनीको मालिक हुनसक्छु । कुरियर कम्पनीहरले ड्रोनको प्रयोग र दुवई र अमेरिकामा ड्राभइरलेस ट्याक्सीको अवधारणा शुरु भइसकेको छ ।अहिले इनोभेसन भनेको डिजिटलमा पहिलेजस्तो सिलिकन भ्यालीबाट आउथ्यो भने अहिले घरघरमा इनोभेसन भइरहेको छ ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

तपाईंहरुजस्ता धनाड्यले लगानी नगर्ने हो भने हाम्रोजस्तो देशमा डिजिटल टेक्नोलोजी र इनोभेसनमा क्रान्ति संभव होला र ?

हामी यो मानसिकताबाट हट्नुपर्छ । अबको जमानामा जुन प्रकारको उद्यमशिलताले जरा गाड्दै छ यसका लागि कुनै व्यापारिक घराना हुनु पर्दैन । दोस्रो कुरा सोच छ भने पुँजीले पछ्याउँछ । आज बंगलादेशजस्तो देशमा आर्थिक विकास र त्यसमा प्रविधिको प्रयोग हेर्दा दराज र पठाओजस्ता स्टार्टअपहरु जुन स्केलमा गइरहेका छन्, त्यो हेर्नुपर्छ । आज त्यो इनोभेसन नेपालमा भइरहेको छ भन्ने होइन । नेपालीहरुले जहाँ भए पनि काम गरिरहेका छन् । हामीले पनि सोसल बिजनेज शुरु गरेका छौं ।

हामीले स्वदेशमै यस्ता उद्यमीहरु जन्माउन नसक्नुको कारण के होला ?

म तपाईंलाई प्रतिप्रश्न गर्छु । देश चलाउने राजनीतिले हो, त्यसमा राजनीतिक पार्टीले कर्मचारीतन्त्रलाई निर्देशन गर्ने हो । यी सबैको मनमा बिजनेशको प्राथमिकता कति हदसम्म छ भन्ने ठान्नु हुन्छ ? अहिले पनि विकास हाम्रो प्राथमिकतामा पर्दैन । यदि त्यसो हुँदो हो भने १० प्रतिशतमात्रै विकास खर्च हुने अवस्था आउने थिएन । निर्यात घटिरहेको छ । उत्पादन पनि घटिरहेको अवस्था छ ।

यहाँले आफ्नो व्यवसायीक जीवनमा विभिन्न खाले (पञ्चायतदेखि बहुदलीय व्यवस्था, सशस्त्रद्वन्द्व हुँदै गणतन्त्रसम्म) का उतारचढाव ब्यहोर्नुभयो । यस्तो कठीन अवस्थामा पनि यहाँले उल्लेख्य प्रगति हासिल गर्नुभयो । आफ्नो व्यापारिक यात्रमा के कस्ता संकटहरुको सामना गर्नुपर्यो ? र, कुन व्यवस्थासँग काम गर्न तुलनात्मकरुपमा सजिलो भयो ?

मेरो जीवन समस्याबाट मुक्त कहिल्यै पनि भएन । १८ वर्षको उमेरमा सीए पढ्न तयार भएको अवस्थामा व्यवसाय सम्हाल्न बाध्य भएँ । त्यो बेलामा ठूलो व्यवसाय थिएन । यद्यपि मनभित्र अथाह पीडा थियो । मैले बुबाका साथीहरुसँग प्रतिष्पर्धा गर्नुपरेको थियो । मलाई कसैले पनि गम्भीररुपमा लिएनन् । राजनीतिकरुपमा अनावश्यकरुपमा तानिएँ । त्यो बेलामा राजनीति र व्यवसाय मोटिभिट हुने थिएन । तत्कालिन समयमा सरकार ढल्ने र बन्ने विषयमा हामीलाई तानिन्थ्यो । जब सूर्यबहादुर थापाजी पदच्यूत भए । त्यो बेलामा पनि हामीलाई तानियो । जस्तो अहिले वर्तमान सरकारबाट हाामीलाई काम गर्न दिएको छैन त्यो बेला पानासोनिकको हकमा त्यही भएको थियो ।

नवलपरासीमा उन्नती भन्ने प्रोजेक्ट शुरु हुँदा ऋण रद्द गर्न लगाएर भृकुटी कागज उद्योगका लागि चीनसँग मागेर काम शुरु गरेँ । तर मलाई काम गर्न दिइएन । त्यसले मलाई अझ बढी बलियो हुन बाध्य बनायो । फरक–फरक पुष्ठभूमिमा काम गर्दा भोगेका व्यवस्थाले टफ बन्न सिकायो । मलाई त्यसले भिजिविलिटी पनि दियो । र, ममा चेतको पनि विकास भयो । फरक समयमा फरक ढंगले राजनीतिसँग जुध्नैपर्ने वातावरण बन्यो । तर ममा जसरी पनि अगाडि बढ्नु पर्छ, सफलताको सिँढी चढ्नुपर्छ छ । अर्जुनले माछाको आँखाबाहेक केही नदेखेजस्तो मैले पनि अरु केही देखिँन । जस्तो परिस्थिति निर्माण भयो म आफूलाई पनि सोहीअनुसार ढाल्दै गएँ । र, यो ठाउँसम्म आइपुग्न सफल भएँ ।

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

तपाईंले आफ्नै कालमा व्यवसायलाई डाइभर्सिफाई गर्नुभयो । अहिले पनि माडवारी समुदाय मदिरा बेच्न र डिस्को खोल्न हिच्किचाउँछ । तर तपाईंले त्यो बेला नै ‘कपर फ्लोर’ नामक डिस्को खोल्नुभयो । उक्त डिस्को कारण आफ्नो समुदायभन्दा बाहिरको उच्च वर्गसँग सम्बन्ध स्थापित भयो । र, त्यो सम्बन्धलाई बिजनेशमा परिवर्तन गरेकाले कपर फ्लोर खोल्ने निर्णय नै तपाईंको व्यावसायिक जीवनको ‘टर्निङ प्वाइन्ट’ हो  ?

म हाम्रो समुदायबाट आउने क्रान्तिकारी व्यवसायी नै हुँ । कपर फ्लोर ठूलो अध्ययन गरेर योजना बनाएर गरेको बिजनेश होइन । साथीसँग मिलेर शुरु गरौं न भन्ने हिसाबले शुरु गरेको हो । फेरि डिस्को नराम्रो चिज पनि होइन । त्यहाँ पब्लिक रिलेसन पनि भयो । तर त्योमात्रै होइन । त्यहाँ अनौपचारिकरुपमा भेट गर्ने वातावरण बन्यो । तर त्यसलाई पनि निकै गम्भीरताका साथ चलाउँथे । त्यो बेलामा म रक्सी नै खाँदिनथे । त्यो ४/५ बजेसम्म खुल्थ्यो तर म ११/१२ बजेतिर नै घर पुग्थे । व्यवसायमा हुने नियमहरु पालना गर्नैपर्छ । व्यवसायीहरुका हकमा स्पष्ट रुपमा के गर्ने र के नगर्ने भन्ने नियम हुन्छन् । ती नियमहरुलाई स्पष्टसँग पालना गर्नैपर्छ । र, मैले त्यस्ता नियम पालना गर्दथेँ ।

प्रसङ्ग बदलौं, विश्वविख्यात म्यागेजिन फोर्ब्समा अर्बपतिका रुपमा सूचिकृत हुँदा तपाईको सम्पत्ति १ अर्ब डलर थियो । सन् २०१९ को मार्चमा १ अर्ब ७० करोड डलर पुगेको थियो । गत वर्षका अप्रिलमा १ अर्ब ४० करोड थियो । अहिले १ अर्ब ५० करोड डलर छ । सम्पत्ति घट्दा या बढ्दा कस्तो अनुभूति हुन्छ  ?

त्यो पैसा खल्तीमा आउने पनि होइन । खर्च गरेर हिँड्ने पनि होइन । तर हाम्रा लागि त सफलताको ब्यारोमिटर नै यही हो । आजका दिनमा कर्पोरेटलाई मापदन गर्ने भनेको बिजनेशको भ्यालुएसन नै हो । सूचिकृतको हकमा मार्केट क्यापिटलाइजेशन र सूचिकृत नभएको कम्पनीको नाफा नै हो । आजका दिनमा त्यसले पार्ने प्रभाव भनेको त त्यसको आकारबाट नै हो । सम्पत्ति घट्दा साह्रै ठूलो तोड पर्छ । त्योभन्दा ठूलो चोट त अरु हुँदैन । तपाईंले ज्यान दिएर काम गरिरहनु भएको छ भने यस्तो अवस्थामा त चोट त पर्छन नै । तर हाम्रो सम्पत्ति घटेको होइन, एक्सचेञ्ज रेट नै घटेपछि घट्ने स्वभाविक नै भयो ।

तपाईंले २ दर्जनभन्दा बढी देशमा व्यापार विस्तार गर्नुभएको छ । तपाईं हरियो पासपोर्ट बोकेर बिजनेश क्लासमा सवार गर्दैगर्दा तपाईंकै जस्तो पासपोर्ट बोकेका नेपालीहरु श्रमका लागि इकोनोमिक क्लासमा सवार हुन्छन् । यस्तो अवस्थामा तपाईंलाई कस्तो महशुस हुन्छ ?

बिजनेस क्लास, इकोनोमी क्लास जेमा पनि चढ्छु । कसैले प्राइभेट विमान जाउँ भन्यो भने त्यसमा पनि चढ्छु । त्यसकारण यसमा मलाई समस्या छैन । तर जहाँ पनि पुगेको छु । उनीहरुमा नेपाल जीवनमा एकपटक पुग्नै पर्छ भन्ने मानसिकता बोकेको पाएको छु । नेपाल विश्वमा घुम्नैपर्ने, आउनै पर्ने देशको सूचीमा पनि अगाडि नै छ । १२ वर्षको द्वन्द्वको समयमा पनि त्यो रोकिएन ।

तर हामीलाई राजनीतिज्ञहरुले यति हल्का बनाइदिए कि विदेशका विमानस्थलमा रहेका अध्यागमनमा कमजोर सरकारका कारणले, केही सीमित स्वार्थ बोकेका मानिसहरुका कारणले गर्दा र देशमै पनि हुने शोषणका कारण पनि बाहिर व्यवहार नराम्रो भएको हो । नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु एउटै लाइनमा हुँदा र उनीहरुलाई गरेको व्यवहार देख्दा साह्रै दुख लाग्छ ।

म एक पटक स्टकल्याण्डको एउटा बारमा बसेको बेलामा नेपाली भन्ने थाहा पाएपछि सबै जना जम्मा भएर उत्सव नै मनाए । तिमी नेपाली, गोर्खाली भनेर स्याम्पेन नै खोले । म आफूलाई विशुद्ध नेपाली नागरिकका रुपमा संसारभरी चिनाउन चाहन्छु । आफूलाई त्यही रुपमा प्रस्तुत गर्दछु । त्यसैले मैले दुबइमा होटल खोल्दा नेपालीहरु श्रमिकमात्रै हुँदैन वर्ल्ड क्लासका व्यवसायी पनि हुन्छन् भन्ने हिसाब होटलमा नेपालको झण्डा नै फहराएँ । नेपालका टप क्लासका प्रोफेशनल्सहरु छन् भन्ने सन्देश दिएँ । यही मानसिकता र कटू अनुभवलाई चिर्नका लागि मैले त्यसो गरेको हूँ।

तपाईंका दर्जनौं व्यवसाय छन् । तर चाहेर पनि गर्न नसकेको व्यवसाय चाहीँ कुन हो ?

सबैलाई थाहा छ टेलिकम । १० वर्षदेखि नियोजितरुपमा मलाई टेलिकम बिजनेश गर्न दिइएन । अहिले त नांगो रुपमै नदिइएको सबैले प्रष्ट देखेका छन् । आपसमा अरु बेला झगडा गर्ने तर जब सिजी टेलिकमको कुरा आएपछि सबै विरोध गर्न एकै ठाउँमा उभिन्छन् ।

म त आजमात्रै होइन । ३० वर्षअघि नै यो बिजनेशमा हात हालेको थिएँ । उषा नामक इन्डियन कम्पनीको रसियन पार्टनर थियो । मैले कम्पनी दर्ता पनि गरेँ । तर सिरियस्ली लागिँन । त्यो बेलामा सिरियस्ली लागेको भए कसैले लाइसेन्स रोक्ने अवस्था थिएन ।

तर जब पछिल्लो समयमा टेलिकम्युनिकेशनको क्षेत्रमा विकास हुँदै गयो । अनि मैले यसमा हात हाँले । र, त्यही बेलादेखि नै मलाई छेक्ने काम भयो । तर म रोकिने वाला छैन । नेपालको लाइसेन्स, नेपालकै लागि, शुद्ध नेपाली ब्राण्डमा टेलिकम चलाउने नै हो । त्यो जारी नै रहन्छ । अहिले पनि दक्षिण एशियामा सबैभन्दा बढी मूल्य हामीले तिरिरहेका छौं । त्यसलाई चिर्नुपर्छ । त्यो समय पनि आउँछ । जनताले सिजी टेलिकम प्रयोग गर्न पाउँछन् । भारतमाजस्तै जियो मोडल पनि हुनसक्छ । त्योभन्दा पनि एक कदम अगाडि पनि हुनसक्छ ।

यहाँले भनिसक्नु भयो ‘म राजनीतिबाट जति टाढा हुन खोजे पनि राजनीति मबाट टाढा हुन सकेन ।’ दरबार र पञ्चायतसँगको निकटता अनि एमाले हुँदै कांग्रेसमा प्रवेश गरेर राजनीतिमा सक्रियता बढाउँदै हुनुहुन्छ । व्यवसाय गरेर अर्बौं कमाइसकेको विनोद चौधरीलाई राजनीतिमा आउनुको आवश्यकता चाहीँ किन पर्यो ?

मैले परिवर्तनका लागि संघर्ष गरिरहेको छु । नेपाल उद्योग वाणिज्य महासंघबाट, नेपाल उद्योग परिसंघबाट पनि त्यो काम गरेँ । र, उद्योगपतिहरु देशको यति महत्वपूण अंग हो भनेर राजनीतिज्ञहरुलाई पनि बुझाउन सफल भएँ । त्यसैले त आजका दिनमा निजी क्षेत्रले यसरी फड्को मार्न सफल भएको हो ।

अहिले त राजनीति आर्थिक विकासका लागि नभए राजनीति गर्नका लागि मात्रै भयो । परिवर्तनका लागि संघर्ष गरेँ । तर त्यतिले पुगेन । र, एउटा विन्दुमा आएर राजनीतिमा आउनुपर्छ भन्ने ठानेँ । अहिलेको देशमा भएको आर्थिक अवस्था, उत्पादन घटेको र निर्यात घटेको केही न केही जिम्मेवारी मैले पनि लिनुपर्छ । संस्थाले पनि लिनुपर्छ । त्यो हामीले राजनीतिमा प्रभाव पार्न नसकेरै भएको हो । नेपाली कांग्रेसभित्र रामशरण महत र महेश आचार्यले मात्रै आर्थिक मुद्दा उठाएर मात्रै भएन नि । अब राजनीतिक पार्टीलाई अर्थतन्त्र केन्द्रित बनाउनु पर्छ भन्ने सोचले राजनीतिमा आएको हुँ ।

भनेपछि अब पार्टीभित्र र आम निर्वाचन दुबैमा चुनाव लड्ने हो ?

आजै घोषण गर्नु उपयुक्त निर्णय हुँदैन । तर हदैसम्मका लागि मेरो प्रयास रहन्छ । र, म त्यसका लागि प्रयास गर्छु नै । राजनीतिमा असम्भव भन्ने पनि हुँदैन । त्यसैले राजनीतिमा हरेक परिस्थिति सम्भव छ भन्ने हिसाबले अगाडि बढ्नुपर्छ । यसमा मेरा केही कन्डिसनहरु छैनन् । मसँग स्पष्ट लक्ष्य छ । नेपाली कांग्रेसजस्तो पार्टीले सकारात्मक आशा दिनैपर्छ । र, यसमा मैले निकै महत्वपूर्ण काम गर्न सक्छु । म कहाँ पुग्छु वा पुग्दिन भन्ने अहिले यकिन भन्न सक्दिन ।

एउटै व्यक्ति व्यवसायी र राजनीतिज्ञ हुँदा ‘कन्फ्लिट अफ इन्ट्रेस्ट’ होला नि ?

त्यस्तो छैन । विश्वका कैयन देशमा यस्तै प्रकारको व्यवसाय छ । खाली मानिसहरु सोचमा भर पर्ने कुरा हो । कर्पोरेटको सफल लिडरले देश चलाउन सक्छ । कर्पोरेटमा पनि विभिन्न बोर्ड सदस्यहरु हुन्छन्, मेरै कम्पनीमा पनि सफल व्यवसायीकारुपमा परिचित छोराहरु छन्, देशी विदेशी बिजनेस पार्टनरहरु पनि छन् । सबैलाई मिलाएर अगाडि जानुपर्छ ।

हाम्रो सामाजिक ‘स्कुलिङ’ नै धनी मान्छेहरु खराब हुन्, शोषक हुन्, शामन्त हुन् भन्ने छ । यस्तो मानसिकता भएको समाजमा तपाईं सक्रिय राजनीतिमा आउँदै हुनुहुन्छ । मानसिकता परिवतनर्् नभएसम्म त तपाईंलाई चुनाव जित्न गाह्रै पर्ला नि होइन र ?

हाम्रो स्कुलिङ नै मानिसहरुले धन कमाउनुलाई राम्रो होइन भन्ने भयो । धन कमाउनु भनेको त मुलुकका लागि हो । मुलुकभित्र कमाएको पैसा त कतै जाँदैन नि । तर अबको नयाँ पुस्ता त्यसमा पनि ४० वर्ष उमेर समूहभन्दा कम उमेरका युवामा त्यो सोच छैन । चेतनाको स्तर निकै राम्रो छ । हाम्रा युवा र विश्वका कुनै पनि देशका युवाको सोचमा फरक छैन । चुनावमा लाखौं युवा मतदाता भएकाले उहाँहरुले मलाई बुझ्नुहुन्छ भन्ने विश्वास छ ।

राजनीतिज्ञहरु पनि आफूभित्र खोक्रो भएर बाहिर गएर जति चिच्याए पनि केही हुँदैन । सबै जनता आर्थिकरुपमा सम्पन्न हुनुपर्छ । त्यसका लागि बौद्धिकरुपमा सम्पन्न हुनुपर्छ । हामीले गाउँगाउँमा स्कुल त बनायौं । तर त्यो शिक्षा चैं दिन सकिएन । म राजनीतिमा आउनुको कारण पनि समाजमा आर्थिक क्रान्तिको जागरण ल्याउनलाई हो ।

देशलाई तीव्र गतिमा अघि बढाउन कम्तिमा एक दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धि गर्नुपर्छ भनेर तपाईंले बारम्बार भन्दै आउनुभएको छ । आर्थिक वृद्धिका लागि लगानी आवश्यक छ । ०४६ सालको आर्थिक उदारीकरणपछि धेरै नीतिगत परिवर्तनहरु भए । तर अपेक्षितरुपमा लगानी आउन सकेको छैन नि किन ?

जबसम्म स्वच्छ ढंगले काम गर्ने वातावरण बन्दैन । रेन्ट सिकिङ मानसिकता र म्यानुपुलेट गरेर काम गर्नेहरुको मानसिकता बढ्छ । तब क्रेडिबल बिजनेस हाउसहरुले त्यसमा हात हाल्न चाहँदैनन् । विश्वमा अहिले व्यवसायीका लागि रेड कार्पेट बिछ्याइन्छन् । ज्वाइँभन्दा बढी सम्मान दिएका हुन्छन् । मैले पनि कैयन देशमा यसप्रकारको सम्मान पाएको छु । देशमा बिजनेश हाउसहरुलाई कसरी सम्मान गर्छन भन्नेले पनि अर्थ राख्छ । हामीकहाँ भएको विकृति राजनीति र कर्मचारीतन्त्रको संकुचित मानसिकताले लगानीकर्ता आकर्षित गर्न सकेन ।

स्टार्टअपका नयाँ सोचहरुलाई मूर्तरुप दिनका लागि भेन्चर क्यापिटलिस्टहरुको भूमिका हुन्छ । नेपालमा भेन्चर क्यापिटलको खासै विकास भएको देखिँदैन । उद्यमीहरु जन्माउनका लागि तपाईंजस्ता सफल उद्यमीहरुले के कस्तो प्रयास गरिरहनुभएको छ  ?

त्यसको पहिलो चरण भनेको युवामा भएको सोचलाई बिजनेस प्यालनमा बदल्न पर्यो । त्यसका लागि बैंकले एस्सेप्ट गर्ने क्यापिटल मोबिलाइज गर्नका लागि परिचालन गर्नुपर्छ । र, त्यो प्रोजेक्ट कार्यान्वयन गर्नका लागि सहयोग गरिदिनुपर्छ । त्यसो गर्नका लागि विश्वभरी अहिले स्थानीय तह, गाउँ विकास समितिहरुले हातेमालो गरेका छन् । युवालाई गरिखाने बनाउनु भनेको उनीहरुको पनि त प्राथमिकता हो नि ।

नेपालमा पनि अहिले ठूला संस्थाबाट अनुदान र सहयोग पनि आएको छ । तर त्यो सोचलाई उद्यममा विकास गर्नका लागि वातावरण नै नेपालमा छैन । त्यो नभएसम्म राष्ट्र बैंकले जति भने पनि बैंकिङ क्षेत्रले पनि काम गर्न सक्दैनन् । यसमा हामीले अहिले ७ वटै प्रदेशमा यो इन्क्युभेसन र एक्ससिलिरेसन गर्नका लागि बैंक, स्थानीय निकायहरु हाम्रा पार्टनर हुन्छन् । क्यापिटल नभएका तर सोच भएकालाई विकास गर्ने नै हो । उनीहरुलाई साथ नै दिने हो ।

सफल हुनु र अर्बपति हुनुको अन्तर के होला ?

सफल हुनु भनेको ‘कि’ हो । गन्तव्य नै त्यही हो । हुनुपर्ने नै त्यही हो । सफल भएपछि धन त आइहाल्छ । यदि बिजनेशमा हुनुहुन्छ र सफल हुनुहुन्छ भने त लाभांश आइहाल्छ । चाहे त्यो फ्रेमका रुपमा होस् वा धनका रुपमा होस् आउँछ । पैसामात्रै सबै थोक होइन । पैसा हुने सबै सफल नहुन सक्छन् । तर सफल भएकाहरु धनी हुन सक्छन् ।


क्लिकमान्डु