खतिवडाले थोपरेको कर अमेरिका नपुग्दै उल्टियो, खतिवडाले गरेका गल्ती सच्याउँदै अर्थमन्त्री पौडेल



काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा लगाएको कर उनी राजदूत भएर अमेरिका नपुग्दै सरकारले खारेज गरेको छ ।

सोमबारको मन्त्रीपरिषदको बैठकले किताब आयातमा लगाउने कर खारेज गरेको छ । खतिवडाले २०७६ साल जेठ १५ मा ल्याएको बजेटमा बिदेशबाट आउने किताबमा १० प्रतिशत भन्सार लगाएका थिए ।

खतिवडाले चालु आर्थिक वर्षको बजेटमार्फत् लिएको कर बढाउने दुईवटा नीति उनी अर्थमन्त्रीबाट हट्नासाथ खारेव भएको थियो ।

खतिवडाले यो वर्षको बजेटमा विद्युतीय सवारी साधन र जलविद्युत्को पेनस्टक पाइपमा लाग्ने कर बढाएका थिए । जसमा पेनस्टक पाइपमा बढाएको कर पूर्णरुपमा उल्टिएको छ भने विद्युतीय गाडीमा लगाएको कर केही मात्र संसोधन भएको छ ।

जलविद्युत् आयोजनामा प्रयोग हुने पेनस्टक पाइपमा लाग्ने भन्सार शुल्क १ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्याएका थिए ।

गत असोजमा मन्त्रीपरिषदको बैठकले पेनस्टक पाइपमा लाग्ने भन्सार महशुल १ प्रतिशत नै लगाउने निर्णय गरेको थियो ।

वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन

खतिवडाले बजेटमार्फत् विद्युतीय सवारी साधनमा लगाएको कर उनी हट्नासाथ हटेको थियो । किताब र पेनस्टकमा जस्तो पूर्णरुपमा भने विद्युतीय सवारी साधनमा बढेको कर भने हटेको छैन ।

मन्त्रीपरिषद्को बैठकले सरकारले विद्युतीय सवारी साधनमा लाग्ने अन्तशुल्कमा छुट दिने निर्णय गरेको थियो ।

खतिवडाले बजेट मार्फत १० प्रतिशत लाग्ने विद्युतीय सवारी साधनको भन्सार ८० प्रतिशत पुर्याएका थिए भने क्षमताअनुसार अन्तशुल्कको दर ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म थियो ।

खतिवडा अर्थमन्त्रीबाट हटेपछि ८० प्रतिशतसम्म अन्तशुल्कमा छुट दिने निर्णय गरेको थियो । क्षमता अनुसार अन्तशुल्कमा छुट दिने निर्णय सरकारले गरेको थियो ।

‘विज्ञ भए पनि खतिवडाले बिगारेको माहोल सुधार्ने तयारीमा अहिलेका अर्थमन्त्री लागेको देखिन्छ, खतिवडाको कार्यकालमा अनावश्यक रुपमा थोपरिएका करहरु पुनरावलोकन हुने देखिन्छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

अहिले अर्थमन्त्री खतिवडाको गरेका बिगारको कामहरु सुधार्ने तयारीमा अध्ययनमा छन् । जसको सुरुवात भइसकेको संकेत पौडेलले दिएका छन् ।

राजनीतिज्ञ नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएका खतिवडाको अर्थमन्त्रीको रुपमा साढे २ वर्षको कार्यकाल निकै नै आलोचित बनेको थियो ।

अर्थमन्त्रीबाट हट्नासाथ प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकार पदमा खतिवडालाई नियुक्त गरेका थिए । त्यसपछि अमेरिकाका लागि नेपाली राजदूतमा प्रधानमन्त्री ओलीले खतिवडालाई नियुक्त गरेका छन् ।

नयाँ अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णु पौडेल भने खतिवडाले अर्थमन्त्री रहँदा विगारेका कामहरु सुधार गरेर जनतासँगको सम्बन्ध सुमधुर गर्न लागि परेका छन् । यो सुधारसँग नेकपा सरकारलाई जनताले हेर्ने नजर केही सकरात्मक हुने विश्वास गरिएको छ ।

आफूलाई विज्ञ र सफल अर्थमन्त्री मान्ने खतिवडा पदबाट हटेको एक/डेढ महिनामै उनकै पार्टीको सरकारले उनले लिएका नीति खारेज गरेर गतिलो झापड लगाएको छ । सायदै अर्को पार्टीको सरकार र अर्थमन्त्री आउँदा पनि यसअघि यतिछिट्टै अघिल्लो सरकारका नीतिहरु खारेज भएका थिएनन् ।


पुष्प दुलाल