७० लाखको बाउन्स चेक दिएर फरार रौनियार पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सत्य नारायण प्रसाद रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य नारायण प्रसाद रौनियारले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको चेक जानाजान मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीलाई ७० लाखको चेक दिएको पाइएको छ ।

थापा र चौधरीसँग लिएको सापटी रकम फिर्ता गर्न बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँ दिएको थियो ।

उक्त रकमको चेक नसाटिएको भन्दै बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३९ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला भएको थियो ।

उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले साविक बिरगंज नगरपालिका वडा-८ हालको बिरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय रौनियारलाई ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । फरार रहेका रौनियारलाई बुधबार रातोपुलबाट प्रहरीले पक्राउ गरेको हो ।


क्लिकमान्डु