८०% बैंक डुब्नसक्ने विनोद चौधरीको भनाइले निक्षेपकर्ता आत्तिए, ढुक्क हुनोस् सुरक्षित छन्: बैंकर



काठमाडौं । अर्बपति विनोद चौधरीले नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरु डुब्नसक्ने बताएपछि यसले वित्तीय बजार तरंगित बनाएको छ ।

सर्वसाधारण निक्षेपकर्ताहरुले बैंकमा फोन गरेर साँच्चै बैंकहरु डुब्न लागेका हुन् भनेर सोध्न थालेका छन् ।

बिहिबार नेपाल उद्योग परिसंघको कार्यक्रममा चौधरीले सरकारले राहत प्याकेज नल्याउने हो भने ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका थिए ।

८० प्रतिशत बैंक बन्द हुन सक्छन्ः बिनोद चौधरी

‘यदि सरकारले कर्जाको किस्ता तिर्ने समय अझै बढाउँदै लैजाने तर सरकार र नियमनकारी निकायले कस्ट फ्रि स्टिमुलस र रिफाइनान्सिङ नदिने हो भने ८० प्रतिशत बैंक बन्द हुन सक्छन्,’ चौधरीले भनेका थिए ।

विगतमा सरकारी बैंक डुबेको र विश्व बैंक ऋण लिएर पुनरुत्थान गर्नु परेको उदाहारण दिँदै चौधरीले अहिले निजी बैंकहरु सोही अवस्थामा पुग्न सक्ने बताएका थिए ।

चौधरी समूहको निजी क्षेत्रले प्रवद्धन गरेको देशकै ठूलो नविल बैैंकमा बहुमत लगानी छ । नविल बैंकमा चौधरीको कति लगानी छ भन्ने विस्तृत रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस् ।

नविल बैंकका सबैभन्दा ठूलो मालिक ‘मिन्टो’ को हुन् ? यस्तो छ विनोद चौधरीसँगको कनेक्सन

कोरोनाका कारण नाफा घटेको देखेपछि लाभांश नपाइने भइयो भनेर आत्तिएका चौधरीले बैंकहरु डुब्नसक्ने बताएका थिए ।

यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त व्यक्ति चौधरीले ८० प्रतिशत बैंकहरु डुब्न सक्छन् भनेपछि सर्वसाधारण निक्षेपकर्ताहरुले बैंकमा फोन गरेर सोध्न थालेका छन् ।

के विनोद चौधरीले भनेजस्तै ८० प्रतिशत बैंकहरु डुब्न सक्छन् ? हामीले वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाललाई सोधेका थियौं ।

‘अन्य क्षेत्र समस्यामा पर्दा बैंकहरलाई पनि अवश्य समस्या पर्छ नै, केही समस्या पर्दैमा डुबिहाल्ने भन्ने हुँदैन,’ उनले प्रष्ट पारे, ‘केही समयका लागि बैंकहरुको नाफा प्रभावित हुने हो । बैंकहरु सुरक्षित छन् । ढुक्क भएर बस्नुहोस्, निक्षेपकर्ता आत्तिनुपर्ने अवस्था छैन ।’

‘बैंकहरु डुब्नै लागेका हुन् त भन्दै निक्षेपकर्ताको फोन आउन थाल्यो, मलाई अन्य बैंकका सीइओहरुले पनि यही भन्नुभयो,’ सानिमा बैंकका सीइओ एवं बैंकर्स संघका अध्यक्ष भुवन दाहालले क्लिकमाण्डूसँग भने, ‘नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै निकै राम्रो छ । बैंकहरु सुरक्षित छन् । कोही आत्तिनु पर्दैन ।’

बैंकहरु डुब्छन् कि डुब्दैनन् भनेर भन्नुभन्दा पहिला पुँजी कोष हेर्नुपर्छ । जबकि अहिले वाणिज्य बैंकहरुको पुँजी कोष ६ खर्ब रुपैयाँ छ । राष्ट्र बैंकले भनेजति न्यूनतम चुक्ता पुँजी ८ अर्ब मात्रै हुनेको पनि ३ अर्बको हाराहारीमा पुँजी कोष छ । बलिया बैंकहरुको चुक्ता पुँजी र पुँजी कोष जोड्दा १८/२० अर्ब रुपैयाँ छ । यतिठूलो पुँजीको आकार भएका बैंकहरुले ठूलै धक्का थेग्न सक्छन् ।

‘कोरोनाका कारण जोखिममा परेको क्षेत्र डुब्यो भने पनि बैंकहरुको ३/४ खर्ब रुपैयाँ कर्जा मात्रै समस्यामा पर्ने हो,’ अध्यक्ष दाहालले भने, ‘यस्तो अवस्थामा पनि बैंकहरुले धितोबाट कर्जा असूल गर्न सक्छन् । त्यसैले बैंकको ऋण उठ्न समय लाग्ने मात्रै हो, उठ्दै नउठ्ने खतरा निकै कम छ ।’

अहिले पनि बैंकहरुको सबैभन्दा धेरै कर्जा थोक तथा खुद्रा बिक्रेतालाई प्रवाह भएको र उनीहरुको व्यापार कम भएपनि चलिरहेकै कारण बैंकको ऋण नउठ्ने अवस्था नरहेको दाहाले प्रष्ट पारे ।

त्यस्तै कृषि र पशुपालन व्यवसायमा ५ खर्ब रुपैयाँको हाराहारीमा बैंकको कर्जा प्रवाह भएको र लकडाउन खुल्नेवित्तिकै कृषिले गति लिनसक्ने भएकाले पनि बैंकहरुलाई खासै समस्या पर्दैन ।

बैंकहरुको अर्को धेरै कर्जा प्रवाह भएको क्षेत्र हो निर्माण क्षेत्र । यो पनि डुबिहाल्ने अवस्थामा नरहेको दाहालको भनाइ छ ।

‘कोरोना भाइरस र लकडाउनका कारण केही व्यवसायीहरु डुब्न सक्छन्, तर त्यसले बैंकलाई खासै असर गर्दैन,’ उनले भने ।

कोरोनाले बढी असर गरेको होटेल तथा पर्यटन क्षेत्रमा जम्मा १ खर्ब २६ अर्ब मात्रै कर्जा भएकाले यो क्षेत्र संकटमा पर्दा पनि बैंकहरु डुबिहाल्ने स्थिति नरहेको दाहालले बताए ।

‘अन्य क्षेत्र समस्यामा पर्दा बैंकहरलाई पनि अवश्य समस्या पर्छ नै, केही समस्या पर्दैमा डुबिहाल्ने भन्ने हुँदैन,’ उनले प्रष्ट पारे, ‘केही समयका लागि बैंकहरुको नाफा प्रभावित हुने हो । बैंकहरु सुरक्षित छन् । ढुक्क भएर बस्नुहोस्, निक्षेपकर्ता आत्तिनुपर्ने अवस्था छैन ।’


पुष्प दुलाल