८० प्रतिशत बैंक बन्द हुन सक्छन्ः बिनोद चौधरी



काठमाडौं । अर्बपति विनोद चौधरीले सरकारले राहत प्याकेज नल्याउने हो भने ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् ।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको वेवनारमा बोल्दै चौधरीले कोरोनाको महामारीका कारण बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने चेतावनी दिए । उनले बैंकमा बैंकमा तरलता अभाव हुने र यो निकै राम्रो संकेत नभएको बताए ।

‘यदी सरकारले कर्जाको किस्ता तिर्ने समय अझै बढाउँदै लैजाने तर सरकार र नियमनकारी निकायले कस्ट फ्रि स्टिमुलस र रिफाइनान्सिङ नदिने हो भने ८० प्रतिशत बैंक बन्द हुन सक्छन,’ उनले भने ।

‘सरकार तथा नियमन निकाय गम्भीर नहुने हो भने पहिले नेपाल बैंक र राष्ट्रिय वाणिज्य संकटमा परेका थिए, सरकारी बैंक नै डुब्ने अवस्थामा विश्व बैंक ऋण लिएर पुनरुत्थान गर्नु परेको थियो । अहिले निजी बैंकहरु सोही अवस्थामा पुग्न सक्छन्,’ उनले भने ।

अहिलेको सबैभन्दा ठूलो समस्या भनेको आर्थिक गतिविधि ठप्प हुनु भएको बताउँदै यसले मुलुकमा ठूलो बेरोजगारी सिर्जना गर्ने बताए । उनले उद्योग बचाउनका लागि सरकारले विशेष राहत ल्याउनुपर्ने बताउँदै त्यसो नगरी कैयन उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए ।

चौधरीले कोरोनाको असरबारे सरकारले तत्कालै वर्गिकरण गरेर सोही अनुसार राहत प्रदान गर्नुपर्ने बताए । उनले सरकारले यो अवस्थामा चलिरहेको आयोजना कसरी सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बताए । उनले यस्तै अवस्था रहे उद्योगहरु एक÷दुई महिना चले पनि कुनै समयमा बन्द हुन सक्ने बताए ।

लकडाउनका कारण कैयन आयोजना निर्माणको काम बन्द भएको र यसले बेरोजगारी सिर्जना गरेको बताए । उनले कृषिमा काम गर्नका लागि पनि कैयन समस्या भएको बताए । उनले कृषिका क्षेत्रमा उत्पादन गर्नका लागि दक्ष जनशक्तिको अभाव तथा बजारसम्मको पहुँचमा समेत कैयन बाधा रहेको बताए ।

कोरोनाका कारण विदेशमा काम गरिरहेका झण्डै २० लाख मानिसहरु फर्कने अवस्था रहेको ती जनशक्तिलाई कृषिमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । किसानलाई कसरी सहयोग गरी कृषिमा आर्कषित गर्न सकिन्छ र उत्पादित कृषिजन्य सामग्रीलाई बजारसम्म कसरी लैजाने भन्ने विषयमा समेत सोच्नुपर्ने बताए ।

चौधरीले उद्योग सरकारका लागि दुहुनो गाई भएको भन्दै गाई स्वस्थ रहँदासम्म मात्रै दुध दिने भन्दै अहिले गाई नै अस्वस्थ भएको बताए ।

यो अर्थतन्त्र रिभाइभल गर्नेभन्दा पनि कसरी सर्भाइभल गर्ने समय हो । कोरोनका कारण विकासका सबै काम ठप्प भएका छन् भने यतिबेला आपूर्तीमा समेत समस्या सिर्जना भएको छ ।

कोरोनाले पारेको संकटमा अहिले सबैभन्दा पहिले मावनीय सुरक्षा महत्वपूर्ण भएको बताए । उनले अहिले दैनिक ज्यालादारीमा काम गर्नेका लागि तत्काल राहत आवश्यक रहेको बताउँदै दैनिक उपभोग्य सामग्रीको आपूर्ती पनि सहज बनाउनुपर्ने बताए ।

‘अहिले लकडाउनको समयमा हामी घरमै बस्नुपर्ने बाध्यता छ, महामारीबाट बच्नका लागि यो नै एक मात्रै उपाय हो, तर मानिसहरुलाई दैनिक उपभोग्य सामग्रीको अभाव भयो भने भोकमरीको समस्या आउनेछ,’ उनले भने ।

उनले अहिलेको समय डिजिटलको भएकाले सरकारले स्मार्टफोनका माध्यमबाट सबैलाई ट्रेकिङ समेत गर्नुपर्ने बताए ।


क्लिकमान्डु