मनकारी बैंकर



काठमाडौं । बैंकर अर्थात् सबैभन्दा तलबभत्ता खाने कर्मचारी । बैंकका सीइओहरुले मासिकरुपमा २२/२५ लाख रुपैयाँसम्म तलबभत्ता खान्छन् । सामान्यतया अरु जागिरेले यति तलबभत्ता खाँदैनन् ।

त्यसैले कहिलेकाहीँ बैंकरको तलबभत्ता धेरै भयो भन्ने प्रश्न पनि उठ्ने गर्छ । नेपालमा मात्रै होइन संसारभर नै ठूला कम्पनीका सीइओ र बैंकका सीइओ सर्वाधिक तलब खाने व्यक्ति हुन् ।

अर्बपतिलाई खुल्ला पत्र

बैंकरहरुले अर्बौं, खर्बौं बराबरको जोखिम लिएका हुन्छन् । त्यसैले तलबभत्ता बढी भयो भन्ने तर्क त्यति सान्दर्भिक पनि देखिँदैन ।

तर आज यहाँ चर्चा गर्न खोजिएको विषय अर्कै हो । यसरी महिनामा लाखौं कमाउने बैंकरहरु देश संकटमा पर्दा कस्तो सहयोग गर्छन् त ? कतिको मनकारी छन् ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । अहिलेसम्म ९ जनालाई कोरोना लागेको पुष्टि भइसकेको छ । कोरोनाको संक्रम फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशलाई नै लकडाउन गरेको छ ।

सरकारले कोरोनासँग लड्न कोष स्थापना गरेको छ । र, सबैलाई आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरेको छ ।
केही कर्पोरेट हाउस र प्रायः सबै बैंकहरुले सरकारले स्थापना गरेको कोषमा रकम जम्मा गरेर आफ्नो सामाजिक उत्तदरदायित्व बहन गरिसकेका छन् ।

तर, केही बैंकरहरु भने त्यतिमा मात्रै सीमित भएका छैनन् । उदाहारणको रुपमा प्रभु बैंकका सीइओ अशोक शेरचनलाई हेरौं ।

प्रभु बैंकले सरकारले स्थापना गरेको कोषमा १ करोड १ लाख रुपैयाँ दिइसकेको छ । त्यसबाहेक सीइओ शेरचनले गृहजिल्ला बागलुंगमा हजारौं थान मास्क, सेनिटाइजर र केही सय थान पीपीइ वितरण गरिरहेका छन् । उनले अस्पतालको सरसफाइमा काम गर्ने कामदारको सुरक्षाका लागि पनि पीपीइ उपलब्ध गराएका छन् ।

‘धेरै ठाउँबाट मास्क, पीपीइ र स्यानिटाइजरको माग आइरहेको छ, सबैलाई त पुर्याउन सकेको छैन, यद्यपि यताउता खोजेर सकेजति सहयोग गरिरहेको छु,’ शेरचनले भने ।

बैंक अफ काठमाण्डूले सरकारले स्थापना गरेको कोषमा १ करोड ५ लाख १० हजार रुपैयाँ दिएको छ । जसमध्ये १ करोड रुपैयाँ बैंकका संस्थागत तर्फबाट हो भने ५ लाख ५१ हजार रुपैयाँ सीइओ शोभनदेव पन्तको व्यक्तिगत तर्फबाट हो ।

मुलुक लकडाउन भएको समयमा दैनिक ज्यालामा काम गर्ने श्रमिक, बेराजगार जनशक्ती सबैभन्दा बढी संकटमा परेको भन्दै यसले निम्त्याउन सक्ने भोकमरी र जीवनशैलीलाई देखिएको समस्या समाधानका लागि आफूले सहयोग गरेको पन्तले बताए ।

मास्क, स्यानिटाइजर र पीपीइ वितरण गर्दै हिँड्ने अर्का बैंकर हुन् सनराइज बैंकका सीइओ जनक पौडेल । सनराइज बैंकले अहिलेसम्म सरकारले स्थापना गरेको कोषमा पैसा जम्मा गरेको छैन । तर, सीइओ पौडेलले बैंकका तर्फबाट सेवा, प्रहरी र विभिन्न अस्पतालहरुलाई मास्क, स्यानिटाइजर र पीपीइ वितरण गरिसकेका छन् ।

‘यो बेला पैसाभन्दा ठूलो सहयोग कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्री हो,’ पौडेलले भने ‘सक्दो सहयोगमा जुटेको छु ।’

त्यस्तै, बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका सीइओ भुवन दाहालले कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा १ लाख ७० हजार रुपैयाँ योगदान गरेका छन् । सानिमा बैंकले सरकारले स्थापना गरेको कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग गरेको छ । जसमध्ये ३४ लाख रुपैयाँ कर्मचारीबाट उठाइएको हो भने १ करोड ३५ लाख रुपैयाँ बैंकले दिएको हो । कर्मचारीबाट पैसा उठाउने इनिसिएसन पनि सीइओ दाहालले नै लिएका हुन् ।

त्यस्तै, सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले पनि आफ्नो पारिश्रमिकबाट कटाएर १ लाख रुपैयाँ सरकारले स्थापना गरेको कोषमा जम्मा गरेका छन् ।

‘रकमको कुरा भन्दा पनि भावनाको कुरा हो मेरो सहयोग,’ उनले भने ।


पुष्प दुलाल