सरकारी कर नीतिका कारण बैंकहरुको कर्जा विस्तार खुम्चियो



काठमाडौं । गत कात्तिकबाट बैंकहरुको कर्जा विस्तार सुस्ताएको छ । राष्ट्र बैंकको नीति निर्देशनले गर्दा बैंकहरुको कर्जा विस्तार खुम्चिएको सरोकारवालाहरु बताउँछन् ।

असोज मसान्तसम्म आक्रामकरुपमा कर्जा विस्तार गरेका बैंकहरुलाई राज्यको कर नीतिका कारणले कर्जा प्रवाह संकुचित भएको नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकका सीइओ भुवन दाहालले जानकारी दिए ।

‘कर्जाको वृद्धिदर ३ महिनायता गत वर्षको तुलनामा घटेको छ,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘भदौबाट सरकारले कर तिरेको र बैंकसँग ऋण लिँदा बुझाएको वासलात एउटै हुनु पर्ने नीति लिएपछि त्यसको असर कर्जाको वृद्धिदरमा देखिएको हो ।’

कर्जामा आएको सुस्तताको कारण बैंकहरुको नाफाको वृद्धिदर घट्ने उनले बताए । बैंकरहरुले केही दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर अधिकांश बैंकहरुको नाफा घट्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गत असार मसान्तको तुलनामा असोज मसान्तमा बैंकहरुको कर्जाको वृद्धिदर ५.२६ प्रतिशत थियो । तर असोजबाट पुस मसान्तमा आइपुग्दा बैंकहरुको कर्जा विस्तार २.४९ प्रतिशतले घटेर कर्जाको वृद्धिदर २.४८ प्रतिशतमा झरेको छ ।

चालु आवको ६ महिनामा बैंकहरुले ८.४४ प्रतिशतले कर्जा प्रवाह बढाएका छन् भने गत वर्षको सोही अवधीमा बैंकहरुको कर्जा प्रवाह वृद्धिदर १२.२० प्रतिशत रहेको थियो ।
सरकार र राष्ट्र बैंकले संस्थागत मात्र नभएर व्यक्तिगत कर्जामा पनि गत महिनाबाट करचुक्ताको प्रमाण पेस गर्नु पर्ने नीति जारी गरेको छ । जसकारण अगामी दिनमा कर्जा विस्तार अझै घट्न जाने अध्यक्ष दाहालको भनाइ छ ।

‘बैंकिङ क्षेत्र कर नीतिमा अहिले करेक्सनको फेजमा छ, बिस्तारै सुधार आउँछ,’ दाहाल भन्छन् ‘आयात पनि घटेको कारणले पनि कर्जाको वृद्धिदर घटेको हो ।’

केही महिना अगाडि पूर्वसीइओ अजय श्रेष्ठको घटनाले पनि बैंकहरु कर्जा दिन डराएका उनको भनाइ छ ।

विगत ४ वर्षयता कर्जाको वद्धिदरलाई हेर्ने हो भने सबैभन्दा थोरै कर्जाको वृद्धि यो चालु आर्थिक वर्षको ६ महिनामा छ । आव २०७२÷७३ को पुस मसान्तमा बैंकहरुले ११ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

आव २०७३/७४ को पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.५४ प्रतिशतले कर्जा प्रवाह वृद्धिगरी १५ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसैगरि, आव २०७४/७५ को पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८८ प्रतिशत कर्जा प्रवाह बढाएर १९ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
बैंकहरुले गत आव २०७५/७६ को पुस मसान्तसम्म २३ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकहरुले २१.९५ प्रतिशत कर्जा प्रवाहको वृद्धिदर थियो ।

गत आवको पुस मसान्तमा चालु आवको सोही अवधीमा बैंकहरुको कर्जा प्रवाह वृद्धिदर ५.१२ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा २१.९५ प्रतिशत कर्जा विस्तार वृद्धि रहेकोमा चालु आवको पुस मसान्तमा कर्जाको वृद्धि १४.९७ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गत वर्षको पुस मसान्तको तुलनामका चालु आवको सोही अवधिमा १४.९७ प्रतिशतले कर्जा विस्तार बढाएर २६ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

बैंकहरुमा चालु आवमा बैंकहरुको कर्जा लगानी वृद्धिदर अन्य वर्षको तुलनामा घट्नुको मूख्य कारण बैदेशिक रोजगारमा जाने नेपालीको संख्या घट्नु र रेमिट्यान्स आप्रवाह घट्नु रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘बैंकहरुसँग तरलता अभाव भएको कर्जा प्रवाह घटेको छ, प्रयाप्त तरलता नभएर माग अनुसारको कर्जा बैंकले दिन सकेका छैनन्,’ उनले क्लिकमाण्डूसँग भने ‘अहिले निक्षेपको स्रोत घटेको छ, रेमिट्यान्स आप्रवाहको वृद्धिदर घटेको कारण निक्षेप घटेर कर्जा लगानी घटेको हो ।’

नेपालमा निक्षेपको मूख्य स्रोत रेमिट्यान्स भएको कारण रेमिट्यान्स बढ्दा बैंकहरुमा निक्षेप बढी कर्जाको प्रवाह पनि बढ्ने उनको भनाई छ ।

हाल बैंक तथा वित्तीय क्षेत्र सन्तुलन र सुदृढिकरणको अवस्थामा रहेको कारणले तत्कालैलाई कर्जा विस्तार वृद्धिदर घटेपनि केही समय पछि सामान्य अवस्था बैंकिङ क्षेत्र फकिने प्रवक्ता भट्टको भनाई छ ।

‘अघिल्ला वर्षहरुको भन्दा अहिले कर्जा विस्तारकोे आधारहरु फराकिलो भइसकेको छ,’ उनले भने ‘अझै पनि केही प्रतिशत कर्जा विस्तारको वृद्धिदर घट्नसक्छ ।’

कर्जा प्रवाह वृद्धिदर निक्षेप संकलनको तुलनामा अझै धेरै भएको हुँदा संतुलनमा ल्याउन अझै कर्जा विस्तार भन्दा निक्षेप संकलनलाई बढाउन आवश्यक रहेको उनको भनाई छ ।

बैंकहरुको निक्षेप संकलनको आव २०७२/७३ को पुस मसान्तसम्म १५ खर्ब ४४ अर्ब रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा आव २०७३/७४ को पुस मसान्तमा निक्षेप संकलन २३.५१ प्रतिशतले वृद्धि भएर १९ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो ।

यस्तै, आव २०७४/७५ को पुस मसान्तसम्म अघिल्लो वर्षको साही अवधिको तुलनामा बैंकहरुको निक्षेप १६.०९ प्रतिशतले वृद्धि भएर २२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको थियो ।
गत आव २०७५/७६ को पुस मसान्तसम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा १९.६९ प्रतिशतले वृद्धि भएर २६ खर्ब ५० अर्ब रुपैयाँ थियो ।

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा भने निक्षेप संकल वृद्धि ५.१२ प्रतिशतले घटेर १४.५६ प्रतिशत पुगेको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले चालु आवको ६ महिनामा ३० खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।


पुष्प दुलाल