गायक रामकृष्ण ढकालको घर खाने लालिगुराँस सहकारी कालोसूचिमा पर्ने



काठमाडौं । गायक रामकृष्ण ढकाल र लालिगुराँस बहुउदेश्य सहकारीबीचको विवादको कथा निकै नै रोचक छ । लालिगुराँसबाट ऋण लिएका ढकालले ऋण तिर्न नसकेपछि सहकारीले उनको घर नै लिलाम गर्यो ।

यद्यपी ढकालले भने सहकारीले आफ्नो घरलाई जबरजस्ती हडपेको दाबी आएका छन् । गत साता ढकाल र उनको श्रीमतिबीच सहमतीमा डिर्भोस पनि भयो । यसलाई पनि ऋणसँग जोडेर हेरिएको छ ।

गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद, छोरीको जिम्मेवारी आमालाई, अंश नलिने

ढकालको घर लिलाम गरेको लालिगुराँस सहकारी भने अहिले आफैं समस्या परेको छ । कारण हो हाइड्रोपावर । भैरवकुण्ड हाइड्रोपावरले बैंकबाट लिएको ऋण नतिरेपछि लालिगुराँस सहकारी समेत समस्यामा परेको हो ।

भैरवकुण्डमा सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू, एनएमबि, एनआईसी एशिया, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले कर्जा दिएका । आयोजनाले ऋण नतिरेपछि बैंकले ऋण तिर्न आउनको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । भैरवकुण्डको लागि जारी भएको सूचना दोस्रो पटक हो ।

लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम

भैरवकुण्ड हाइड्रोपावरमा २३ जना व्यक्तिगत जमानतकर्ताहरु थिए । ६ वटा संस्थागत जमानतकर्ता थिए । जसमा ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालिगुराँस बहुउद्देश्य सहकारी संस्था पनि संस्थागत रुपमा जमानतकर्ता बसेको छ ।

दोस्रो पटकपनि ऋण तिर्न नआएमा बैंकले धितो लिलामीको प्रक्रिया अगाडि बढाउने छ । ऋणीले ऋण नतिरेको खण्डमा कर्जा सूचना केन्द्रले ऋणीसँगै जमानतकर्ता बसेका व्यक्ति तथा संस्थालाई पनि कालोसूचिमा राख्छ । तसर्थ लालिगुराँस सहकारी पनि कालोसूचीमा पर्ने खतरा छ ।

लालिगुराँस सहकारीको वेवसाइटमा उल्लेख भए अनुसार सहकारीले भैरवकुण्ड हाइड्रोपावरमा पनि लगानी गरेको छ । सेयरको रुपमा सहकारीले भैरवकुण्डमा लगानी गरेको हो ।

यदि हाइड्रोपावरले ऋण नतिरेमा लालिगुराँस सहकारीपनि कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्छ । २ दशक पुरानो लालिगुराँस देशकै ठूलो सहकारीमा पर्छ । २०७५÷७६ को रिपोर्ट अनुसार लालिगुराँस सहकारीमा ५ अर्ब ३५ करोड निक्षेप रहेको छ । ४ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ ।

लालिगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले हाइड्रोपावरले बैंकको ऋण तिरिसकेको बताउँछन् ।

‘बैंकको ऋण तिरेपनि ३५ दिने सार्वजनिक सूचना निकालेको छ, सहकारीलाई कुनै समस्या छैन,’ भण्डारीले क्लिकमाण्डूसँग भने ।

तर, बैंकका अधिकारीहरुले भने पटक पटक ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि धितो लिलामीको ३५ दिने सूचना निकाल्नुपरेको बताउँछन् । सानिमा बैंकले बुधबार सूचना निकालेको थियो । बैंक स्रोतका अनुसार भैरवकुण्डले बैंकहरुलाई ४० करोड रुपैयाँ तिर्न बाँकी छ ।

‘आयोजनाका प्रवद्र्धकहरु ऋण तिर्न नसक्ने हैसियतका होइनन् तर उनीहरुबीचको झगडाले यस्तो अवस्था आएको हो,’ बैंक स्रोतले भन्यो ।


पुष्प दुलाल