अन्तर्वार्ता दिँदा यी कुरामा चुके हात पर्नै लागेको जागिर चिप्लिन सक्छ




काठमाडौं । जागिर खानु अधिकांश व्यक्तिका लागि एकदमै अप्ठयारो कुरा हो । किनकी जागिर खानका लागि विभिन्न चरण पार गर्नुपर्दछ । धेरैजसो ठाउँमा जागिर खानका लागि लिखित र अन्तर्वार्ता परीक्षा पास गर्नुपर्छ ।

तर ती अवस्था पार गर्न विभिन्न पक्षमा हेक्का राख्नुपर्छ । कतिपय देख्दा सामान्य लाग्ने कुरा हुन्छन् तर ती कुरालाई राम्रोसँग सम्हाल्न नसक्दा हात लाग्नै आँटेको जागिर चिप्लिन्छ ।

हामीले अन्तर्वार्ता दिँदा आवेदकले सामान्य लाग्ने तर गहन अर्थ राख्ने कुन–कुन कुरामा ध्यान नदिँदा जागिर चिप्लिएका छन् भन्नेबारे गरिएका विभिन्न खोजमा आधारित कारणहरु प्रस्तुत गरेका छौ ।

यस्ता छन् सुन्दा सामान्य देखिने तर गहन अर्थ राख्ने यी अवस्थाहरु: 

पहिला काम गरेको कम्पनीबारे नकारात्मक टिप्पणी नगर्नुहोस् ।

तपाईले काम गरेको कम्पनी जत्तिसुकै नराम्रो होस, अन्तर्वार्ता दिँदा कुनै पनि नकारात्मक टिप्पणी नगर्नुहोस् । कुनै आवेदकले पहिलाको कम्पनीबारे नकरात्मक कुरा गर्दा राम्रो प्रभाव पर्छ भन्ने सोच्छ भने त्यसको नराम्रो नतिजा आफैतिर सोझिन्छ ।

तपाईले बोल्ने हरेक शब्द-शब्दमा कम्पनीबारे तटस्थ र सकारात्मक कुराहरु आउन जरुरी छ । अन्तर्वार्तामा तपाईले कम्पनीबाट सिकेका अनुभव र सिकाइले भविष्यमा पार्ने सकारात्मक प्रभाव र नतिजामा केन्द्रित रहनुहोस् । तपाईले पहिलाको कम्पनीबारे नकारात्मक टिप्पणी गर्नुभयो भने नयाँ कम्पनीबारे तपाई सकारात्मक रहनुहुन्छ भन्नेमा कोही विश्वस्त हुँदैन । उल्टै काम नगर्ने, नकरात्मक व्यक्तिका रुपमा चित्रण हुने सम्भावना हुन्छ ।

हरेक कम्पनीले कर्मचारीबाट सकारात्मक कुराको अपेक्षा गरेको हुन्छ । कर्मचारीले राम्रो काम गरोस्, सिर्जनशिल होस भन्ने अपेक्षा हुन्छ । पहिला काम गरेको कम्पनीबारे नकारात्मक टिप्पणी गर्नेलाई जागिर दियौ भने भोली हाम्रै कम्पनीका बारे नकारात्मक कुरा गर्नुमा उत्पे्ररित हुन्छ कि? भन्ने अनुभुति गराउँदा जागिर पाउने सम्भावना न्यून हुन्छ ।

कम्पनीको मालिक र कर्मचारीबारे नकारात्मक नबोल्नुहोस्

आफुले काम गरेको कम्पनीको मात्र नभई कुनै पनि व्यक्तिबारे नकरात्मक कुरा नगर्नुहोस् । पहिला काम गरेको कम्पनीले तपाईलाई साच्चिकै अप्ठ्यारोमा पारेको अन्तर्वार्ता लिने व्यक्तिलाई थाहा हुँदैन । बरु उल्टै तपाई काम गराउन अप्ठयारो मान्छे हुनुहुन्छ कि भन्ने अर्थ लाग्न सक्छ । जसले गर्दा अन्तर्वार्ता लिने मान्छे तपाईलाई जागिर दिन अनइच्छुक हुन्छ ।

म आत्तिए नभन्नुहोस्

तपाई अन्तर्वार्तामा जत्ति आत्तिए पनि म आत्तिए, मलाई बोल्न आएन, बोल्न गाह्रो भयो जस्ता कुरा नगर्नुहोस् किनकी कन्फिडेन्स देखाउन नसक्ने मान्छेलाई कसैले पनि आफ्नो कम्पनीको कर्मचारी बनाई जिम्मेवारी दिन चाहँदैन । यो कुरामा चुक्दा धेरैले जागिर गुमाएका हुन्छन् ।

मैले जे पनि गर्छु नभन्नुहोस्

सामान्यतया आवेदकको मानसिकता के हुन्छ भने अन्तर्वार्ता लिने मानिसले सोधेको सबै काम गर्न सक्छु भन्यो भने जागिर पक्का हुन्छ । तर याद गर्नुहोस् तपाईलाई कम्नीले कुनै विशेष पदमा रही सीमित काम गर्नका लागि जागिर दिने हो । त्यो पदसँग सम्बन्धित काम कर्तव्य र अधिकारमा केन्द्रित हुनुहोस् र त्यसकै सेरोफेरोमा बोल्नुहोस् । उदाहरणका लागि हाकिम पदमा आवेदन दिनेले मैले झाँडु पनि लगाउँछु भन्यो भने उसको क्षमतामाथि प्रश्न उठ्छ र अन्तिम चरणमा जागिर नहुन सक्छ ।

मसँग धेरै अनुभव छैन तर…. नभन्नुहोस्

भर्खर जागिर गर्न लागेका वा जागिर परिवर्तन गर्न लागेका आवेदकले गर्ने गल्तीमध्येको एक हो । आफ्नो कमजोरी देखाउनुको सट्टा सकारात्मकता, आफ्नो दक्षतामा केन्द्रित रहेर अन्तर्वार्ता लिनेलाई प्रभाव पार्नतिर लाग्नुहोस् । तपाईले मसँग प्रशस्त अनुभव छैन भनेर कन्फिडेन्स नदेखाउने वित्तिकै तपाई जागिर दिन योग्य आवेदकको सूचीबाट ओरालो लाग्नुहुन्छ ।

तपाईले सोधेको कुरा मेरो वायो डाटामा छ भनेर नटार्नुहोस्

यदी अन्तर्वार्ता लिने रोजगारदाताले तपाईको वायोडाटामा उल्लेख गरेको कुनै कुरा सोध्यो भने त्यो कुरा मेरो वायोडाटामा छ नभन्नुहोस् । तपाईको वायोडाटामा भएको कुनै कुरामा केन्द्रित हुनु भनेको त्यसबारे उसले थप जान्न चाहेको हुनसक्छ वा तपाईले लेखेको कुरा साँचो भए नभएको जाँच्न सोधेको हुनसक्छ । सिधै मेरो वायोडाटामा छ भन्दा तपाई कहिँकतै गलत हुनुहुन्छ कि भन्ने अर्थ लाग्छ र जागिर गुम्नसक्छ ।

घोकेको जस्तै गरी नबोल्नुहोस् ।

तपाईले अन्तर्वार्ताका लागि धेरै कुरा पढनुहुन्छ, कतिपय घोक्नुहुन्छ पनि । तर अन्तर्वार्ता दिँदा कहिले पनि घोके जसरी शब्द शब्द सोचेर नबोल्नुहोस् । घोकेको जस्तै अनूभुत हुने गरी बोल्नुभन्दा आफुले जानेको विषयबस्तुलाई आनन्दले आफ्नै शैलीमा ढालेर जवाफ दिनुहोस् । घोकेको सबै सम्झिन खोज्दा अडकिने, धेरे समय लाग्ने हुन्छ जसले गर्दा तपाई जागिर पाउनेको सूचीबाट पछाडि पर्नुहुन्छ ।

बोल्दा यस्तो नगर्नुहोस् 

धेरैजसो आवेदकले अन्तर्वार्ता दिँदा निरन्तर बोल्न नआएपछि अँ, चाहिँ, के भन्दा, जस्ता शब्द बोलेको बोल्यै गरेर दिक्क बनाउँछन । एउटा शब्दपछि अर्को शब्द नबोलुञ्जेल बीचमा बोलिने यस्ता शब्दले आवेदक फररर बोल्न सकेन, त्यसमा आत्मविश्वास रहेनछ भन्ने अर्थ लाग्छ । त्यसैले छोटो मीठो र सटिक जवाफ दिनुहोस् तर यस्ता शब्द राखेर अक्मक्किएर नबोल्नुहोस् । बोल्दा अक्मक्किनु भनेको जागिर पाउनुमा पनि अक्मक्किनु हो ।

सिधै मलाई थाहा छैन नभन्नुहोस् 

अन्तर्वार्तामा सबै प्रश्न तपाईले तयारी गरेका आउँछन् भन्ने ग्यारेन्टी हुँदैन । कहिलेकाँही नसोचेका प्रश्न तपाईको सिजर्नशिलता, आत्मविश्वास र सामना गर्ने क्षमता जाँच्न पनि सोधिन्छ । त्यसैले आफूले नपढेको, तयारी नगरेको विषयवस्तुबाट प्रश्न आएन भनेर नआत्तिनुहोस् । प्रश्न सुन्दै आत्तिनु भनेको अन्तर्वार्तामा फेल हुने संकते हो भन्ने बुझ्नुहोस् । त्यसैले सिधै मलाई थाहा छैन, जान्दिन नभन्नुहोस् । तपाईले उक्त प्रश्नको उत्तर झ्याप्पै शुरु गर्न सक्नुभएन भने, तपाईले यो एकदमै सही प्रश्न गर्नुभयो, यो एकदमै उपयुक्त प्रश्न गर्नुभयो भनेर, पेपरमा कलमले प्रश्न टिपेर वा पानी पिएर केही सेकेन्ड लम्बाई उत्तर दिन सक्नुहुन्छ । तर एकैपटक आत्तिएर हतपतमा मलाई थाहा छैन, मैले जान्दिन सकेसम्म नभन्नुहोस् ।

जागिर अगावै माग नतेर्सानुहोस् 

कुनै पनि कम्पनीले तपाई कम्पनीलाई काम लाग्नेजस्तो भए मात्र जागिर दिने हो । तपाईले कम्पनीलाई राम्रो गर्न सक्नुहुन्छ भन्ने अनुभुत गराउन सक्नु भयो भनेमात्र कम्पनीले तपाईलाई कर्मचारी बनाउँछ र तपाईलाई के कति सुविधा दिएर खुशी बनाउन सकिन्छ भन्ने सोच्छ । तर कम्पनीलाई राम्रो गर्न सक्ने विश्वास दिलाउन नभ्याउँदै तपाईले कम्पनीले यस्तो सुविधा दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने तपाईले कम्पनीको विश्वास गुमाउनुहुन्छ ।

सेवा सुविधा तपाईको माग अनुुसार कम्पनीले दिने होइन, सेवा सुविधा कम्पनीको नियमानुसार कम्पनीले तपाईलाई दिने हो । कम्पनीले तपाईलाई विश्वास गर्नु अगावै माग तेर्साउनु भनेको सिधै अयोग्य हुनु हो ।

म निकट भविष्यमा मेरो आफ्नै व्यवसाय गर्न चाहन्छु नभन्नुहोस्

कुनै पनि कम्पनीले लामो समय काम गर्न इच्छुक व्यक्तिलाई मात्र जागिर दिन चाहन्छ । कतिपय आवेदकको चाहाना केही समय जागिर गरी आर्थिक रुपमा सवल भएपछि आफ्नै व्यवसाय शुरु गर्ने हुनसक्छ । तर यो आशय अन्तर्वार्ता दिने क्रममा देखाउनु हुँदैन । किनकी केही समय जागिर गर्ने व्यक्तिलाई जागिर दिँदा कम्पनीले ठोस प्रगति गर्न सक्दैन र कर्मचारी कम्पनीप्रति आवश्यक जिम्मेवार नहुने बुझ्दछ र जागिर दिन चाहँदैन ।

विकर्षण हुने कुनै कुरा नगर्नुहोस्

अन्तर्वार्ता हुने दिनलाई प्रमीप्रेमिका डेटिङ गएजस्तै दिन सम्झनुहोस् । डेटिङ जाने दिन प्रेमीले प्रेमिकालाई आकर्षित गर्न विभिन्न पक्षमा ख्याल गरेको हुन्छ । आर्कषित गर्न गरिएका विभिन्न कुराले अर्को पटक पनि भेटौँ भेटौँ भयो भने त्यो डेटिङ सफल डेटिङ मानिन्छ । त्यसैगरी अन्तर्वार्ता दिन जाँदा तपाईले पनि अन्तर्वार्ता लिनेलाई कसरी आफूप्रति आकर्षित गर्न सकिन्छ भन्ने विभिन्न उपाय अपनाउन जरुरी छ । कतिपयले काम बने बन्छ नबने बन्दैन भनी लगाई, बोलाई, प्रस्तुतीमा ध्यान दिँदैनन जसले गर्दा जागिर पाउन मुस्किल हुन्छ ।

यी माथिका कुरामा ध्यान दिनुभयो भने तपाईले अन्तर्वार्ता लिने व्यक्तिलाई प्रभावमा पार्न सक्नुहुन्छ जसले गर्दा धेरै दुख गरेर अन्तिम चरणमा पुगेको जागिर पाउने आशा निराशामा परिणत हुँदैन ।


क्लिकमान्डु