तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं : मन्त्री भट्ट



काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनबाट नेपालमा तेल ल्याउने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीले विश्वास गर्नुभयो भने म तीन वर्ष अझै मन्त्रीको रुपमा रहन्छु, चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं । यो सपना हामी पूरा गरेर छोड्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्नको लागि आफू सक्रिय भएर लाग्ने बताउँदै उनले भने,‘यो नारामा ठूलो कुरा लुकेको छ, हामी यसलाई साकार पार्नको लागि दत्तचित्त भएर लागिरहेका छौं । जबसम्म जनता सुखी हुँदैनन्, तबसम्म मुलुक समृद्ध हुँदैनन् ।

मुलुक समृद्ध नभएसम्म फेरी जनता सुखी हुँदैनन् । यसमा द्वन्द्वात्मक सम्बन्ध छ ।’ मुलुक औद्योगीकरणको बाटोमा गइसकेको उनको भनाई छ । उनले भने,‘कृषि, पर्यटन सबैलाई उद्योगको रुपमा विकास गर्छौं । हामी कृषिमा आत्मनिर्भर हुँदैछौं । त्यही अनुसार कृषि मन्त्रालयले योजना र तयारी गरिरहेको छ ।’

उनले अहिले सञ्चालनमा रहेका केही सरकारी रुग्ण उद्योगहरुलाई गतिका साथ सञ्चालनमा ल्याउने तयारीमा आफूहरु लागेको पनि सुनाए । ‘सरकारी उद्योगहरुले मुनाफा हासिल गर्न सकेका छैनन् । अब यसलाई मुनाफातर्फ लैजानको लागि हामी छलफल गरिरहेका छौं’ उनले भने ।

त्यस्तै, निजी क्षेत्रको लागि पनि औद्योगीकरणको वातावरण बनाउनको लागि आफूले आवश्यक पहल गरिरहेको मन्त्री भट्टले सुनाए । उनले भने,‘औद्योगीकरणको लागि वातावरण बनाउनको लागि आवश्यक पहल भैरहेको छु । कतिपय ऐन, कानूनहरु बनिसकेका छन् । कतिपय कार्यविधिहरु बन्ने प्रक्रियामा छन् ।’ आफू भर्खरै मन्त्रालयमा आएकोले अहिले छलफलको क्रममा नै रहेको पनि उनले सुनाए । उनले भने,‘अब सुस्त गतिमा हिँडेर काम छैन्, हामी गतिमा काम गर्नेगरि अघि बढ्छौं ।’

पछिल्लो समय मुलुकको व्यापार घाटा कम भइरहेको बताउँदै यत्तिमा नै आफूहरुले सन्तोष मान्नुपर्ने स्थिति भने नभएको बताए । उनले भने,‘कृषिमा हामी आत्मनिर्भर हुँदैछौं । कृषि मन्त्रालयसँग हामी समन्वय गर्दै अघि बढ्छौं । अरु, मन्त्रालयसँगपनि हामी समन्वय र छलफल गर्दै अघि बढ्छौं । आपूर्तिले नेपालमा आन्तरिकतर्फ ध्यान दिएर काम गर्छ भने वाणिज्यले भने बाहृय मुलुकसँगको व्यापारको लागि काम गर्छ ।’

उनले मुलुकमा औद्योगीकमैत्री वातावरण बनाउनको लागि आफ्नो पहिलो काम हुनेपनि विश्वास दिलाए । उनले भने,‘औद्योगिकमैत्री वातावरण बनाउन सकियो भने मुलुकमा आन्तरिक र बाहृय पुँजी आकर्षण हुन्छ । म त्यो काममा लागिरहेको छु । पछिल्लो समय बाहृय पुँजीपनि देशमा आकर्षण भैरहेको छ ।’

उनले केही नयाँ औद्योगिक क्षेत्रपनि घोषणा भएका र केही घोषणा हुने क्रममा रहेको जानकारी गराए । उनले भने,‘केही क्षेत्रहरु घोषणा भैसकेका छन् । कतिपयहरु घोषणा हुने क्रममा छन् । कतिपयको डिपिआर र आई.ई.ए. भैरहेको छ ।’ मन्त्री भट्टले दुई मुलुकसँग बन्दरगाहा र नाका खोल्ने कामपनि भएको सुनाए । उनले भने,‘हाम्रो राज्यमन्त्री औद्योगिक क्षेत्रकै व्यक्तित्व हुनुहुन्छ, हामी सामूहिक छलफल र निर्णयमा जान्छौं । हिजोमात्रै पनि मैले उहाँसँग छलफल गरेको छु ।’

अहिले अत्यावश्यक वस्तुमा मृल्यवृद्धि हुनुको कारण भने उत्पादनमै कमी भएको उनले भनाई छ । उनले भने,‘अहिले प्याज लगाउने सिजन छ । प्याजमा आत्मनिर्भर हुनको लागि हामी सबैले आफूलाई पुग्ने उत्पादन गरौं ।’ किसानहरुको उत्पादनलाई उचित मूल्य दिनेगरि आफूहरु छलफलमा जुटेको र सोही अनुसारको संयन्त्र बनाउने उनको भनाई छ । उनले भने,‘किसानको उत्पादनलाई उचित मूल्य दिनेगरि नीति र योजना ल्याउँछौं ।’


क्लिकमान्डु