दशैंमा डिजिटल दक्षिणा !



काठमाडौं । क्यास लेस पेमेन्ट त सुन्नु भएकै होला । जसलाई हामी अर्को शब्दमा डिजिटल पेमेन्ट पनि भन्छौं ।

सामान खरिद गर्दा जति रकम भुक्तानी गर्नुपर्ने हुन्छ त्यसलाई विभिन्न एप, डेविट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने चलन नेपालमा केही वर्षयता मात्रै बढी प्रचलनमा आएको पाइन्छ ।

यसले एकातिर खल्तीमा पैसा बोक्ने झन्झट पनि नहुने र जति पैसा भुक्तानी गर्नुपर्ने हो त्यति नै रकम खाताबाट कट्टी हुने हुँदा यो भुक्तानीको सबैभन्दा प्रभावकारी माध्यम बन्दै गएको छ ।

यद्यपि हामीकहाँ डिजिटल लिटरेसीको अभावका कारणले यसले अन्य विकसित देशमा जस्तो बढी प्रचलनमा आइसकेको भने छैन ।

छिमेकी मुलुक भारतमा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्ष अगाडि ८ नोभेम्बर २०१६ मा नोटबन्दी गरे । जसमा तत्कालिन समयमा प्रचलित ५ सय र १ हजार रुपैयाँका नोट नचल्ने र त्यसको साटो ५ सय र २ हजारका नयाँ नोट बजारमा ल्याएका थिए ।

अकस्मात गरिएको यो निर्णयले भारतीय अर्थतन्त्रमा ठूलो हलचल मच्चायो । यसले आम जनजीवनमा ठूलो क्षती पुर्यायो । मानिसहरु बैंकमा पैसा जम्मा गर्न र एटीएमबाट पैसा निकाल्नका लागि घण्टौ लाइन बस्नुपर्ने अवस्था सिर्जना भयो । जसका कारण कैयनले ज्यान समेत गुमाए ।

हो, यही समयमा भारतमा डिजिटल भुक्तानी प्रणालीले विकास हुने मौका पायो । जसमा मोबाइल भुक्तानी एप ‘पेटीएम’ले यो अवसरलाई समात्यो र धेरैका लागि सहज कारोबार गर्ने सहयोगी माध्यम बन्यो । कतिसम्म भने बजारमा तरकारी किन्दा होस वा अटो, ट्याक्सीको भाडा तिर्नका लागि होस मानिसहरु पेटीएम गर्न थाले । स–सानो भूक्तानी गर्दा समेत पेटीएममार्फत् हुन थालेपछि खुद्रा पैसा खल्तीमै बोक्नुपर्ने झन्झट हट्यो ।

यसले डेमोनाटाइजेसनको समस्यालाई धेरै हदसम्म हल पनि गर्यो ।

यही प्रणाली सर्वसुलभ बनाउनका लागि नगदको धेरै कारोबार हुने दशैंमा दक्षिणा समेत डिजिटल प्रणालीबाट किन भुक्तानी नगर्ने भन्ने विषयले अहिले चर्चा पाएको छ ।

दशैंमा मान्यजनबाट टिका थाप्ने, आशीर्वाद लिने र दक्षिणा डिजिटल प्रणालीबाट लिने चलन नौलो भए पनि यसले बजारमा भुक्तानी प्रणालीमा राम्रो सुरुवात हुने धेरैको विश्वास छ ।

यसो गर्दा दक्षिणा बैंकिङ प्रणालीमार्फत् आफ्नै खातामा जम्मा हुनेछ । खल्तीमा पैसा राख्दा हराउने, चोरी हुने वा अनावश्यक खर्च हुने झन्झट पनि हुँदैन । यसले पैसा बैंकिङ प्रणालीमा रहने भएकाले तरलता अभाव पनि हुँदैन ।

टक्क मोबाइल निकाल्यो, जसलाई दक्षिणा दिने हो उसैको खातामा पैसा निमेषभर मै पठाइदियो । र, यो अत्यन्तै सुरक्षित माध्यम पनि भयो ।

यद्यपि नेपाली समाजमा दशैंमा नयाँ नोट खल्तीमा राख्ने परम्परागत बानी अझैं पनि छ । दशैंमा नयाँ कट्कटाउँदो नोट साट्ने र नयाँ नोट मात्रै कारोकार गर्नुपर्छ भन्ने मान्यता अझैँ पनि छ । दशैंका दिन थालभरी अक्षता र जमरासँगै नयाँ नोट राख्न पाउनुको रमाइलो पनि बेग्लै छ ।

यसो त दुर्गा पुजादेखि नै नयाँ नोटमा पुजा गर्ने पुरानो प्रचलन हो ।

दशैं र तिहार जस्ता पर्वमा समाजमा जुवा, तास बढी खेल्ने विकृति पनि छ । जहाँ नगद रुपमा करोडौं रुपैयाँ मानिसका खल्तीमै हुने अवस्था छ ।

यसले बैंकिङ प्रणालीबाट बाहिरिने ठूलो रकम पुनः बैंकिङ प्रणालीमा ल्याउन निकै गाह्रो हुन्छ । तर अधिकांश भुक्तानी बैंकिङ प्रणालीमार्फत् हुँदा यसले बैकिङ प्रणालीमा पैसा सञ्चिती पनि भइराख्छ ।

साथै, जुवा र तासमा समेत हुने फजुल खर्चलाई न्यूनिकरणमा सहयोगी हुन्छ ।

विकसित देशमा अत्यन्तै प्रचलनमा रहेको यो भुक्तानी प्रणालीलाई नेपालमा पनि सरकारले प्रोत्साहन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यभार सम्हाले लगत्तै सरकारको राजस्व प्रणालीमा डिजिटल भुक्तानी गर्ने व्यवस्थाको मिलाउने बताएका थिए ।

डिजिटल दक्षिणाः कम्पनीले ल्याउँदै छन् यस्ता योजना

त्यतिमात्रै होइन, चालु आर्थिक वर्षको बजेट भाषणमा समेत अर्थमन्त्री डा. युवराज खतिवडाले कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत ‘क्यास ब्याक’ दिने योजना समेत सार्वजनिक गरेका थिए । यद्यपि यो प्रणालीबाट उपभोक्ताले कसरी ‘क्यास ब्याक’ पाउने भन्ने स्पष्ट कार्यविधि आइसकेको छैन ।

यतिमात्रै कहाँ होर ? सरकारले डिजिटल नेपाल योजना समेत सार्वजनिक गरिसकेको छ ।

यस प्रकारको भुक्तानी प्रणालीले पैसाको कारोबार बैंकमार्फत् नै हुने भएकाले बजारमा पैसा हराउने समस्या समाधान हुने सरकारको विश्वास छ ।

हाम्रो मुलुकमा दशैं तथा तिहार जस्ता ठूला पर्वमा बढी नगद कारोबार हुने गर्छ । राष्ट्र बैंकले दशैं, तिहार जस्ता ठूला पर्वमा बजारमा क्यास फ्लो बढी हुने अनुमान गर्दै बजारमा नयाँ नोट समेत ल्याउँदै आएको छ ।

छिमेकी मुलुक भारतमा समेत पेटिएमलगायतका डिजिटल भुक्तानी सेवा लोकप्रिय बन्दै गएका छन् ।

नेपालमा पनि ईसेवा, प्रभु पे, खल्ती, आईएमई पे, सेल पेलगायतका भुक्तानी प्रणालीले तीव्र रुपमा बजार विस्तार गरिरहेका छन् । प्रत्येक दिन डिजिटल भुक्तानी प्रणालीका उपभोक्ताहरु पनि बढ्दै गएका छन् ।

त्यस्तै, बैंंकहरुले समेत मोबाइल बैंकिङमार्फत् डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाइदिएका छन् । अहिले मोबाइलमा रिचार्ज गर्न, रकम ट्रान्सफर गर्न, खानेपानी, विद्युत, इन्टरनेट तथा केवुलको शुल्क, बस तथा हवाई टिकट, स्कुल फि, होटल, चलचित्रको टिकट, बीमा समेत डिजिटल प्रणालीबाट गर्न सकिने अवस्था आइसकेको छ ।

यसले एकातिर समयको बचत गराएको छ भने अर्कोतर्फ सुरक्षित कारोबार गर्न सहयोगी भएको छ । अहिले दैनिक करोडौं रुपैयाँको कारोबार यिनै एप तथा बैंकको एपमार्फत् समेत हुँदै आएका छ ।

अहिले ई-सेवामा मात्रै २० लाख उपभोक्ता जोडिएका छन् भने छोटो समयमा खल्तीले पनि आक्रमक बजार विस्तार गर्दै ५ लाखभन्दा बढी उपभोक्ता आफूसँग जोडिसकेको जनाएको छ । साथै अन्य सेवामा पनि लाखौं उपभोक्ताले सेवा लिइरहेका छन् ।

डिजिटल नेपालको सपनालाई यी र यस्तै भुक्तानी प्रणाली सहयोगी समेत हुने देखिएको छ ।


क्लिकमान्डु