विनोद चौधरी बन्लान् त अर्को मुकेश अम्बानी ?



काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सको सूचिमा सूचिकृत एकमात्र नेपाली अर्बपति बिनोद चौधरी नेपालमा टेलिकम व्यवसायमा प्रवेश गर्न चाहिरहेका छन् । उनले चिनियाँ कम्पनी हुवावेसँग पूर्वाधार र टर्कीको टुर्कसेल कम्पनीसँग सहकार्य गरी नेपाली टेलिकम व्यवसाय गर्न चाहेका छन् ।

सरकारीस्तरको नेपाल टेलिकम र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक एनसेलले सम्पूर्ण बजार हिस्सा ओगटेको अहिलेको अवस्थामा बजारमा प्रवेश गर्नु निकै चूनौतीपूर्ण पक्का छ ।

टेलिकमको क्षेत्रमा नेपाल नयाँ होइन । सबैका हात-हातमा मोबाइल फोन छ । इन्टरनेट पहुँच पनि बढीरहेको छ । जसमा घगडान कम्पनीहरु नेपाल टेलिकम, एनसेल तथा अन्य कम्पनीले बजारमा आफ्नो प्रभुत्व जमाएका छन् ।

लगानी सम्मेलनमा चौधरी ग्रुपमा ४ प्रोजेक्ट

टेलिकम व्यवसायमा नयाँ बजार खोज्नुभन्दा पनि अरुको बजार हिस्सा खोसेर लिनु आफैंमा चौधरीलाई चुनौतीपूर्ण हुने पक्का छ । जसमा केही वर्षअघि भारतीय व्यवसायी तथा एसियाका सबैभन्दा धनी मुकेश अम्बानीले अपनाएको ‘जियो’ मोडेल अपनाउन खोजेको देखिन्छ ।

व्यवसायमा मुकेशले अम्बानीले जस्तै कैयन व्यवसायमा हात हालेका चौधरीबीच एउटा समानता छ, त्यो हो दुबै आफ्नो देशका सबैभन्दा धनी व्यक्ति हुन् । यी दुबैका कारोबार स्वदेश र विदेशसम्म फैलिएको छ ।

चौधरीले पछिल्लो समय २५ अर्ब लगानीमा ल्याउन लागेको सिजी टेलिकमले नेपाली टेलिकम क्षेत्रमा क्रान्ति ल्याउने पक्कापक्की छ । किनभने कपर फ्लोर डान्सबारबाट व्यवसाय सुरु गरी आज चाउचाउ, होटललगायतका बिजनेशबाट मनग्गे आम्दानी गरेका चौधरीको सिजी टेलिकमको यो निर्णयले लरोतरो भने पक्कै हुँदैन ।

हुवावेसँग मिलेर चौधरी ग्रुपले नेपालमा फोरजी सेवा सञ्चालन गर्ने, ११ अर्ब लगानीको सम्झौता

स्वदेशमा मात्रै नभई विदेशमा समेत वाइ-वाई चाउचाउ र कैयन देशमा होटल व्यवसायमा लगानी गरी बलियो व्यवसायिक छवी बनाउने चौधरीले टेलिकम क्षेत्रमा क्रान्ति गर्नकै लागि यो निर्णय लिएको देखिन्छ ।

झण्डै १ सयजति टेलिकम कम्पनीले बजारमा कब्जा जमाएको अवस्थामा मुकेश अम्बानीले ‘जियो’ ल्याए । सन् २००७ मा स्थापना भए पनि सन् २०१६ देखि आक्रमक बजार लिएको जियोले ३ वर्षको छोटो अवधिमा अग्रणी कम्पनी बन्यो ।

यसका लागि जियोले लिएको बजार रणनीति निकै महत्वपूर्ण मानिन्छ । अहिले भारतीय टेलिकमको बजारमा जियोको हिस्सा ३२ प्रतिशत छ । जुन सबैभन्दा बढी हो ।

बजारमा लामो समयदेखि हिस्सा जमाएर बसेका कम्पनी जहाँको त्यहीँ रहँदा जियोले सबैलाई पछि पार्दै नम्बर वानको ताज पहिरिएको छ ।

हो, त्यही मोडेल अपनाउन चाहन्छन बिनोद चौधरी पनि ।

नेपाल टेलिकम र एनसेलले एकछत्र राज गरिरहेको अहिलेको बजारमा चौधरीको प्रवेशले कति बलियो हुनेछ भन्ने अनुमान मात्रै गर्न सकिन्छ ।

अहिले देशमा मोबाइलको पहुँच १२५ प्रतिशत पुगेको छ । इन्टरनेट प्रयोगकर्ता ६३ प्रतिशत पुगेको छ । अब चौधरीलाई १२५ भित्रको बजार हिस्सा लिनुपर्नेछ । जुन अहिले अरु कसैको हो ।

जसरी भारतमा जियोले अरुको बजार हिस्सा आफ्नो पोल्टामा पारेर पहिलो नम्बरमा आयो, त्यसरी नै सिटी टेलिकमले पनि नेपाल टेलिकम र एनसेलको बलियो पहुँचलाई तोडेर अगाडि बढ्नुपर्नेछ ।

अहिले नेपालमा फोर जी सेवा चलिरहेको छ । एनसेलले करिब सबै क्षेत्रमा र नेपाल टेलिकमले केही स्थानमा मात्रै फोर जी सेवा पुर्याउन सकेका छन् । यस्तोमा एक कदम अघि बढेर सिजीले प्रभावकारी फोर जी सेवाका साथै फाइभ जी र सिक्स जीका लागि सोच बनाएको देखिन्छ ।

नेपालमा अहिले फोर जी प्रयोगकर्ता ३६ लाख छन् । फोरजी मोबाइल नेटवर्क तीव्र गतिमा बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस डाटामा हेर्दा एक वर्षको अवधिमा फोर जी सेवा लिनेहरुको १२५ प्रतिशतले वृद्धि भएका छन् । अघिल्लो वर्ष १६ लाख उपभोक्ता रहेकोमा यस वर्ष २० लाखले बढेको देखिन्छ ।

अहिले ३ वटा कम्पनीले फोर जी सेवा दिइरहेका छन् । सबैभन्दा पहिले नेपाल टेलिकमले सन् २०१७ जनवरी १ देखि फोर जी सेवा सुरु गरे पनि उपभोक्ता भने साढे ७ लाख मात्रै छन् । तर, टेलिकमभन्दा केही समय पछाडि आएको एनसेलले भने फोर जी मुलुकका १०० ठाउँमा विस्तार गर्दै २६ लाख उपभोक्ता कमाइसकेको छ ।

त्यस्तै, सबैभन्दा कम स्मार्ट सेलले काठमाडौं, पोखरा, बिराटनगर गरी १९ जिल्लामा सेवा प्रदान गर्दै जम्मा १ लाख ७० हजार उपभोक्तामा सीमित छ ।

त्यति मात्रै होइन अहिले इन्टरनेट पनि निकै सस्तो बन्दै गएको छ । प्रतिष्पर्धी बजारमा नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै डाटा उपलब्ध गराइरहेको छ । त्यसैले बजार हिस्सा कायम गर्नका लागि मूल्य पनि सस्तो बनाउनु पर्छ ।

इन्टरनेशनल टेलिकम्यूनिकेशन यूनियन (आईटीयू)का अनुसार नेपालले डिजिटल ट्रान्सफरमेसनमा निकै प्रगति गरेको छ । आईटीयूको तथ्यांक अनुसार नेपालमा सन् २०१८ सम्ममा ३ करोड ९१ लाख ७८ हजार ४५१ प्रयोगकर्ता छन् ।

सन् २००० मा जम्मा १०२२६ जना प्रयोगकर्ताबाट सुरु भएको मोबाइलको बजार अहिले १२५ प्रतिशत जनसंख्यामा पहुँच पुगिसकेको छ । मोबाइल प्रयोगकर्ताको वृद्धिदरलाई केलाउँदा सन् २०१७ देखि २०१८ सम्ममा मात्रै ३० लाख ८२ हजार ५५ जना वृद्धि भएका छन् ।

छिमेकी मुलुक भारत र नेपालको तुलना गर्दा फोनमा खर्च गर्ने रकम नेपालीहरुको धेरै छ । इन्क्लुसिभ इन्टरनेट इन्डेक्सको तथ्यांक अनुसार नेपालीहरुले एक वर्षमा फोनमा मात्रै औसत ३६ अमेरिकी डलर खर्च गर्छन् भने भारतमा यो रकम २६ डलर मात्रै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा र सन् २०२२ मा विकासोन्मुख र सन् २०३० मा विकसित देशलाई पछ्याउँदै गर्दा टेलिकमको हिस्सामा चौधरीको लगानी गर्ने योजना सहयोगी हुने समेत देखिन्छ ।

के हो जियो मोडेल ?

सन् २०१६ मा मुकेश अम्बानीले जियो विभिन्न अफरसहित बजारमा ल्याएका थिए । सुरुमा सीमित क्षेत्रमा मात्रै जियो अहिले भारतका सबै जसो सहरमा आक्रमक तवरले व्यापार विस्तार गरेको थियो ।

निःशुल्क भ्वाइस कल र सस्तो दरमा अनलिमिटेड डाटा योजनाले जियोले छोटो समयमा धेरै मानिससम्म पुग्न सक्यो ।

यसले एकातिर बजारलाई थप प्रतिष्पर्धी बनायो भने सस्तो हुँदा धेरै उपभोक्ता लोभिए । जियोले मोबाइलको महंगो व्यापारलाई सस्तो बनाइदियो । धेरै कुरा निःशुल्क पाउँदा उपभोक्ताहरु लोभिए । जसले अन्य टेलिकम कम्पनीलाई पनि डाटाको शुल्कमा कम गर्नका लागि बाध्य बनायो । जसको सोझो प्रभाव आम उपभोक्तासम्म पुग्यो ।

जियोले चीनमा गएर पुराना फोनहरु सस्तोमा खरिद गर्यो । जसलाई भारतमा ल्यायो र रिलेभल्ड गर्यो । पुराना फोनमा जियोका अफर दियो, मानिसहरुले सस्तो दरमा फोन पाएसँगै भकाभक जियोका फोन खरिद गर्न लागे । र, छोटो समयमा जियोले बजारमा राज गर्न सक्ने अवस्थामा पुग्यो । अहिले जियोले वार्षिक रुपमा २३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी मात्रै गर्दछ ।

कहाँ अड्कियो सिजी टेलिकम ?

सर्वोच्च अदालतले दूरसञ्चार प्राधिकरणलाई सिजी टेलिकम सञ्चालनका लागि सन् २०१८ डिसेम्बर २७ मा निर्देशन दिएको थियो । यसले सिजीलाई फोजी सेवा ल्याउनका लागि बाटो सहज बनाएको थियो । तर हालसम्म पनि सिजीले लाइसेन्स भने पाएको छैन ।

सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले क्लिकमाण्डूसँग कुरा गर्दै भने, ‘हामी यति ठूलो लगानी गरेर टेलिकम क्षेत्रमा आएका छौं, तर लाइसेन्स नदिँदा अप्ठ्यारो परिरहेको छ ।’

तत्कालिन समयमा २०७४ साल जेठ १४ गते सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले सिजीको पक्षमा फैसला गरेका थिए ।

तर प्राधिकरणले अक्सनका लागि आव्हान गरेको थियो । जसमा ९००/१८००/२१०० मेगाहर्ज ब्याण्डका लागि आव्हान समेत २०७५ पुस ४ गते गरेको थियो । त्यसपछि सिजी सर्वोच्च अदालत पुगेको थियो ।

टेलिकम फ्रिक्वेन्सी स्पेक्ट्रप नपाएपछि अदालत पुगेको थियो । तत्कालिन सममयमा सिजी टेलिकमले आफूलाई लाइसेन्स नदिइ अक्सनको प्रक्रिया अघि बढाएको र त्यस बढाबढमा आफू सहभागी हुन नपाउने अवस्था आएको भन्दै अदालत पुगेको थियो ।

सर्वोच्च अदालतले प्राधिकरणलाई अन्य टेलिकमलाई जस्तै सिजीलाई पनि व्यवहार गर्न निर्देशन दिएको थियो ।

२०७४ जेठ १४ गते युनिफाइड लाइसेन्स पाएपछि सिजी टेलिकमले अहिले देशभर मोबाइल सेवा दिन सम्पूर्ण कार्य पूरा गरेको भए पनि मोबाइल सेवा अनुमति नपाउँदा काम अगाडि बढ्न सकेको छैन् । फाइल मन्त्रालयमा अड्किएर बसेपछि काम अवरुद्ध भएको हो ।

चौधरीले गत निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गरेको भन्दै केपी ओली सरकार उनीप्रति नकरात्मक भएकाले सिजी टेलिकमको लाइसेन्समा सरकारले बखेडा झिकेको जानकारहरु बताउँछन् । चौधरी कांग्रेसका तर्फबाट सांसदसमेत छन् ।

सरकार नकरात्मक भएपछि चौधरीले चलाखीपूर्ण तरिकाले गत चैतम भएको लगानी सम्मेलनमा चौधरीले टेलिकमसहित ४ प्रोजेक्टमा लगानीको घोषणा गरेका थिए ।

‘सामान्य नैतिकता भएको सरकारले लगानी सम्मेलनमा घोषणा भएको प्रोजेक्टलाई अवरुद्ध गर्न सक्दैन,’ एक व्यवसायीले भने ।


पुष्प दुलाल