१५ %ले बढ्यो निर्जीवन कम्पनीको बीमाशुल्क, शिखर फस्ट, कसको कति ? (सूचिसहित)



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले १५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएका छन् ।

बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन निर्जीवन बीमा कम्पनीले गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा निर्जीवन बीमा कम्पनीले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ हुुनुपर्ने व्यवस्था छ । जसमा केही कम्पनीको चुक्ता पूँजी पुगेको छैन । पूँजी अनुसारको व्यवसाय बढाउन निर्जीवन बीमा कम्पनीलाई कठिनाई भएको देखिन्छ ।

निर्जीवन बीमा शुल्क आर्जन १७% ले बढ्यो, शिखर पहिलो, युनाइटेड अन्तिम

अहिले २० वटा बीमा कम्पनी संचालनमा रहेका छन् ।

गत आर्थिक वर्षम बीमा शुल्क आर्जनमा विगतमा जस्तै पहिलो स्थान भने शिखर इन्स्योरेन्सको रहेको छ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । शिखरको बजार हिस्सा १४ प्रतिशत रहेको छ ।
२०७४/७५ मा शिखर इन्स्योरेन्सले ३ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथाले २ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सगरमाथाले पहिलो पटक बीमा शुल्क आर्जन २ अर्ब रुपैयाँ कटाएको हो । २०७४/७५ मा सगरमाथाले १ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । अघिल्लो वर्ष चौथो स्थानमा रहेको नेको यो वर्ष तेस्रो स्थानमा आएको हो । नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष नेकोले १ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

१ अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा तीनवटा नयाँ कम्पनी अजोड,सानिमा र जनरल इन्स्योरेन्स छन् । जसमा अजोड इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । अजोडले ४१ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पुराना कम्पनीमा भारतीय लगानीको शाखाको रुपमा खुलेको नेशनल र ओरियन्टलको बीमा शुल्क आर्जन १ अर्ब रुपैयाँभन्दा कम छ । यस्तै एभरेष्ट र युनाइटेडको पनि बीमा शुल्क आर्जन १ अर्बभन्दा कम छ ।

अघिल्लो वर्ष १ अर्बभन्दा कम बीमा शुल्क आर्जन गरेका राष्ट्रिय बीमा कम्पनी,प्रभु र नेपाल इन्स्योरेन्सले यो वर्ष बीमा शुल्क आर्जन १ अर्बभन्दा बढी गरेका छन् ।

गतवर्षको बीमा शुल्क आर्जनमा नेकोभन्दा सिदार्थ पछाडि परेको छ । सिदार्थले १ अर्ब ८६ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
एनएलजीले १ अर्ब ६६ करोड रुपैयाँ,प्रिमियरले १ अर्ब ६४ करोड रुपैयाँ,हिमालयन जनरलले १ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ,आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ तथा लुम्बिनीले १ अर्ब २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु