राजश्वको मुहानै सफा गर्ने अर्थमन्त्रीको चक्करले ढुकुटीको डलर पनि बढारिन थाल्यो




काठमाडौं । गत फागुनमा अर्थमन्त्रीमा नियुक्त भएपछि डा. युवराज खतिवडाले राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई कडाइको साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिए ।

त्यो बेला भन्सार विभागको महानिर्देशक जगदीश रेग्मी थिए । उनी विश्वले अहिले अंगिकार गरेको कारोबार मूल्यको साटो सन्दर्भ मूल्य कायम गराएर उल्टो बाटो हिड्न नसकिने अडानमा थिए ।

अर्थमन्त्रीको निर्देशन कार्यान्वयन गर्न भन्सार विभागकै महानिर्देशक तयार नभएपछि उनलाई त्यहाँबाट हटाइयो । र, विभागको महानिर्देशक बनाएर तोयम रायलाई ल्याइयो । अनि अर्थमन्त्रीको सार्बजनिक निर्देशन अनुसार भन्सार विन्दुमा सन्दर्भ पुस्तिका बोकेर बसेका भन्सार अधिकृतहरु बिल विजक कुनातिर फालेर थुक लगाएर सन्दर्भ पुस्तिकाको पाना पल्टाउँदै यो बस्तुको मूल्य यति हुन्छ भनेर तोक्न थाले ।

भन्सारमा सन्दर्भ मूल्य कडाइका साथ पालना गराउने अर्थमन्त्रीको निर्देशनले गत आर्थिक बर्षमा सरकारलाई ठूलै राहत दियो । गत आर्थिक बर्षमा लक्ष्य राखिएको ७३० अर्ब रुपैयाँ राजस्व संकलन हुदैन भन्ने संशयकाबीच सरकारले लक्ष्य अनुसार राजस्व उठायो ।

तर, गत बर्ष लक्ष्य अनुसार राजस्व उठ्यो कि उठेन भन्ने विषय पनि त्यत्तिकै विवादित छ । सरकारले लक्ष्य अनुसार राजस्व उठ्यो भन्यो । तर, सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले सरकारले गत आर्थिक बर्षमा ७२६ अर्ब रुपैयाँ मात्रै राजस्व उठाएको बतायो ।

सरकारले गत बर्ष असुल भएको ३ अर्ब ४३ करोड रुपैयाँ बेरुजुलाई पनि राजस्वमा गणना गर्यो । बेरुजु असुलीलाई राजस्व मान्न लेखा सिद्धान्तले सक्दैन भन्ने तत्कालिन महालेखा नियन्त्रक रामकुमार आचार्यलाई महालेखा नियन्त्रकबाट हटाइयो र सुरेश प्रधानलाई महालेखा नियन्त्रक बनाएर ल्याइयो । प्रधान अहिले पनि महालेखा नियन्त्रक नै छन् ।

भन्सारमा सन्दर्भ मूल्य कायम गराउने अर्थमन्त्रीको योजनाले यो बर्ष पनि राम्रै नतिजा दियो । गत असोज मसान्तसम्ममा १ खर्ब ९७ अर्ब रुपैयाँ राजस्व उठेको छ । यसमध्ये भन्सारबाट मात्रै १ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठेको छ ।

गत आर्थिक बर्षको असोज मसान्तसम्ममा भन्सार विभागले ७१ अर्ब ७१ करोड रुपैयाँ मात्रै राजस्व उठाएको थियो । भन्सारमा सन्दर्भ मूल्य कायम गराउने अर्थमन्त्रीको योजनाले यो बर्ष ४२ प्रतिशत भन्सार राजस्व बढेको छ । र, बस्तु आयातको परिमाण गत बर्षको तुलनामा २० प्रतिशतले मात्रै बढेको भन्सार विभागकै अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक बर्षको तीन महिनामा जति राजस्व उठेको छ, त्यसको ५० प्रतिशतभन्दा बढी रकम भन्सार राजस्व नै छ । यसको मूल कारण भन्सारमा लागू गरिएको सन्दर्भ मूल्य नै हो ।

राजस्व उठेकोमा दंग परेर बस्ने हो भने बेग्लै कुरा भयो । तर, बढी राजस्व उठाउने चक्करले अर्थतन्त्रमा अर्काे गम्भीर असर पारको तथ्यांकले नै पुष्टी गरिसकेको छ ।

भन्सारमा कारोबार मूल्यको साटो सन्दर्भ मूल्य कायम गराउने सरकारी नीतिले पुँजी पलायनको खतरा बढायो भन्ने सम्बन्धी समाचार क्लिकमाण्डूडटकमले सोही बेला प्रकाशित गरेको थियो । सो समाचार यहाँ क्लिक गरेर अहिले पनि हेर्न सकिन्छ ।

सन्दर्भ मूल्यको चक्करले नेपालमा भएको परिवत्र्य विदेशी मुद्रा अर्थात अमेरिकी डलरको संचितिमा ठूलो नोक्सानी ल्याउन थालिसकेको छ ।

नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको २ महिनामा नै अमेरिकी डलरको संचित साढे ३ प्रतिशतले जतिले कमी आइसकेको छ । गत असार मसान्तमा १० अर्ब ८ करोड रुपैयाँ बराबरको अमेरिकी डलर संचित रहेकोमा गत भदौ मसान्तमा यस्तो रकम घटेर ९ अर्ब ७५ करोड रुपैयाँमा सिमित भएको छ ।

भन्सारमा सन्दर्भ मूल्य कायम गराउने अर्थमन्त्रीको निर्देशनले देशको सोधानान्तर (देशमा भित्रने र देशबाट बाहिर जाने विदेशी मुद्राको अबस्था) स्थितिमा पनि नकारात्मक असर पारेको छ ।

राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको पहिलो २ महिना (साउन र भदौ) मा ५ अर्ब ८७ करोड रुपैयाँ शोधनान्तर घाटा थियो । चालु आर्थिक बर्षको २ महिनामा भने यस्तो घाटा बढेर २५ अर्ब ४५ करोड रुपैयाँ पुग्यो ।

अमेरिकी डलरमा कुरा गर्ने हो भने गत आर्थिक बर्षको २ महिनामा शोधनान्तर घाटा ५ करोड ७३ लाख अमेरिकी डलर बराबर थियो । जबकि चालु आर्थिक बर्षको २ महिनामा यस्तो घाटा २३ करोड ९ लाख अमेरिकी डलर पुगेको छ । गत आर्थिक बर्षको पहिलो २ महिनामा डा. युवराज खतिवडा अर्थमन्त्री थिएनन् र भन्सारमा सन्दर्भ मूल्यको साटो कारोबार मूल्यलाई नै प्राथमिकता दिने गरिएको थियो ।


क्लिकमान्डु