बैंकलाई सेयर ब्रोकरको लाइसेन्स माग्दै राष्ट्र बैंक पुग्ने एक्लो बैंक बन्यो एनआइसी एशिया



काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले बैंकलाई पनि सेर ब्रोकरको कारोबार गर्ने लाइसेन्स दिने नीतिगत ब्यवस्था गर्यो ।

लामो समयदेखि लगानीकर्ताहरुले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने माग गर्दै आएका थिए । त्यतिमात्रै होइन, वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पनि बारम्बार यस्तो माग गर्दै आएको थियो ।

गाउँगाउँसम्म सेयर कारोबार पुर्याउने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेको थियो ।

तर, मौद्रिक नीति आएको ३ महिना बितिसक्दा पनि बैंकहरुले ब्रोकर लाइसेन्सका लाग खासै चासो देखाएका छैनन् । अहिलेसम्म एनआइसी एशिया बैंकले मात्रै ब्रोकर लाइसेन्स माग्दै राष्ट्र बैंकमा आवेदन दिएको छ ।

‘हामीले मौद्रिक नीतिमार्फत् बैंकलाई ब्रोकर लाइसेन्स दिने नीतिगत ब्यवस्था गरेका थियौं, जसअनुसार बैंकहरुले सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्न पाउने भएका छन्,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘तर, अहिलेसम्म एनआइसी एशिया बैंकले मात्रै ब्रोकर लाइसेन्स माग गर्दै आवेदन दिएको छ ।’

अन्य बैंकहरु पनि ब्रोकर लाइसेन्स लिन इच्छुक भए पनि राष्ट्र बैंकमा आवेदन भने दिएका छैनन् ।

सेयर लगानीकर्ताहरुले अहिले पनि बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने भन्दै सरोकारवाला निकायहरुमा ज्ञापनपत्र बुझाउँदै हिँडिरहेका छन् ।

राष्ट्र बैंकले विनियमावली बनाएर मात्रै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रवक्ता पौडेलले जानकारी दिए ।

‘सेयर ब्रोकरको कारोबार गर्नका लागि बैंकले खोल्ने सहायक कम्पनीको पुँजी कति हुने, संरचना कस्तो हुने, लगायतका विषयमा सरोकारवाला निकायहरुसँग छलफल भइरहेको छ,’ उनले भने, ‘छलफल तार्किक निष्कर्शमा पुगेपछि बैंकले ब्रोकर लाइसेन्स पाउँछन्, धेरै समय नलाग्ला ।’

तर, २८ बैंक मध्ये १ बैंकले मात्रै ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन दिनुले बैंकहरु नै ब्रोकर लाइसेन्स लिन इच्छुक नभएको संकेत गर्छ ।

सेयर खरिद विक्रीको लागि ठूलो परिमाणमा लगानी योग्य पुँजी ( तरलता) आवश्यक हुन्छ । अहिले बैंकहरु तरलता अभावको समस्यामा परेकाले पनि ब्रोकर लाइसेन्सका लागि इच्छुक नभएका हुनसक्ने बताइएको छ ।

राष्ट्र बैंकले ब्रोकरको कारोबार गर्नका लागि सहायक कम्पनी खोल्ने अनुमति दिएपछि नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डबाट पनि ब्रोकरको कारोबार गर्न अनुमति लिनुपर्ने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डले पनि यसअघि नै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइसकेको छ ।

मौद्रिक नीति आउनुभन्दा ३/४ महिना अघि राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिनु हुन्छ कि हुँदैन भनेर राष्ट्र बैंकले अध्ययन गरेको थियो । राष्ट्र बैंकका नियमन विभागका निर्देशकको संयोजकत्वमा भएको उक्त अध्ययन समितिले बैंकलाई सहायक कम्पनी खोलेर सेयर ब्रोकरको कारोबार गर्न दिनुपर्ने प्रतिबेदन बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्था गरेको हो ।


पुष्प दुलाल