तरलता अभाव भए पनि बैंकको ब्याजदर घट्ने संकेत



काठमाडौं । लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरु आक्रान्त भए पनि ब्याजदर भने घट्ने संकेत देखिएको छ । केही बैंकहरुले आधार ब्याजदर (बेस रेट) घटेको भन्दै पहिलेको भन्दा केही सस्तो ब्याजदर सार्वजानिक गरेकाले यस्तो संकेत देखिएको हो ।

बुधबार ५ वटा वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन्, जसमा ४ बैंकको बेस रेट घटेको देखिएको छ भने एउटाको स्थिर छ । बैंकहरुले प्रकाशित गरेको बेस रेटमा केही मात्रै बढाएर ब्याज लिन सक्छन् ।

बैंकहरुले प्रत्येक तीन महिनामा बेस रेट सार्वजानिक गर्नुपर्छ । र, बेस रेटकै आधारमा ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ । बेस रेट बढ्दा ब्याजदर बढ्ने र घट्दा घट्ने हुन्छ । एकपटक प्रकाशित गरेको बेस रेटले तीन महिनाको ब्याजदरको संकेत गर्छ ।

बैंकहरुको बेस रेट घट्दा बढ्दो ब्याजदरले आक्रान्त भएका ऋणीहरुलाई मरुभूमिमा पानीको थोपा भेटिएझैं आशा पलाएको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई मन लागेको समयमा ब्याजदर घटबढ गर्न नपाउन भनेर तीन महिनामका लागि बेस रेट सार्वजानिक गर्नुपर्ने र उक्त बेस रेटका आधारमा ब्याजदर निर्धारण गर्नुपर्ने ब्यवस्था गरेको छ ।

असोज पहिलो सातादेखि नै तरलता अभावको चापमा रहेका बैंकहरुले कात्तिक पहिलो साता बेस रेट घटाएर नयाँ ब्याजदर सार्वजानिक गर्नुले अब ब्याजदर घट्छ भन्ने प्रष्ट संकेत गर्छ ।

ब्याजदर बढाउने प्रतिस्पर्धामा खरो उत्रिएको सिभिल बैंकले समेत बेस रेट केही घटाएको छ । सिभिल बैंकले यसअघि ११.८४ प्रतिशत रहेको बेस रेटलाई घटाएर ११.०६ प्रतिशतमा झारेको छ ।

त्यसैगरी सानिमा बैंकले १०.६६ बाट १०.५५ प्रतिशत, जनता बैंकले ११.६० बाट ११.२२ प्रतिशत र सनराइज बैंकले ११.०९ प्रतिशतबाट १०.९७ प्रतिशतमा बेस रेट झारेको छ ।

मेगा बैंकको बेस रेट भने १०.५५ प्रतिशतमै स्थिर छ ।

हाल २८ वटा वाणिज्य बैंकहरु सञ्चालमा छन् । बाँकी बैंकहरुले पनि अब आफ्नो बेस रेट सार्वजानिक गर्छन् । अरु बैंकले पनि यसरी नै घटेको बेस रेट सार्वजानिक गरे भने इन्ड्रस्टी एभरेजमै ब्याजदर केही तल झर्ने देखिन्छ ।

तर, असोजदेखि बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधान भएन भने बैंकहरुलाई सस्तो ब्याजदरमै कारोबार गर्न कठिन हुने देखिन्छ ।

ब्याजदर माथि नजाहोस् भनेर वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले दशैंअघि केही घटाउँदै ब्याजदरमा नयाँ भद्र सहमति गरेको छ ।

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह उच्च भएपछि बैंकहरुसँग थप लगानी गर्ने पैसा नभएको हो । असोज महिनामा मात्रै बैंकहरुले ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । त्यसअघिमा महिनामा पनि बैंकहरुको निक्षेप संकलन र कर्जा प्रबाहबीच सन्तुलन मिलेको थिएन ।

राष्ट्र बैंकका अनुसार फुलपातिको अघिल्लो दिन अर्थात् असोज अन्तिममा बैंकहरुले २५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोजको पहिलो साता बैंकहरुले २५ खर्ब १२ अर्ब निक्षेप संकलन गरी २१ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका थिए ।

निक्षेप संकलन र कर्जा प्रवाहबीच सन्तुलन नमिल्दा बैंकहरु थप ऋण दिन सक्ने अवस्थामा नरहेकाले अहिलेको समस्यालाई तरलता अभाव भन्दा पनि क्रेडिट क्रञ्च भन्न थालिएको छ ।

बैंकहरुको बेस रेट घट्दा बढ्दो ब्याजदरले आक्रान्त भएका ऋणीहरुलाई मरुभूमिमा पानीको थोपा भेटिएझैं आशा पलाएको छ ।


पुष्प दुलाल