चुक्ता पुँजी बढाउन १ खर्बको सेयर !



काठमाडौं । वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी बढाउन १ खर्ब १ अर्ब रुपैयाँको सेयर जारी गरेका छन् ।

राष्ट्र बैंकले मर्जर गरेर ठूलो पुँजीका थोरै बैंक बनाउने उद्देश्यले पुँजी बढाउने नीति ल्याए पनि बैंकहरुले पुँजी बढाउनका लागि मर्जरभन्दा सेयरलाई नै प्राथमिकतामा राखेका हुन् ।

०७२ साउन पहिलो साता आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजानिक गर्दै गभर्नर डा. चिरञ्जीबी नेपालले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउनु पर्ने घोषणा गरेका थिए । त्यसबेलासम्म वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने ब्यवस्था थियो ।

गभर्नर डा. नेपालले एकैपटक ४ गुणाले पुँजी बढाएर बैंकहरुको संख्या घट्ने उद्देश्यका साथ यस्तो नीति ल्याएका थिए । तर, बैंकहरुले पुँजी बढाउन हकप्रद सेयर, बोनस सेयर र एफपिओ जारी गरेका हुन् ।

राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार यस अवधिमा बैंकहरुले ५० अर्ब ९ करोडको हकप्रद सेयर जारी गरेका छन् । त्यस्तै, ४७ अर्ब ५८ करोडको बोनस सेयर र ३ अर्ब ८८ करोडको एफपिओ जारी गरेका छन् ।

मर्जर र एक्वायरबाट साढे २६ अर्ब पुँजी

कार्यकारी निर्देशक थापाका अनुसार मर्जर र प्राप्तिबाट २६ अर्ब ६९ करोड रुपैयाँ मात्रै चुक्ता पुँजी बढेको छ । बैंकहरु हकप्रद र बोनस सेयर निष्काशन गरेर चुक्ता पुँजी बढाउन लाग्दा मर्जर तथा एक्वायर सोचेभन्दा कम भएको हो ।

वाणिज्य बैंकहरुले मर्जर तथा एक्वायरबाट २० प्रतिशत मात्रै पुँजी बढाएका छन् । ८० प्रतिशत पुँजी भने बोनस सेयर, हकप्रद सेयर र एफपिओबाटै बढाएका छन् ।

बैंकहरूले पुँजी वृृद्धिका लागि अपनाएको बाटोमा ३९.१ प्रतिशत हिस्सा हकप्रद सेयरको छ  भने ३७.१ प्रतिशत बोनस सेयरको र ३ प्रतिशत हिस्सा एफपिओको छ ।

पुँजी वृद्धिको नीतिपछि अहिलेसम्म वाणिज्य बैंकको संख्या २ वटा मात्रै घटेको छ । पुँजी बढाउने नीतिअघि ३० रहेको वणिज्य बैंकको संख्या अहिले २८ छ ।

विकास बैंक र फाइनान्स कम्पनी भने मर्जरमा

राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको नीतिका कारण विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने ब्यापक मर्जर भएको छ । पुँजी वृद्धिको नीति पछि ७६ बाट विकास बैंकको संख्या ३३ वटा र ४८ बाट फाइनान्स कम्पनीको संख्या २४ वटामा झरिसकेको छ ।

राष्ट्र बैंकले विकास बैंकहरूले २ अर्ब ५० करोडसम्म, फाइनान्स कम्पनीहरूले चुक्ता पुँजी ८० करोड रुपैयाँ हुनुपर्ने तोकेको थियो ।


पुष्प दुलाल