कति पढेकाले पाउँछन् सर्टिफिकेट धितोमा ऋण ? लिन के गर्नुपर्छ ?




काठमाडौं । उद्यमी तथा स्वरोजगार बन्न चाहने तर त्यसको लागि पुँजी जुटाउन नसक्नेहरुका लागि सरकारले सहुलियत ब्याजदरमा ऋण दिने सहज बाटो खुल्ला गरेको छ ।

सरकारले हालै स्वीकृत गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधिमा संसोधन गर्दै यस्तो ब्यवस्था गरेको हो ।

सरकारले ७ वर्गलाई उद्यमी र स्वरोजगार बनाउन यस्तो कार्यविधि पारित गरेको हो । सरकारले तय गरेको लक्षित वर्गमा ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमशीलता कर्जा, भूकम्प पीडितहरुको निजी आवाश निर्माण कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा र दलित समुदाय ब्यवसाय विकास कर्जा छन् ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले परियोजनालाई नै धितो मान्नुपर्ने ब्यवस्था गरिएको छ । यो भनेको घरजग्गा धितो राखेर मात्रै बैंकबाट ऋण लिन पाइने अहिलेको ब्यवस्थामा परिर्वतन हो । परियोजना धितो भनेको तपाइले जुन काम गर्न ऋण लिन खोज्दै हुनुहुन्छ, तपाइको त्यही परियोजना नै धितो राख्ने भन्ने हो ।

यस्तो कर्जामध्ये महिला उद्यमशीलता कर्जामा सरकारले ६ प्रतिशत ब्याज अनुदान दिनेछ । अन्य प्रकारका कर्जामा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिनेछ । बैंक तथा वित्तीय संस्थाले यी सातै प्रकारका कर्जामा आफ्नो आधार दरमा २ प्रतिशत थप गरेर ब्याज लिनेछन् । यो भनेको कुनै बैंकको आधार दर ८ प्रतिशत छ भने त्यसमा २ प्रतिशत थप गरेर १० प्रतिशत ब्याजदरमा ऋण पाइने भन्ने हो ।

तपाइले कुनै बैंकबाट यी ७ प्रकारका मध्ये कुनै एउटा कर्जा लिनुभयो र त्यसको आधार दर ८ र त्यसमा २ प्रतिशत थप गर्दा हुने १० प्रतिशत ब्याज पर्यो भने तपाइलाई महिला उद्यमशीलता कर्जामा पाइने ६ प्रतिशत ब्याज अनुदान समायोजन गर्दा तपाइले ४ प्रतिशत मात्रै ब्याज तिर्दा हुन्छ । अन्य प्रकारको कर्जामा पनि ५ प्रतिशत पर्छ । बैंकको आधार दर बैंकपिच्छे फरक हुन सक्छ । बैंकको आधार दर सबै बैंकले प्रत्येक ३/३ महिनामा प्रकाशित गर्ने वित्तीय विवरणमा उल्लेख गरिएको हुन्छ ।

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिनका लागि व्यक्तिको हकमा १८ वर्ष उमेर पुरा भएको हुनु पर्ने छ ।

दश लाख रुपैयाँ भन्दा कमको सामूहिक जमानी कर्जाको हकमा कर्जा जमानी सम्बन्धी कागजात पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

१० लाख रुपैयाँ भन्दा बढीको कर्जाको लागि अनिवार्य रुपमा संस्था र १ करोड रुपैयाँ भन्दा बढीको कर्जाको लागि अनिवार्य रुपमा कम्पनी हुनपर्ने व्यवस्था गरिएको छ ।

यस्तै संस्था वा कम्पनीको हकमा नेपाली नागरिकको शतप्रतिशत शेयर स्वामित्व रहेको हुनुपर्ने छ ।

उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव तर, १० लाख रुपैयाँ भन्दा बढीको कर्जाको लागि ऋणीको विस्तृत परियोजना प्रस्ताव भएको हुनुपर्ने छ ।

यस्तै शिक्षित युवा स्वरोजगार कर्जाका लागि कम्तीमा स्नातक तह उत्तिर्ण भएको र ४० वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

विदेशको विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा निजले अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्ने छ ।

घरेलु तथा साना उद्योग कार्यालय/समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लगायतका सरकारी निकायहरुबाट कम्तिमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य रुपमा लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाण पेश गरेको हुनुपर्ने छ ।

शिक्षित युवा स्वरोजगार कर्जाका लागि उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नु पर्ने छ ।

यसैगरी वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाका लागि श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम/पेशा/व्यवसाय/क्षेत्रमा काम गरी स्वदेश फर्केको हुनु पर्ने छ । तर, कुनै पनि देशको स्थायी बसोबासको स्वीकृति प्राप्त (पिआर, ग्रिनकार्ड होल्डर) व्यक्तिलाई यस्तो कर्जा प्रदान गरिने छैन ।

उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव प्रस्तुत गर्नुका साथै विदेशबाट फर्केको ३ वर्ष व्यतित नभएको हुनुपर्ने छ ।

महिला उद्यमशीलता कर्जाका लागि १८ वर्ष पुरा भएको महिला हुनुपर्ने छ । समूहको हकमा फरक परिवारका कम्तीमा ५ जना महिला १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ ।

उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त पंस्ताव पेश गर्नुपर्ने छ ।

समूहको हकमा सामूहिक जमानी सम्बन्धी कागजात पेश गर्न सक्नुपर्ने छ ।

यस्तै दलित समुदाय व्यवसाय विकास कर्जाका लागि दलित जातजाती भित्रको १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ ।

समूहको हकमा उक्त जातजाति भित्रका फरक परिवारका कम्तीमा ५ जना १८ वर्ष उमेर पूरा भएका मानिसहरुको समूह हुनु पर्नेछ ।

उद्यम संचालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नु पर्ने छ । समूहको हमा सामूहिक जमानी सम्बन्धी कागजातहरु पेश गर्नु पर्ने छ ।

यस्तै उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि माध्यमिक शिक्षा वा सो सरह उत्तिर्ण गरी २५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले यो कर्जाका लागि आवेदन दिन सक्ने छन् ।

स्वदेशको कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्नेवाला भए पनि उक्त कर्जाका लागि निवेदन दिन पाउने छन् ।

यस्तै भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जाका लागि नेपाल सरकारले निजी आवास अनुदान दिए बाहेक अरु संस्थागत अनुदान नपाएको हुनुपर्ने छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरी आर्थिक अभावका कारण हालसम्म आवास निर्माण कार्य शुरु गर्न नसकेको भूकम्प पीडितले पनि यस कर्जाका लागि आवेदन दिन सक्ने छन् ।

ऋणी वा निजको परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य घर नभएका व्यक्तिले पनि उक्त कर्जाका लागि आवेदन दिन सक्ने छन् ।

बैंक तथा बित्तीय संस्थाहरुले यस कार्यविधि बमोजिम कर्जा प्रवाह गर्दा भूकम्प पीडित, बाढी पीडित तथा विपद् प्रभावित नागरिकहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने छ ।

बैंक तथा वित्तीयहरुले यस कार्यविधि बमोजिम भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा प्रवाह गर्दा राष्ट्रिय पुननिर्माण प्राधिकरणले आवास निर्माण सम्पन्न गर्न तोकिएको अवधि भित्र कर्जा लिई सक्नु पर्ने छ ।


क्लिकमान्डु