लगानीको संरक्षण र सहजीकरण गर्छाैंः प्रदेश ३ का अर्थमन्त्री



लामो समयदेखि रामेछाप जिल्लालाई केन्द्र बनाएर राजनीति गरिरहेका पूराना राजनीतिकर्मी कैलाश ढुंगेल ३ नम्बर प्रदेशको अर्थ तथा योजनामन्त्री बनेका छन् । नेपालको राजधानी काठमाडौंसमेत यही ३ नम्बर प्रदेशमा पर्छ । यस्तै बालाजु, हेटौडा र पाटन औद्योगिक क्षेत्र पनि यही प्रदेशभित्र पर्छन् । विकासको पनि केन्द्र रहदै आएको राजधानी काठमाडौंदेखि विकट क्षेत्रसम्म रहेको ३ नम्बर प्रदेशको समुचित विकास तथा यो प्रदेशले लिने आर्थिक नीति र विकासका प्राथमिकता जस्ता विषयमा ३ नम्बर प्रदेशका अर्थ तथा योजनामन्त्री कैलाश ढुंगेलसँग गरिएको कुराकानीः

अहिले तपाइ ३ नम्बर प्रदेशको अर्थमन्त्रीमा नियूक्त हुनुभएको छ, कस्तो महसुस गरिरहनु भएको छ ?

अब ठूलो जिम्मेवारी प्राप्त भएकोको महसुस भएको छ । त्यो जिम्मेवारीलाई पूरा गर्नका लागि अब अलि गम्भीरताका साथ लाग्नु पर्ने भएको छ ।

पहिलेदेखि नै सुगम जिल्ला घोषणा भएको रामेछापलाई केन्द्र बनाएर राजनीति गर्दै आउनु भएको थियो, यो प्रदेशमा एकदम विकट क्षेत्रहरु पनि छन्, यसको समन्यायिक विकासलाई कसरी अघि बढाउनु हुन्छ ?

गर्नुपर्ने काम त हाम्रो चुनावी घोषणा पत्रमा उल्लेख छ । अब विशेष गरी कृषि, जलविद्युत र पर्यटनलाई सेन्टरमा राखेर त्यसको लागि पूर्वाधार बनाउने हो । श्रोत र साधनलाई समुचित तथा बैज्ञानिक ढंगको उपयोग गर्न सकियो भने समृद्धीको लागि धेरै कुनुपर्ने छैन ।

बजेटको सुरुवात कस्तो छ ? कसरी अगाडी बढ्नुहुन्छ ?

बजेटको तयारी भर्खर सुरु भएको छ । हामी यसमा नयाँ पनि छौं । संरचना नै नयाँ छ । संघीय गणतन्त्र प्राप्त भएपछि यो पहिलो अभ्यास हो । बजेटको लागि ऐन नियम बनाउनु पर्नेछ । हामी द्रुत गतिमा यो काम गरिरहेका छौं ।

बजेट ल्याउने सवालमा तपाईको पहिलो प्राथमिकता केमा हुन्छ ?

बजेटको पहिलो प्राथमिकता पूर्वाधारको विकासमा हुन्छ । ३ वटा सेक्टर विशेष गरी कृषि, जलविद्युत र पर्यटनलाई लक्षित गरी त्यसको लागि पूर्वाधार विकास गर्नुपर्नेछ । यसको लागि विशेष गरी शिक्षा नै पहिलो बाटो हो । शिक्षामा पनि प्राविधिक शिक्षालाई बढि जोड दिने प्रधानमन्त्रीज्यूबाट पनि घोषणा भएको छ । हरेक पालीकामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने भन्ने कुरो छ । प्राथमिकताहरु धेरै छन् । तथापि पूर्वाधार तयार गरेर कृषि, जलविद्युत र पर्यटनलाई चाहिने पूर्वाधार हामी चाढै बनाउने गरी यसै वर्षदेखि बजेटिङ सुरु गछौं ।

रामेछापमा अब अहिले गर्नुपर्ने काम चाही सदरमुकामबाट पालीकाहरुसम्म जाने बाटोलाई कालोपत्रे बनाउने लक्ष्य हो । त्यसलाई यो आर्थिक वर्षदेखि काम सुरु हुन्छ । पालिकामा अब प्राविधिक शिक्षाको लागि तयारी हुन्छ । विशेष गरी पकेट क्षेत्र हेरिकन कृषि, जलविद्युत र पर्यटनको कुरालाई पहिलेदेखिनै माग भै आएको जील्ला विकास समिति र अहिलेको जिल्ला समन्वय समितिले धेरै योजना बनाएका छन् । प्राथमिकताहरु हामीले घोषणा पत्रमै उल्लेख गरेको हुनाले त्यसैको सेरोफेरोमा हामी अगाडी बढ्छौँ अहिले ।

अहिले कतिपय स्थानहरुमा दोहोरो कर लगायतका बिषयहरु आएका छन्, यो प्रदेशमा त्यस्ता समस्याको समाधान कसरी गर्नुहुन्छ ?

कर प्रणालीलाई बैज्ञानिक बनाउँछौं । त्यसको बारेमा परामर्श गरिन्छ । विशेष गरी ३ नम्बर प्रदेशमा देशको राजधानी पनि छ । यो प्रदेशमा भएको विकास निर्माण र आर्थिक नीति नियमको कार्यान्वयनको बारेमा देश परदेशमा पनि प्रचार प्रसार हुन्छ । यो प्रदेशमा भएको विकास निर्माण र आर्थिक नीति नियमले देशको नीति नियम के कस्तो छ भनेर विदेशीले पनि धारणा बनाउने हुन् । त्यसकारण यो प्रदेशको बेग्लै महत्व छ । यसकारण यो प्रदेशलाई कसरी राम्रो बनाउन सकिन्छ, आर्थिक नीति नियमहरु के कस्ता बनाउने, के कस्ता योजना र विकास कार्यक्रमलाई बढी प्राथमिकता दिने भन्ने जस्ता विषयमा राय दिनको लागि विज्ञ समुह बनाएर अगाडि बढ्ने सोच बनाएको छु ।

आगामी आर्थिक बर्ष ३ नम्बर प्रदेशले कति रकमको बजेट ल्याउँला ?

अहिले अंकमा त नभनौं । सल्लाह हुँदैछ । छलफल मै छौं ।

ठूला औद्योगिक क्षेत्रहरु घोषणा गर्ने अथवा लगानी भित्र्याउने सवालमा प्रदेश ३ ले लगानीकर्तालाई के कस्तो सहजिकरण गर्छ ?

यो प्रदेशको सरकार लगानीको सहजिकरण गर्ने प्रकारको हुन्छ । यो प्रदेशभित्र पहिला नै ठूला औद्योगिक क्षेत्रहरु छन् । अहिले पनि नाउमा छन् । जस्तै हेटौडा औद्योगिक क्षेत्र यही प्रदेशभित्र पर्छ । यस्तै पाटन औद्योगिक क्षेत्र, बालाजु औद्योगिक क्षेत्र पनि यही प्रदेशभित्र पर्छन् । त्यस्ता औद्योगिक क्षेत्रभित्रका उद्योग प्रतिष्ठान भित्रका उद्योगहरुलाई सहजिकरण गर्दै नयाँ उद्योग स्थापना गर्न लगानीकर्तालाई सहजिकरण गर्छौं । लगानीको वातावरण बनाउन आवश्यक पहल गर्नेछौं ।

सरकारी, निजी र सहकारी क्षेत्रको लगानी गरी ३ वटै आर्थिक अंगलाई एकिकृत ढंगले हिडाएर उज्यालो नेपाल र सक्षम प्रदेश बनाउने हो । यो प्रदेश एउटा आत्मानिर्भर प्रदेश बनाउनेदेखि बेरोजगारीका समस्या समाधानसम्म पहल गर्नुपर्ने छ । अहिलेको केन्द्र सरकार र प्रदेश सरकारबीच लगानीका कुरा, विकासका कुरा र देशलाई चाडो सम्बृद्ध बनाउने कुराहरुमा हाम्रो कही विमति छैन । अब हाम्रो एउटै काम भनेको आर्थिक सम्बृद्धि नै हो । अब नेपाल सधै गरिब भएर, भिकमगा भएर विदेशमा मान्छे पठाउने देशको रुपमा चिनिनु हुन्न भन्ने मुलमन्त्रका साथ हामी अगाडी बढ्छौँ ।

तपाइ अर्थमन्त्री भएको कति समयपछि यो प्रदेशका जनताले परिवर्तनको महसुस गर्न पाउछन् ?

संबिधानले तोकेको अबधिसम्म हामीले सरकार चलाउने हो । यो कुरा मैले भन्नै परेन । अब केही हुँदैन भन्ने मनोविज्ञानलाई सजिलैसँग तोड्दै छौं । केही हुँदैन भन्ने मनोविज्ञानलाई पहिला तोडौं । त्यसपछि आशाका संकेतहरु देखिने छन् । आगामी आर्थिक बर्षको बजेट बनाउने समय भएको छ । त्यो बजेटले नै परिवर्तनको संकेत देखाइहाल्छ ।


क्लिकमान्डु