अव्यवस्थित केबुल तारहरु दूरसंचार प्राधिकरणले भूमिगत गराउने




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हाल प्रयोगमा रहेका केबुल तारहरुलाई भूमिगत बनाउने भएको छ । प्राधिकरणले दीर्घकालिन योजनाअनुसार नै हाल सार्वजनिक स्थानमा भएका केबुल, इन्टरनेटलगायतमा प्रयोग गरिएका तारहरुलाई व्यवस्थित तथा भूमिगत बनाउन लागेको हो ।

प्राधिकरणले हालै यसको लागि अध्ययन गराउन परामर्शदाताहरुसँग आवेदन माग गरेको छ । विभिन्न सार्वजनिक स्थानहरुमा लत्रिएका, अव्यवस्थितरुपमा रहेका सम्पूर्ण वायरलाइन केबुलहरुलाई भूमिगत गर्ने योजनाअनुसार नै त्यसको प्रयोगमा स्ट्याण्डर्ड बनाउने र त्यसलाई पाइलट प्रोजेक्टको रुपमा लाने तयारी गरेको जानकारी दिएको छ ।

दूरसंचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले प्राधिकरणले दिर्घकालमा सबै केबुलहरुलाई भूमिगतरुपमा लाने योजनाअनुसार काम शुरु गरेको जानकारी दिए ।

‘अहिले भईरहेका तारहरुको बारेमा अध्ययन गरेर त्यसलाई व्यवस्थित बनाउँदै भूमिगत गर्नका लागि बारेमा परामर्शदाता नियुक्त गर्न लागेका हौं, सार्वजनिक स्थानमा तारको प्रयोगका लागि मापदण्डसहितको निर्देशिका बनाउँछौं,’ उनले भने ।

प्राधिकरणले यसको लागि पाइलट प्रोजेक्टको रुपमा काठमाडौंकै कुनै एक स्थानमा काम गर्नेसमेत प्रवक्ता अर्यालले जानकारी दिए । उनकाअनुसार भूमिगत गरिएको तारहरु आवश्यक पर्दा सबैले प्रयोग गर्न सक्नेगरी मिलाईनेछ ।

प्राधिकरणले सार्वजनिक गरेको आव्हान पत्रअनुसार परामर्शदाताले वायरलाइन केबुलको स्ट्याण्डर्ड तथा प्रयोगको तरिकाको बारेमा सुझाव दिने, तारहरु भूमिगत गर्ने विषयमा सम्पूर्ण डिजाइन तथा सुपरिवेक्षण गर्नुपर्नेलगायतका शर्तहरु तोकिएका छन् ।

छनौट हुने परामर्शदाताले पाइलट प्रोजेक्ट समेत डिजाइन गर्नुपर्नेछ । त्यसैगरी मेट्रो शहरहरुमा हुने स्ट्याण्डर्ड, राजमार्गमा प्रयोगमा आउने केबुलहरुको लागि मापदण्ड, आईसीटी पूर्वाधारका लागि आवश्यक हुने विभिन्न किसिमका तारहरुको मापदण्ड, अहिले भएका बाहिरी तारहरुको रणनीतिक व्यवस्थापन र दिर्घकालिन भूमिगत तारको लागि आवश्यक रणनीति समेत तयार पार्नुपर्ने हुन्छ ।

सोही सुझाव तथा अध्ययनको आधारमा प्राधिकरणले केबुल तारहरुको सार्वजनिक प्रयोगका लागि मापदण्डसहितको निर्देशिका जारी गर्नेछ ।

प्राधिकरणले यो योजनाकाका लागि चालु आर्थिक वर्ष २०७४/७५ मा १ करोड रुपैयाँ छुट्याएको अर्यालले जानकारी दिए ।


क्लिकमान्डु