काठमाडौंका सडकः ३ बर्षमा पनि बनेन २ किलोमिटर बाटो




काठमाडौं । द्रुत विकासको सपना पालेर बसेका नेपालीको लागि निरासाजनक समाचार छ । देशका प्रधानमन्त्री, मन्त्रीदेखि योजनाविदसम्म मात्र होइन क्षेत्रीय र अन्तराष्ट्रिय सम्मेलन गर्ने स्थानसम्म जाने राजधानीकै करिब २ किलोमिटर बाटो निर्माण सुरु गरिएको ३ बर्षसम्म पनि बन्न सकेको छैन ।

यहाँ उदाहरण दिन खोजिएको काठमाडौंको त्रिपुरेश्वर–सोल्टीमोड सडकखण्डको हो । यसअघिको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देखि लगानी सम्मेलनसम्म मात्र होइन, भूकम्प पछिको पुननिर्माणका लागि भएको अन्तराष्ट्रिय दातृ सम्मेलनसम्मको नेपालले उच्च महत्व दिएका सम्मेलनहरु सोल्टी होटलमा आयोजना भएका थिए ।

नेपालले अन्तराष्ट्रिय महत्वका सम्मेलनहरु आयोजना गर्ने स्थानसम्म जाने २ किलोमिटर बाटो त ३ बर्षमा बनाउन सकेन भने अरु सडकको हालत कस्तो होला भनेर भनिरहनु नपर्ला । यो सडकसँगै उपत्यकामा बन्दै गरेका १० सकड आयोजनाको यस्तै कन्तविजोग छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विगत ३ बर्षदेखि उपत्यकाका सडकलाई चौडा र व्यवस्थित गर्ने काम गरिरहेको छ । सडक विस्तारको काम ढिला तथा सुस्त गतिमा भईरहेको छ । राजधानी काठमाडौंका १० वटा सडकमध्ये २ वटा सडक बनाउन ३ बर्षदेखि सुरु गरिएको थियो ।

त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक निर्माण कार्यका लागि २०७२ असार ३१ ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । सो सडकखण्डको साढे १२ किलोमिटर सडक निर्माण कार्यका लागि ४६ प्रतिशत रकम खर्च गरिसकेको छ भने ३३ प्रतिशतमात्र काम सम्पन्न भएको आयोजनाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सो सडक आयोजनाको ठेक्का १ अर्ब ६० करोड १७ लाख रुपैयाँमा लगाइएकोमा हालसम्म ७६ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।

ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतासँगै लागतको १० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नु पर्ने भएकाले कामभन्दा खर्च धेरै देखिन गएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दिपक केसीले जानकारी दिए ।

यस्तै, चाबहिल–जोरपाटी–बागमती–साँखु सडक निर्माणका लागि २०७२ असोज १३ गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । ३ बर्षमा सो सडक खण्ड जम्मा १८ प्रतिशतमात्र निर्माण भएको छ भने २९ प्रतिशत रकम खर्च भईसकेको छ ।

सो सडक आयोजनाको लागि १ अर्ब ७० करोड १ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म ५४ करोड २४ लाख रुपैयाँ खर्च भएको आयोजनाले जानकारी दिएको छ ।

सिमाङ्कन तथा मुआब्जा विवाद, अदालतको स्टे अर्डर र विजुली तथा टेलिफोनका पोल नहटेका कारण काम अघि बढ्न नसकेको आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ बताउँछन् ।

लगनखेल–सातदोबाटो सडकखण्डको ८ सय मिटर सडक निर्माणका लागि २०७३ जेष्ठ २६ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडक निर्माण गर्न लागिएको २ बर्ष पुग्न लाग्दा भौतिक प्रगति ३० प्रतिशत भएको छ भने ३४ प्रतिशत रकम खर्च भईसकेको छ ।

सो आयोजना ६४ करोड ९८ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म २२ करोड २८ लाख रुपैयाँ खर्च भएको छ ।

इमाडोल–सिद्धिपूर–गोदावरी खोला–लुभु–लामाटार सडक निर्माणका लागि २०७३ जेष्ठ २६ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडकमा २३ प्रतिशत निर्माण कार्य सम्पन्न हुँदा २७ प्रतिशत रकम खर्च भईसकेको छ ।

सो आयोजना ८९ करोड ६५ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म २० करोड ४५ लाख रुपैयाँ खर्च भएको छ ।

ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङ्गाउँ–लेले–तिलेश्वरहुँदै सरस्वतीकुण्ड सडक २०७३ जेष्ठ २५ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडकको ५ प्रतिशत भौतिक कार्य हुँदा ९ प्रतिशत रकम खर्च भईसकेको छ ।

सो सडक आयोजना १ अर्ब ३२ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म १२ करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सो सडकको सुरु चेनेजमा १७.२० मिटर चौडाईमा सडक निर्माण भएको छ । हालको २० मिटरको सट्टा पुरानै मापदण्डमा सडक निर्माण गर्नुपर्ने भन्दै स्थानीयले अवरोध गरेका कारण लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकिएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

कर्मनासाखोला–हरिसिद्धी–गोदावरीकुण्ड सडक विस्तारका लागि २०७३ असार ३ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडकमा ११ प्रतिशत रकम खर्च हुँदा साढे २ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ ।

सो सडक आयोजनाको लागि ६७ करोड १६ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म ७ करोड ३१ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सो सडक विसतार आयोजनामा सर्वोच्चको स्टे अर्डर, मुआब्जा र स्थानीयको अवरोधका कारण सडक विस्तार ढिला हुनु पुगेको आयोजनाको भनाई छ ।

जोरपाटी–सुन्दरीजल सडक खण्डमा १७ प्रतिशत खर्च हुँदा पनि भौतिक प्रगति शुन्य अवस्थामा छ । सिमाङ्कन विवाद र स्थानीयबाट संगठित रुपमा अवरोध सिर्जना भएका कारण काम अगाडि बढ्न नसकेको आयोजनाको प्रमुख केसी बताउँछन् ।

सो आयोजना ५४ करोड ७८ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म ४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।

नख्खुखोला–भैंसेपाटी–बुङ्मति सडक आयोजना २०७३ असार ३० गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडकमा साढे ७ प्रतिशत काम सम्पन्न भएको छ भने १५ प्रतिशत रकम खर्च भइसकेको आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।

सो आयोजना ५२ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म ८ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।

सो आयोजनामा सडक छेउका विद्युत तथा टेलिफोनका पोल नहटाइएका र केही स्थानमा बनको रुख काट्न नसकिएकाले काममा ढिलाई भएको आयोजनाले जनाएको छ ।

चक्रपथ–ज्ञानज्योति गणेश–विद्धतमार्ग सडक आयोजना २०७३ असार २८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडकमा भने खर्चभन्दा भौतिक प्रगति धेरै भएको देखिएको छ । सडकमा ४५ प्रतिशत निर्माण कार्य सम्पन्न हुँदा ३९ प्रतिशत रकम खर्च भएको छ ।

सो आयोजनाको निर्माणको लागि ४ करोड ४१ लाख रुपैयाँमा ठेक्का लागेकोमा हालसम्म १ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ ।

पेप्सीकोला सल्लाघारी सडक २०७३ असार ३० गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । सो सडक विस्तारमा ९ प्रतिशत रकम खर्च भईसकेको छ भने निर्माण कार्य शुन्य अवस्थामा छ । सो सडक निर्माणको ठेक्का यसै बर्षबाट सुरु भएकाले निर्माण कार्य सुरु नभएको आयोजनाको भनाई छ ।

सो आयोजनाको ठेक्का ४९ करोड ९७ लाख रुपैयाँमा लागेको छ भने निर्माण कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ सरकारसँग लिइसकेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनको कामभन्दा खर्च धेरै देखिएको छ । काठमाडौंका १० सडक विस्तारको काम १६ प्रतिशत सम्पन्न हुँदा खर्चभने २२ प्रतिशत भईसकेको छ ।

ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतासँगै लागतको १० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नु पर्ने भएकाले कामभन्दा खर्च धेरै देखिन गएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दिपक केसीले जानकारी दिए ।

‘ठेकेदारलाई पैसाको अभावले काम नरोकियोस् भनेर १० प्रतिशत रकम अग्रिम दिइने गरिएको हो, बाँकी रकम कामको प्रगतिको आधारमा दिने गरिएको छ,’ केसीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु