कमोडिटीज एक्सचेन्जलाई सेबोनको चेतावनी, अनुमतिबिना कारोबार गरे जेल



काठमाडौं । संचालनमा रहेका कमोडिटीज एक्सचेन्जले अब कुनैपनि कारोबार गर्न नपाउने भएका छन् । गत शुक्रबारदेखि ऐन कार्यान्वयनमा आएको र नियमावली लागु भएको हुँदा अहिले संचालनमा रहेका एक्सचेन्जले कुनैपनि कारोबार गर्न नपाउने भएका छन् ।

अर्थमन्त्रालयले जारी गरेको आर्थिक सर्वेक्षणमा तीनवटा कमोडिटीज एक्सचेन्ज संचालनमा रहेको देखाएको थियो ।

धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रेवतबहादुर कार्कीले कानून कार्यान्वयनमा व्यवहारिकता भने हेरिने बताए ।

कानून कार्यान्वयनमा आएपछि संचालनमा रहेका सबै एक्सचेन्ज र ब्रोक्रर गैर कानूनी भएका छन् । कानूनमा पहिले कमोडिटीज एक्सचेन्ज संचालनमा रहेको केही स्वीकार गरेको छैन । जसले संचालनमा रहेका एक्सचेन्जले लाइसेन्स लिनको लागि आवेदन दिनुपर्छ ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले ऐन कार्यान्वयन भएको दिनदेखि एक्सचेन्जहरुले कुनैपनि खालको कारोबार गर्न नपाउने बताए ।

‘ऐनले अहिले भएका कमोडिटीज एक्सचेन्जलाई चिन्दैन’,उनले भने,‘एक्सचेन्जले ऐन कार्यान्वयन हुनुभन्दा अगाडि करार ऐन अनुसार वस्तुहरुको सम्झौता गरेपनि अब भने कारोबार गर्न पाइदैन।’

बोर्डले संचालनमा रहेको कमोडिटीज एक्सचेन्जलाई कुनैपनि खालको कारोबार नगर्नको लागि सचेत गराउन सार्वजनिक सूचना पनि जारी गर्ने भएको छ । कानून निर्माण हुनुभन्दा अगाडि संचालनमा रहेका एक्सचेन्जहरुको हकमा केही पनि नभनेको हुँदा सबै एक्सचेन्जले तोकिएको प्रक्रिया पुरा गरेर संचालनको लागि अनुमति लिनुपर्छ ।

धितोपत्र बोर्डले ऐन अनुसार एक्सचेन्जको लागि न्यूनतम चुक्ता पुँजी ५० करोड तोकेको छ । यस्तै वेयर हाउसको लागि १५ करोड,राफसाफ तथा फस्र्योट व्यवसायको लागि ७ करोड,लगानी व्यवस्थापकको लागि ५ करोड,लगानी परामर्शदाताको लागि १ करोड तथा बोक्ररको लागि ५० लाख तोकिएको छ ।

नियमावलीले कुनैपनि व्यक्तिले चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर राख्न नहुने व्यवस्था गरेको छ । संस्थापक सेयर लिएपछि ३ वर्षसम्म सेयर बिक्री गर्न पाइने छैन । विदेशी लगानीकर्ताको हकमा विदेशी कमोडिटीज एक्सचेन्जले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन् ।

बोर्डले कमोडिटीज एक्सचेन्ज मार्फत कृषि जन्य उत्पादनमा कपास, अलैची, जिरा, खुर्सानी, मरीच, काजु, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुलतथा सोबाट निर्मित जुसको कारोबार हुन्छ ।

यस्तै धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंकको कारोबार हुन्छ ।

बहुमुल्य धातुमा सुन, चाँदी, प्लाटिनम तथा खनिजमा कच्चा तेल, पेट्रोलियनपदार्थ, प्राकृतिकग्यास, हिटिड्ड आयलको कारोबार हुने छ ।

तेलमा नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल तथा अन्य वस्तुमा चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटीको कारोबार हुने छ ।


क्लिकमान्डु