नेपाल पुनर्बीमा कम्पनीले कम्तिमा डेढ अर्बको आइपिओ जारी गर्ने




काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सर्बसाधारणलाई सेयर दिने भएको छ । कम्पनीले सर्बसाधारणलाई सेयर दिनको लागि प्रक्रिया अगाडि बढाएको हो ।

विश्वब्यापी रुपमा सर्बसाधारणको सहभागितामा पुनर्बीमा कम्पनी संचालन गर्ने परिपाटी विकास भएकोले नेपाल पुनर्बीमाले पनि सोही रणनीति बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए ।

‘अन्य देशका पुनर्बीमा कम्पनीहरु पनि सर्बसाधारणको सहभागिता गराउने गरी अगाडि बढिरहेका छन्, हामी पनि सर्बसाधारणलाई सहभागी गराउने गरी सेयर निस्कासन गर्ने तयारीमा छौं,’ प्रमुख कार्यकारी अधिकृत भण्डारीले क्लिकमाण्डूसँग भने ।

यस्तो सेयर कसरी निस्कासन गर्ने र कति परिमाणको निस्कासन गर्ने भन्ने तय भने भइसकेको छैन । धितोपत्र बोर्डले १० प्रतिशतदेखि ४९ प्रतिशतसम्म सेयर निस्कासन गर्न पाउने ब्यवस्था गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ बनाइएको छ । सो चुक्ता पुँजीको कम्तिमा १० प्रतिशत मात्रै सेयर सर्बसाधारणलाई दिदा पनि डेढ अर्बको सेयर निस्कासन गर्नुपर्ने हुन्छ ।

कम्पनीमा नेपाल सरकारको ४३.५५ प्रतिशत, निर्जीबन बीमा कम्पनीहरुको ३८.९ प्रतिशत र १८.३८ प्रतिशत सेयर जीबन बीमा कम्पनी र सार्वजनिक संस्थाहरुको छ । यस्तो सेयर संरचनामा पुँजी बढाएर सेयर ब्यवस्थापन गरी सर्बसाधारणलाई पनि दिइने भण्डारीको भनाइ छ ।

‘सर्बसाधारणलाई यो कम्पनीको सेयर दिन हामीले प्रक्रिया अगाडि बढाइ रहेकाछौं, कसको सेयर घटाउने, कसको बढाउने, चुक्ता पुँजी कति बनाउने भन्ने जस्ता कुराको ब्यवस्थापन गरेर सर्बसाधारणलाई सेयर दिन सकिन्छ,’ उनले भने ।

नियामक निकाय बीमा समिति, नेपाल सरकार, कम्पनीको संचालक समिति र साधारणसभाले दिएको निर्देशनका आधारमा सेयर निस्कासनको मोडालिटी बन्ने भण्डारीले बताए ।

सर्बसाधारणलाई सेयर दिदा सरकार, निर्जीबन बीमा कम्पनी, जीबन बीमा कम्पनी र सार्बजनिक संस्थाहरुको सेयर स्वामित्व घट्न सक्ने उनले संकेत गरे ।

‘अहिलेका सेयरधनीको स्वामित्व अनुपात केही घट्छ होला, त्यसरी घटेको स्वामित्वबाट सर्बसाधारणलाई सेयर दिइन्छ,’ उनको भनाइ छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब भएपनि पहिलो बार्षिक साधारणसभाबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको छ । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ पुर्याँउदा कसको स्वामित्व कति राख्दा उचित होला भनेर प्रक्रिया अगाडि बढाइको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु