ओखलढुंगामा रामहरिले जित्लान् कि यज्ञराजले ?




काठमाडौं । राजनीतिक उपभोगका लागि गरिने राजनीतिक बिचारधारा, बाद वा दर्शनको भाषणबाजी अबको निर्वाचनमा त्यति प्रभावकारी नहुन सक्छ । किनभने २०६३ को राजनीतिक परिवर्तन जुन उद्देश्यका लागि भएको थियो, ती अधिकांश विषयबस्तुहरु प्राप्त भइसकेका छन् । अब संबिधान कार्यान्वयन गरेर ती विषयहरुलाई संस्थागत गर्न मात्रै बाँकी छ ।

अबको निर्वाचनका प्रत्यासीसँग जनताले विकासका योजना र कार्यक्रम माग्न सक्छन् । विकास र सम्बृद्धि अबको राजनीतिक मुद्दा बन्न सक्छ ।

आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा ओखलढुंगा चर्चाको केन्द्रमा छ । प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र भएको ओखलढुंगामा नेपाली काँग्रेसबाट रामहरि खतिवडा र एमालेबाट यज्ञराज सुनुवार चुनाबी प्रतिस्पर्धामा छन् ।

रामहरि र यज्ञराज दुबै जना चर्चित युवा नेता हुन् । यी दुबै जना कुनै समय आआफ्नो पार्टीको नेतृत्व सम्हाल्न सक्ने सम्भावना भएका नेता हुन् ।

राजनीतिक हाइट
दुबै नेताको राजनीतिक हाइट करिब बराबर छ । रामहरि काँग्रेस केन्द्रीय सदस्यमा थोरै मतान्तरले पराजित भएका थिए । यज्ञराज एमालेको  केन्द्रीय सदस्य हुन् ।

गत संबिधानसभा निर्वाचनमा रामहरि ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने यज्ञराज सोही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट बिजयी भए । रामहरिले निकटतम प्रतिस्पर्धीभन्दा करिब ५ हजार बढी मत ल्याएका थिए । यज्ञराजले निकटतम प्रतिस्पर्धीभन्दा करिब ३ हजार बढी मत ल्याएका थिए ।

सदर मतको प्रतिशतका आधारमा हेर्दा दुबै जनाको अबस्था करिब उस्तै छ । रामहरिले सदर मतको ३४ प्रतिशत मत पाएका थिए भने यज्ञराजले ३२.६३ प्रतिशत । यसको अर्थ यी दुबै जना आआफ्नो निर्वाचन क्षेत्रमा करिब उस्तै लोकप्रिय थिए ।

संसदमा उपस्थिति
गत ब्यवस्थापिका संसदमा उपस्थिति र भूमिका निर्वाहका आधारमा पनि दुबै जनाको अबस्था करिब उस्तै रह्यो । ओखलढुंगाको विकास निर्माणदेखि जनजिविकाका सबालमा दुबै सांसद उस्तै सक्रिय देखिए । संबिधान निर्माणमा दुबैको उपस्थिति उस्तै जब्बर रह्यो ।

आफ्नो जितप्रति यस्तो छ धारणा
चुनाबी प्रतिस्पर्धामा उत्रिएको प्रत्यासीले आफू हार्छु भन्दैन । रामहरि र यज्ञराजले पनि आफूले हार्ने अपेक्षा गरेका छैनन् ।

आफ्नो चुनाबी माहौल असाध्यै राम्रो भएको रामहरि बताउँछन् । आफ्नो निर्वाचन क्षेत्रमा बाम तालमेलको कुनै असर नदेखिएको उनको भनाइ छ । आफूले जनताको काम गरेकाले आफैले चुनाब जित्ने उनको दाबी छ । आफू गएको ठाँउमा एमाले र माओबादी हुदै नभएको जस्तो देखिएको उनले बताए ।

यज्ञराज पनि यसै भन्छन् । चुनाबी माहोल असाध्यै राम्रो भएको र बाम तालमेलले जनतामा ब्यापक उत्साह थपेको उनको दाबी छ । उनी इतिहासमै सबैभन्दा बढी मतान्तरले काँग्रेसलाई हराउने लक्षण देखिएको दाबी गर्छन् । आफ्नो कार्यकालमा जनप्रतिनिधिको वा ओखलढुंगे जनताको इज्जत र प्रतिस्ठामा दाग लाग्ने वा ओखलढुंगे जनताले हिनताबोध गर्नुपर्ने कुनै काम नगरेकोले पनि आफ्नो लोकप्रियता अझ बढेको यज्ञराज बताउँछन् ।

के गरे सांसद भएर ?
पहिला रामहरिको कुरा सुनौं ।

‘पहिलो पटक सांसदमा निर्वाचित भएपछिको साढे ३ बर्षे कार्यकालमा म ११३ पटक ओखलढुंगा जाने र आउने काम गरें । म नपुगेको कुनै गाँउ नै छैन । एउटै गाँउमा ६÷७ पटकसम्म पुगेँ । जनतालाई जनप्रतिनिधि भएको अनुभूति दिएँ ।

यतिमात्रै होइन, लिखू, दुधकोसी र मोलुङ करिडोरका सडक निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेँ । साँघुटार घोराखोरी हुँदै ओखलढुंगासम्म जाने सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु गरियो । नबलपुर, कोसहाट ककनी सडकमा २५ करोड रुपैयाँ बजेटमा सडक निर्माण हुँदैछ । ९ करोड रुपैयाँमा सुनकोसीमा पुल निर्माण भइरहेको छ ।

विगतको तथ्यांकको आधारमा मात्रै यसले चुनाब जित्छ भन्न सकिँदैन । किनभने २०६४ को पहिलो संबिधानसभा निर्वाचन अगाडि ओखलढुंगामा माओबादी थिएन । तर, २०६४ को संबिधानसभा निर्वाचनमा दुबै क्षेत्र माओबादीले जित्यो । फेरि २०७० को संबिधानसभा निर्वाचनमा माओबादीले ओखलढुंगामा जम्मा ६ हजार ५९९ मत मात्रै पायो ।

यो जिल्ला भूकम्प प्रभावित हो । भूकम्पपछिको पुननिर्माणमा सक्रिय छु । सरकारले दिने राहत रकम मेरो आफ्नै तलबभत्तामा पीडितलाई घरमै पुर्याउने काम गरेँ । एकिकृत सेवा केन्द्र स्थापना गरेर गाउमै पासपोर्ट, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा जस्ता आधारभूत सेवा दिने काम गरेँ । अपांगता भएका ब्यक्तिहरुलाई घरमै गएर परिचयपत्र दिने ब्यवस्था मिलाएँ । यो मेरो आधार हो, यसैकारण मैले चुनाब जित्छु ।’

यज्ञराजले पनि यस्तै जनप्रिय काम गरेछन् । उनको कुरा पनि सुनौं ।

‘रुम्जाटार एयरपोर्ट संचालनमा आएको ५० बर्ष विते पनि कालोपत्रे भएको थिएन । मैले पहल गरेर कालोपत्रे गराएँ । ३० बर्ष अगाडि फाइल उठेर दुर्गम खिजी फलाँटेमा इलाका कार्यालय राख्ने भनिए पनि कार्यान्वयन भएको थिएन । मैले इलाका कार्यालय मात्रै होइन, नापी, मालपोत कार्यालयहरु पनि स्थापना गराएँ । मोलुङ, लिखु र दुधकोसी करिडोरका मोटरबाटोहरु निर्माण सुरु गराएँ ।

ओखलढुंगा रामपूर हुदै श्रीचौर जोड्ने मोटरबाटो निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । नेपाली काँग्रेसले १५ बर्ष जित्दा पनि सुनकोसीमा पुल बनेको थिएन । म निर्वाचित भएको १ बर्षभित्रमै पुल निर्माण सम्पन्न भएर संचालनमा आयो । यस्तै धेरै काम भएका छन् । जनताले यो कुरा बुझेका छन् । त्यसैले मैले चुनाब जित्छु ।’

चुनाब जिते भने के गर्ने रहेछन् ?

यसको जवाफ पहिला यज्ञराजबाट सुनौं ।

‘अहिले संचालनमा रहेका दुधकोशी, मोलुङ र लिखु करिडोरका सडक निर्माणलाई अन्तिम रुप दिनेछु । मोलुङ, लिखु र दुधकोशीबाट जलविद्युत उत्पादन गरेर ठूला परियोजना संचालनको पहल गर्नेछु । ३ बर्षभित्रमा ओखलढुंगा जिल्लालाई लोडसेडिङमुक्त बनाउने र सबै ठाउँमा बिजुली पुर्याउने छु । जलविद्युतको उत्पादनबाट ओखलढुंगा जिल्लालाई आर्थिक रुपमा सम्पन्न जिल्ला बनाउने छु ।

यस्तै ओखलढुंगामा पर्यटकीय स्थानहरु धेरै छन् । त्यस्ता ठाँउहरुको प्रचार प्रसार गरेर पर्यटनको बिकास गर्छु । यो जिल्लामा धेरै प्रकारका जडिबुटीहरु पाइन्छन् । तिनीहरुको अधिकतम सदुपयोग गर्ने कार्यक्रम संचालन गर्छु । सम्बृद्ध ओखलढुंगा र सुखी ओखलढुंगाबासी बनाउने मेरो योजना छ ।’

अब रामहरिका योजना सुनौं ।

‘लिखु ४ जलविद्युत योजना सुरु हुदैछ । दुधकोशीबाट विद्युत उत्पादन गरेर उज्यालो ओखलढुंगा बनाउनको लागि १ अर्ब ४३ करोड रुपैयाँ बजेट छुट्टिएको छ । त्यसलाई उच्च महत्वका साथ अगाडि बढाँउछु । दुधकोशी करिडोरको बाटो सोलूसम्म जोड्छु । मोलुङ करिडोरको बाटो माथिसम्म लान्छु । लिखु करिडोरको बाटो सिरिसेसम्म पुर्याउछु । सिरिसेको पुल चाढै निर्माण सक्न पहल गर्नेछु ।

जनताका आधारभूत सेवा जनताले आफ्नै ठाउँमा पाउने गरी ब्यवस्था मिलाउछु । कृषिको आधुनिकीकरण गरी युवालाई बिदेश जाने क्रम रोक्न पहल गर्छु ।’

तथ्यांकले के भन्छ ?

ओखलढुंगा जिल्लाको हकमा दुइटा निर्वाचनको तथ्यांकलाई हेरेर विश्लेषण गर्न पाइने सुबिधा छ । २०७० को संबिधानसभा निर्वाचनमा २ निर्वाचन क्षेत्र रहेको सो जिल्लामा प्रतिनिधिसभा निर्वाचनको लागि एउटा मात्रै क्षेत्र छ । त्यसकारण सो निर्वाचनको तथ्यांक अहिलेको लागि पनि उपयोगी हुन सक्छ । यस्तै २०७४ को स्थानीय तह निर्वाचनको तथ्यांकका आधारमा पनि विश्लेषण गर्न सकिन्छ ।

यी दुबै निर्वाचनको तथ्यांक हेर्दा लोकतान्त्रिक गठबन्धका रामहरि र बाम गठबन्धका यज्ञराजको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

गत संबिधानसभा निर्वाचनमा एमालेले क्षेत्र नम्बर १ बाट १२ हजार ९४३ र क्षेत्र नम्बर २ बाट ८ हजार ५१० गरी २१ हजार ४५३ मत पाएको थियो । माओबादीले दुबै क्षेत्रबाट गरी ६ हजार ५९९ मत पाएको थियो । एमाले र माओबादी दुबैको मत जोड्दा २८ हजार ५२ मत हुन्छ ।

एमाले र माओबादीको मत जोड्दा पनि काँग्रेस धेरै पछाडि छैन । काँग्रेसले क्षेत्र नम्बर १ बाट ९ हजार ९४३ र क्षेत्र नम्बर २ बाट १३ हजार ९०४ मत पाएको थियो । दुबै क्षेत्रबाट गरी काँग्रेसको मत २३ हजार ८४७ मत थियो ।

२०७० को संबिधासभा निर्वाचनको तथ्यांक हेर्दा बाम गठबन्धनभन्दा काँग्रेस गठबन्धन करिब ४२ सय मतले अगाडि छ ।

गत स्थानीय तह निर्वाचनको तथ्यांक पनि हेरौं । स्थानीय तह निर्वाचनमा काँग्रेस एक्लैको मत २६ हजार १०५ थियो भने एमाले र माओबादीको गरी ३४ हजार १३१ मत थियो । यो तथ्यांकको आधारमा बाम गठबन्धन काँग्रेसभन्दा करिब ८ हजार मतले अगाडि छ ।

तर, विगतको तथ्यांकको आधारमा मात्रै यसले चुनाब जित्छ भन्न सकिँदैन । किनभने २०६४ को पहिलो संबिधानसभा निर्वाचन अगाडि ओखलढुंगामा माओबादी थिएन । तर, २०६४ को संबिधानसभा निर्वाचनमा दुबै क्षेत्र माओबादीले जित्यो । फेरि २०७० को संबिधानसभा निर्वाचनमा माओबादीले ओखलढुंगामा जम्मा ६ हजार ५९९ मत मात्रै पायो ।

त्यसकारण काँग्रेसबाट उम्मेदबार बनेका रामहरि र एमालेबाट उम्मेदबार बनेका यज्ञराज दुबै उस्तै प्रतिस्पर्धि छन् । सानो मतान्तरले मात्रै जित हार हुन सक्ने देखिन्छ ।


क्लिकमान्डु