अटो क्षेत्रमा जागिर खाने हो ? यस्ता छन् सम्भावनाहरु




काठमाडौं । अटोमोबाइलको नेपाली बजार विस्तार भएसँगै यो क्षेत्रमा रोजगारीको सम्भावना पनि विस्तार हुँदै गएको छ ।

नेपालमा विशेष गरी व्यवस्थापन विषयमा अध्ययन गरेका युवायुवतीको ठूलो समूह बैंकपछि अटोमोबाइलका शोरुम तथा कर्पोरेट हाउसलाई रोजगारीको गन्तव्यका रूपमा लिने गरेका छन् ।

अटो व्यवसाय धेरैजसो नाम चलेका कर्पोरेट हाउसहरूले गर्ने भएकाले पनि आकर्षक तलब र सुविधा पाइने भएकाले हिजोआज धेरै युवा युवतीले गाडी विक्रेता कम्पनीहरूमा रोजगारीका लागि धाउने गरेका छन् ।

नेपालमा विश्वबजारमा नाम चलेका कार तथा मोटरसाइकलदेखि ठूला बस, ट्रक तथा हेवीइक्कुपमेन्टहरूको बिक्रीवितरण हुँदै आएको छ ।

गाडी कम्पनीहरूले पछिल्लो समयमा थ्रीएस सेवा (सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स एकै ठाउँबाट) दिइरहेका छन्, जसका कारण एउटै कम्पनीले सयौंको संख्यामा रोजगारी दिइरहेका छन् ।

नेपालमा शोरुम र कर्पोरेट हाउसहरूमा रहेर रोजगारी प्राप्त गर्ने युवायुवतीहरू मात्र ५० हजारभन्दा बढी रहेको अनुमान छ । त्यसका साथै सयौंको संख्यामा अटोमाबाइल्स इन्जिनियरका साथै प्राविधिकहरूले पनि अटोमोबाइल क्षेत्रमा रोजगारी पाइरहेका छन् ।

नेपालमा हाल विभिन्न १५ ब्रान्डका चारपांग्रे गाडी तथा १२ ब्रान्डका दुईपांग्रे सवारी बिक्री–वितरण भइरहेका छन् । सयौं सर्भिस सेन्टर भने हजारौ वर्कसपहरु रहेका छन् । त्यतिनै संख्यामा स्पेयर्स पार्ट्स बिक्रेताहरु छन् ।

धेरैजसो कम्पनीले प्रत्येक जिल्लामा थ्रिएस सेवामार्फत उभोक्तालाई सुविधा दिइरहेका छन्, त्यसमा हजारौंको संख्यामा रोजगारी सिर्जना भएको छ । दक्ष र प्राविधिकले मात्र नभएर अदक्ष जनशक्तिको ठूलो हिस्सा अटोमोबाइल क्षेत्रमा रोजगार बनेका छन् ।

त्यसैगरी सहरका पाइलैपिच्छे रहेका वर्कसपले पनि त्यत्तिकै संख्यामा स्वरोजगारी समेत सिर्जना गरिरहेका छन् ।

‘नेपालमा एउटा ट्रक खरिद हँुदा प्रत्यक्ष ५ जनाले रोजगारी पाइरहेका छन्, त्यसका अतिरिक्त अप्रत्यक्ष धेरै छन्,’ नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का कार्यालय सचिव सुरेन्द्र प्रधानले भने ।

अटोमोबाइल्स क्षेत्रमा गरिएको एक अध्ययनले देशभर प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ लाख मानिसले रोजगारी पाएको देखाएको छ, जसमा प्रत्यक्ष रोजगारी मात्रै झन्डै ७ लाखले पाएको दाबी प्रधानको छ ।

अटोमोबाइल कम्पनीको बिक्री शाखामा काम गर्ने व्यक्तिले सुरुवातमा मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म कमाइ गर्न सक्छन् । त्यस्तै लेखा, प्रशासन, सर्भिसलगायत विभागका कर्मचारीको कमाइ पनि उस्तै हुने गर्छ । त्यसपछि आफ्नो दक्षताका आधारमा कमाइ बढ्दै जाने सम्बन्धित व्यवसायीहरू बताउँछन् ।

सर्भिस सेन्टरहरूमा भने अनुभवको पनि आवश्यकता पर्छ । तर, प्राविधिक क्षेत्र इन्जिनियर, ओभरसियरहरूको कमाइ भने केही बढी हुने गर्छ । कर्मचारीको विभाग र जिम्मेवारी अनुसार शैक्षिक योग्यता भने न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने सम्बन्धित कम्पनीहरू बताउँछन् ।

अहिले नेपालमा विश्वबजारमा उपलब्ध हरेकजसो ब्रान्डका आधिकारिक विक्रेता तथा शोरुम स्थापना भएका छन् । अहिले नेपालमा अटोमोबाइलसँग सम्बन्धित व्यवसाय गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको संख्या करिब ५० छ ।

सामान्यतः अटो विक्रेता कम्पनीहरूमा सेल्सपर्सन, लेखा, मानव संसाधन, प्राविधिकलगायत क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता पर्छ । अहिले नेपालमा विश्वबजारमा उपलब्ध हरेक ब्रान्डका सवारी साधन उपलब्ध हुन थालिसकेका छन् । हरेकजसो साता नयाँ मोडलका सवारी साधन भित्र्याउन अटो विक्रेताहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

बढ्दो प्रतिस्पर्धामा आफ्नो उत्पादनलाई ग्राहकसमक्ष पु¥याउन कम्पनीहरू सधैं दक्ष जनशक्तिको खोजीमा रहेका हुन्छन् । सोही कारण पनि नेपालमा रहेका अटो विक्रेता कम्पनीहरूले हरेक महिना जस्तो नयाँ कर्मचारी माग गर्ने गरेका छन् ।

मेरो जब डटकममा आएको मागलाई आधार मान्दा अटोक्षेत्रमा लेखा तथा प्राविधिकहरूको माग अत्यधिक हुने गर्छ । यो क्षेत्रमा ग्ल्यामर तथा कमाइ पनि रहेकाले रोजगारीको आकर्षण बढ्न थालेको व्यवसायी बताउँछन् ।

अटो बिक्रेताहरूले सबैभन्दा बढी बजार प्रवद्र्धन तथा विक्री विभागमा कर्मचारी माग गर्ने गरेका छन् । अहिले अटोक्षेत्रको बजार बढेको समयमा रोजागरीको सम्भावना पनि अत्यधिक छ ।

मध्यम तथा उच्चवर्गका ग्राहकसँग साक्षात्कार हुनुपर्ने यो पेसामा शैक्षिक योग्यता तथा आकर्षक व्यक्तित्व अनिवार्य शर्त हुन् । अंग्रेजी भाषामा दक्षता तथा सम्बन्धित विषयमा ज्ञान पनि न्यूनतम मापदण्ड हुन् ।

यी हुन् ठूला रोजगारदाता

रोजगारी दिने कम्पनीहरूमा विशेष गरी टाटा मोटर्सको नेपालका लागि अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ कन्र्सन, सुजुकी मोटर्सको अधिकृत विक्रेता सिजि मोटर्स कर्व, हुन्डाई गाडीको नेपाल अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, होन्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कन्र्सन, हिरो मोटरसाइकलको अधिकृत विक्रेता जनरल मोटर्स प्रालि, त्यस्तैगरी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हन्सराज एन्ड हुलासचन्द प्रालिले लगायत फोर्ड, फक्सवागेन, टयोटा, निशान, यामाहा, स्कोडालगायतका गाडी कम्पनीका विक्रेताहरू छन् ।


क्लिकमान्डु