बाहिरी चक्रपथः ८ हजार रोपनी जग्गाको किनबेच बन्द हुँदै



काठमाडौं । विगत १३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको छ । बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई गति दिन जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकारी छनोट गरिएको छ ।

शहरी विकास मन्त्रालयले जेष्ठ गत आइतबार बाहिरी चक्रपथ निर्माण आयोजनाका शाखा अधिकृत धुब्र सापकोटालाई जग्गा प्राप्तिका लागि प्रारम्भिक अधिकारीको रुपमा नियुक्त गरेको हो ।

प्रारम्भिक अधिकारी सापकोटाका अनुसार यही शुक्रबारभित्र जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिने छ ।

‘जग्गा प्राप्तिका लागि शुक्रबार भित्र सार्वजनिक सूचना जारी गरिने छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा जग्गा धनीले दाबी विरोध गर्न सक्नेछन्,’ सापकोटाले क्लिमाण्डूसँग भने ।

 प्रारम्भिक अधिकारीले जग्गा धनीको यकिन विवरण तथा कित्ताको यकिन विवरण संकलन गर्नेछ ।

प्रारम्भिक अधिकारीले संकलन गरेको विवरण मालपोत कार्यालय, नापी कार्यालय तथा नगरपालिकामा पेश गरि आयोजनको नाममा जग्गा ल्याइने सापकोटाले बताए ।

‘ल्याडपुलिङबाट शहर विकास गर्नु पर्ने भएकाले जग्गा आयोजनाको नाममा ल्याउनु परेको हो, सहरका लागि आवश्यक पुर्वाधार निर्माण गरेर पुनः जग्गा स्थानीयलाई हस्तान्तरण गरिनेछ,’ उनले भने ।

सापकोटाका अनुसार आयोजना कार्यान्वयनतर्फ अघि बढिसकेको छ । ल्याडपुलिङ अवधारण अन्तरगत आयोजना निर्माण हुने भएकाले त्यस स्थानमा निर्माण गरिएका व्यक्तिगत संरचना भत्काउनु पर्नेछ, त्यसैले नयाँ संरचना निर्माणमा रोक लगाउनका लागि स्थानीयको जग्गा आयोजनाको नाममा ल्याउनु परेको हो ।

आयोजनाको नाममा स्थानीयको जग्गा आएपछि चक्रपथ आसपासको ८ हजार रोपनी जग्गा किनबेच पनि बन्द हुनेछ ।

काठमाडौं उपत्यकाका भित्री शहर अव्यवसथित भएकाले बाहिरी चक्रपथसँग जोडिने क्षेत्रलाई सुविधा सम्पन्न सहरका रुपमा विकास गरिन लागिएको हो ।

‘उपत्यकाका भित्री शहरमा एउटा घरबाट अर्को घर जानका लागि सुविधा युक्त बाटोको व्यवस्था छैन, नयाँ सहरमा त्यस्तो समस्या नहोस भन्नका लागि स्थानीयको ९ देखि २५ प्रतिशतसम्म जग्गा भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुन्छ,’ साप्कोटाले भने ।

आयोजनाले पाइलट प्रोजेक्टको रुपमा चोभार-सतुंगल खण्डको ६.६ किलोमिटरलाई लिएको छ । सो खण्डका लागि आयोजनाले ८ हजार रोपनी जग्गा अधिकरण गर्दै छ ।

सापकोटाका अनुसार हाल उक्त स्थानमा १४ हजार ७ सय कित्ता जमिन यकिन गरिएको छ । आयोजनाले जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्ति गर्न लागेको सापकोटाले बताए ।

बाहिरी चक्रपथ निर्माण आयोजनाले काठमाडौं उपत्यकामा ७२ किलोमिटर लामो चक्रपथ तथा चक्रपथको दायाँ तथा बायाँ २ सय ५० मिटर क्षेत्रमा सुविधासम्मन्न सहर निर्माण गर्न लागेको हो ।

बाहिरी चक्रपथको ७२ किलोमिटरमध्ये काठमाडौं ३५ किलोमिटर, भक्तपुर २१ किलोमिटर र ललितपुरमा १६ किलोमिटर पर्नेछ ।


पुष्प दुलाल