पोखरेली युवाको महत्वकांक्षी प्रोजेक्टः जहाज उडेन तर सम्पत्ति उड्यो



 

काठमाठौं । पाँच वर्षअघि पोखराका युवा व्यवसायी राजु खत्रीले जहाज चलाउने योजनासहित नमस्ते नेपलीज एअर प्रालि दर्ता गरे ।

नेपाली वायु सेवामा स्थापित कम्पनी समेत प्रतिस्पर्धा गर्न नसकेको समयमा खत्रीले जहाज चलाउने ठूलो जोखिम मोलेका थिए ।

कम्पनी दर्ता गरेपछि उनले तत्कालिन ग्राण्ड बैंकको अगुवाईमा सनराईज तथा तत्कालिन इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सबाट करिब ११ करोड रुपैयाँ ऋण पनि लिए ।

पर्यटन मन्त्रालयले २०६९ सालको साउन २२ गते नमस्तेलाई उडान अनुमति दियो । नागरिक उड्यन प्राधिकरणले ०६९ मंसिर १२ मा वायुसेवा संचालनको अनुमतिपत्र प्रमाणपत्र (एओसी) दियो ।

२०७० सालमा घरजग्गा व्यवसायी शुधीर बस्नेतले चलाउँदै आएको अग्नि एयर पनि नमस्ते एयरले चलाउने सम्झौता भयो ।

अग्नि एयरले लिएको बैंक ऋण नमस्तेले तिर्ने र अग्निको बिमान नमस्तेको लोगोमा चलाउने तथा प्रमुख गन्त्यव्यमा उडान गर्ने तयारी गर्यो ।

आफूले नगद नराखी बैंकबाट ऋण लिएर त्यसैका अधारमा मात्रै व्यवसया गर्न खोज्ने महत्वकांक्षी योजनाका कारण नमस्ते एयर सञ्चालनमा आउन नसकेको र त्यसका सञ्चालकहरु असफल भए ।

हवाई क्षेत्रमा नाम नसुनिएको र व्यवसायिक वृत्तमा पनि खासै चर्चामा नआएका राजु खत्रीले ठूलो जोखिम मोलेका थिए ।

२०७० बैशाखमा नमस्तेले अग्निको जहाज चलाउने सम्झौता गरे पनि उसले त्यो जहाज उडाउँन सकेन । २०७० साउनमा प्राधिकरणले नमस्ते सहित सात वायुसेवा कम्पनीको उडान अनुमति पत्र (एओसी) खारेज गर्यो ।

प्राधिकरणले २०७० साउनमा नमस्ते बाहेक अग्नि, स्विफ्ट एयर, ब्लु एयर, मुक्तिनाथ स्वदेशी वायुसेवा कम्पनी थिए । अन्तराष्ट्रिय वायुसेवा कम्पनीमा बिबि एयर र अल्पाइन एयरको एओसी पनि खारेज भएको थियो ।

२०७० असोजमा अग्निको जहाज सकार्ने निर्णय सिम्रिक एयरले लियो । त्यतिबेला आएकोे सिम्रिकले अग्निका पाँच जहाज ८० करोडमा खरिद गर्ने त्यसबाट ३० करोड नमस्तेलाई दिने भनिएको थियो ।

नमस्तेले अग्निको सबै ऋण सकारेर ५ वर्ष व्यवस्थापन समाल्ने सम्झौता गरेको थियो । ६ महिनाको अवधीमा १२ करोड रुपैयाँ ऋण तिर्यो पनि ।

ठूलो व्यवसायिक समुह नभए पनि बैंकको ऋणमा महत्वकाक्षीं योजना सारेका खत्रीले सिआरजे २०० नामको ५८ सिटको जहाज चलाउने योजना अघि सारेका थिए ।

पर्यटन मन्त्रालयले २०६९ सालको साउन २२ गते उडान नमस्तेलाई उडान अनुमति दिएको थियो । उड्यन प्राधिकरणबाट मंसिर १२ मा वायुसेवा संचालनको अनुमतिपत्र प्रमाणपत्र (एओसी) दिएको थियो ।

अहिले खत्रीले वित्तीय स्रोतको अभावको कारण आफुले कम्पनी चलाउन नसकेको उनले भन्दै आएका छन् । २०७० साउनमा एओसी खारेज भएपछि खत्रीले सम्झौता अनुसार अग्निको जहाज उडाउन सकेनन् ।

बैंकबाट लिएको ऋण तिर्न नसकेपछि २०७२ बैशाख २४ मा ऋण तिर्न आउनको लागि सार्वजनिक सूचना प्रकाशित गर्यो ।

कर्पोरेट गेमको शिकार भएको बताउने खत्रीले बैंकको निर्र्णय विरुद्ध अदालत जाने भएपनि उनले सोचे अनुसार भने भएन ।

तत्कालिन ग्राण्ड (हालको प्रभु) बैंकको नेतृत्वमा सहवित्तीयकरणमा कर्जा दिएका सनराइज र सिभिलले उनको सम्पत्ती लिलामी प्रक्रिया अघि बढाएका छन् ।

‘बुझ्दै नबुझेर हवाई व्यवसायमा प्रवेश गर्दा खत्रीले बाबुबाजेले जोडेको सम्पत्ति पनि गुमाए,’ पर्यटन मन्त्रालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने,- ‘हवाई क्षेत्रमा लगानी त्यसत सजिलो छैन ।’

महत्वकांक्षी योजनासहित वायुसेवा क्षेत्रमा आउन खोजेको नमस्ते संचालनमै नआइ बन्द भएको थियो ।

आफूले नगद नराखी बैंकबाट ऋण लिएर त्यसैका अधारमा मात्रै व्यवसया गर्न खोज्ने महत्वकांक्षी योजनाका कारण नमस्ते एयर सञ्चालनमा आउन नसकेको र त्यसका सञ्चालकहरु असफल भएको बैंकरहरु बताउँछन् ।

‘खत्रीजी हामीकहाँ पनि ऋण माग्दै आउनुभएको थियो । उहाँहरुले जग्गा धितो राखेर ऋण लिने प्रस्ताब गर्नुभएको थियो । तर, हामीलाई यो प्रोजेक्ट सफल हुन्छ भन्ने लागेन र ऋण दिएनौं,’ एक बैंकका सीइओले भने ।


पुष्प दुलाल