पाऊँको भाउः सय रुपैयाँको लगानीबाट मासिक ४० हजार कमाई




काठमाडौं । स्कूल र कलेज पढ्ने छात्राहरुको लोकप्रीय खानेकुरा हो, पाऊँ। अमिलो र पिरो पाऊँ खादै जिब्रो पड्काउनुको मजा नै बेग्लै हुन्छ । गर्मीको बेलामा त झन् पाऊँको नाम लिने वित्तिकै मुखै रसाउछ ।

पाऊँ खादा रसिलो र मिठो मात्रै हुँदैन । यसको ब्यापारमा लागेकाहरुको कमाइ पनि त्यत्तिकै रसिलो र मिठो छ । नत्र भक्तपुर चपाचोककी गंगालक्ष्मी श्रेष्ठ पाऊँ बेचेर मासिक ४० हजार रुपैयाँ कमाउ कहाँ सक्थिन र ।

गंगालक्ष्मीले २०५६ सालदेखि यो ब्यवसाय सुरु गरेको हो । पाउको ब्यवसाय सुरु गरेयता कमाइको हिसाबले उनले पछाडि फर्केर हेर्नु परेको छैन ।

‘सय रुपैयाँ लगानी गरेर ब्यवसाय सुरु गरें, अहिले मासिक ४० हजार रुपैयाँ जति कमाउँछु,’ गंगालक्ष्मी भन्छिन् ।

पाऊँको मुख्य कच्चा पदार्थ लप्सीको माडा हो । माडा उनी नेपालकै बिभिन्न ठाउँ जस्तै सिन्धुपाल्चोक र फर्पिङबाट ल्याउने गर्छिन् । र, पाऊँमा राख्ने अन्य केमिकलहरु भारत र चीनबाट आउँने गरेको उनी बताउछिन् ।

कति बर्ष भयो यो ब्यवसाय सुरु गरेको ? अनि कोको छन् यो ब्यवसायमा संलग्न ? यस्ता प्रश्न त उठ्ने नै भयो ।

‘मैले व्यवसाय सुरु गरेको १८ वर्ष भयो, सबै परिवार यसैमा संलग्न छौं, र परिवार बाहेक ६ जना यहाँ काम गर्नुहुन्छ,’ उनी भन्छिन् ।

चम्चाको पाऊँ सुरु गर्ने पहिलो व्यवसायी उनी नै हुन् । उनकै ब्यवसायबाट सिकेर अन्य ठाउमा पनि पछि चम्चा पाऊँ सुरु भएको छ, अचेल ।

‘पाऊँ बनाउन धेरै लगानी चाहिदैन, सामान बिग्रन्छ, खेर जान्छ भन्ने हुँदैन, सानो लगानी, राम्रो आम्दानी, राम्रै छ यसको कमाइ,’ उनी भन्छिन् ।

अरु ब्यवसायमा लागेकाहरुको जस्तै यो ब्यवसायमा लागेकाहरुको गुनासो पनि नहुने कुरै भएन । प्रतिस्पर्धा, कच्चा पदार्थको महंगी जस्ता गुसाना नभएका ब्यापारी कुन क्षेत्रमा पो पाइन्छन् र ।

‘पहिले सामानहरु सस्तो थियो । पाऊँ बनाउने ठाउँहरु सिमित थियो । माग धेरै थियो, ब्यापार पनि राम्रो थियो । तर अहिले जताततै पाऊँ बनाउछन् । ब्यापार कम हुँदैछ । धेरै उत्पादन गर्नेहरु सस्तो सामान प्रयोग गरेर बनाउछन् । र, कम मूल्यमा बेचिदिन्छन् । अनि पाऊँको भाउ नै बिगार्छन्,’ गंगालक्ष्मीको गुनासो छ ।

ब्यवसायमा नाफा त चाहिन्छ नै । नाफा भएन भने कसले पो काम गर्छ र ! तर, ब्यापारीहरुको साझा चरित्र नाफा छैन भन्ने नै हुन्छ । गंगालक्ष्मी यसबाट पृथक हुने कुरै भएन ।

‘नाफा त खासै छैन, खान लाउन भने मज्जाले पुगिरहेको छ,’ उनी भन्छिन् ।

उनको पसल ठिमीको चपाचोकमा छ । त्यसैले उनको उत्पादन अर्थाता पाऊँको नाउ पनि ‘चपाचोक पाऊँ’ नै राखिएको छ ।

अधिकांश ब्यवसायमा सिजन र अफसिजन हुन्छ । पाऊँको हुन्छ कि हुदैन ?

‘किन नहुनु ? यसको सिजन र अफसिजन हुन्छ नि ! स्कुल खुल्ने समयमा धेरै बिक्री हुन्छ, असार, साउनमा खासै बिक्री हुदैन, स्कूल र कलेज बन्द भएको बेलामा त झन कम ब्यापार हुन्छ,’ गंगालक्ष्मीको भनाइ छ ।

बुद्धलक्ष्मी श्रेष्ठ पनि पाऊँ ब्यापार गर्छिन् । उनले पाऊँको ब्यवसाय सुरु गरेको १५ बर्ष भयो । आफ्नो विवाह अगाडि पुख्र्यौंली घरमा पनि उनी पाऊँकै ब्यवसायमा संलग्न थिइन् ।

तर उनी धेरैले आकर्षक मानेको र सजिलो पैसा कमाइ हुने ब्यवसायमा पनि नलागेकी होइनन् ।

‘विबाह पछि केही समय घर जग्गा दलाली गरें, त्यसमा आम्दानीको ठेगान हुन्नथ्यो, कहिले धेरै आउथ्यो, कहिले रित्तै, पछि त्यो काम छोडें, अनि सानैदेखि जानेको काम पाऊँ व्यवसायनै सुरु गरें,’ उनी भन्छिन् ।

बुद्धलक्ष्मीको पाऊँले उपत्यकाका अरु ठाउँसम्म बजार विस्तार गरेको छ ।

‘हाम्रो पाऊँ उपत्यकाका भक्तपूर, कालिमाटी, स्वयम्भू, लगनखेल जस्ता सबै ठाउँहरुसम्म पुग्छ, होलसेलमा विक्री हुन्छ, उपत्यका बाहिर बनेपामा पनि हाम्रो पाऊँ पुग्ने गरेको छ,’ उनी भन्छिन् ।

पाऊँको बजारको अभाव छैन भन्छिन्, बुद्धलक्ष्मी ।

‘पाऊँमा काम गर्दा महिनाको हिसाबले भन्दा पनि जति प्याकिङ गर्न सकियो त्यति नै बढि पैसा हुन्छ, घरको काम भ्याएर, घरधन्दा सकेर काम गर्न पाइने र कमाइ पनि राम्रै हुने हुँदा यो ब्यवसायमा हामी रमाएकै छौं,’ बुद्धलक्ष्मी भन्छिन् ।


क्लिकमान्डु