अर्गानिक तरकारी उत्पादनमा कमी, कृषकहरु विषादी प्रयोग गर्न बाध्य



रामपुर (पाल्पा) । अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन ।

विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम (आइपिएम) कृषक पाठशाला चलाए पनि कृषकले विषादीरहित उत्पादन लिन नसकिरहेको अवस्था छ ।

अर्गानिक रुपमा उत्पादित तरकारीको मूल्य नपाउनु र लगानीअनुसारको उत्पादन नभएपछि कृषकले नचाहँदा नचाहँदै पनि विषादीको प्रयोग गर्नु परेको छ । रामपुरका अगुवा कृषक गीता भट्टराई केही वर्ष अगाडि अर्गानिक तरकारी उत्पादन गर्ने प्रयासमा लागे । उत्पादन बढाउन नसकेपछि उनी विषादी प्रयोग गर्न बाध्य भए । विषादीको प्रयोग नगरे तरकारीका बोटबिरुवा जोगाउनै नसकिने उनको भनाइ छ ।

“अर्गानिक उत्पादनलाई जोड दिन खोजेको हो, उत्पादन नबढेपछि लगानी पनि उठाउन सकिएन, अर्गानिक वस्तु विषादीयुक्त तरकारीसँग बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छ,” उनले भने ।

यस्तै घनश्याम देवकोटाले विषादीको प्रयोग छाड्ने सङ्कल्प गरेर अर्गानिक उत्पादनलाई जोड दिए । एक दुई वर्षसम्म उनले तरकारीमा विषादीको प्रयोग गरेनन् । अर्गानिक वस्तुका उपभोक्ताले महत्व नबुझ्ने,सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त तरकारीमा उपभोक्ताको आकर्षण बढेपछि अर्गानिक उत्पादनले लगानी उठाउन समस्या परेको उनको भनाइ छ ।

कृषि विकास कार्यालयले अर्गानिक कृषि उत्पादनमा कृषक सामु ठूलो लगानी गरेको छ । लगानी र उद्देश्यअनुसार कृषक र उपभोक्ताले मर्म नबुझिदिँदा विषादीको मात्रा घट्न नसकेको हो । हिजोआज बजारमा कृषि उत्पादनको माग बढ्दो, उत्पादनकर्ता कम भएका कारणले पनि विषादीको निर्मूल हुन सकेको छैन ।

कृषकले प्राविधिकको सहयोग तथा सुझाव बिना अन्धाधुन्ध विषादीको प्रयोग गरी मानवीय स्वास्थ्य र वातावरणीय क्षेत्रमा यसको प्रभाव नराम्रोसँग पर्न थालेपछि सरकारको बाली संरक्षण निर्देशनालयद्वारा २०५५ सालदेखि जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम (कृषक पाठशाला) सञ्चालनमा ल्याइएको हो ।

अहिलेसम्म जिल्लामा ६६ वटा कृषक पाठशाला सञ्चालन गरेर एक हजार ७१६ कृषकलाई अर्गानिक कृषि उत्पादनसम्बन्धी जानकारी गराइएको बाली संरक्षण अधिकृत कफिल अहमदले बताए । सत्तरी प्रतिशत तरकारी खेतीमध्ये गोलभेँडा,काउली,बन्दा र ३० प्रतिशत धान बालीमा पाठशाला सञ्चालन भइसकेको छ ।

पाठशालाबाट कस्तो अवस्थामा विषादीको प्रयोग कसरी गर्ने,प्रयोग गरिसकेपछि कति दिनपछि मात्र उपयोगमा ल्याउने, कृषक आफैँले खेतबारीमा गरेर सिक्ने,बालीबिरुवाको नियमित अवलोकन, बालीबिरुवामा लाग्ने शत्रु जीव र मित्रु जीवको पहिचान, अर्गानिक कृषि उत्पादन, विषादीको न्यूनीकरणजस्ता ज्ञान सीप कृषकलाई सिकाइने योजना शाखाका प्राविधिक ज्ञानकुमार यादव बताउँछन् ।

उपभोक्ताले पनि अर्गानिक वस्तुको प्रयोगमा ध्यान दिए बालीनालीमा विषादीको न्यूनीकरण कम हुँदै जाने थियो । उपभोक्ता र कृषकले नै वस्तुको उत्पादन नबुझेसम्म कृषि विकास कार्यालयले जुनसुकै अभियान सञ्चालन गरेपनि विषादीको प्रयोग निर्मूल पार्न गाह्रो छ ।


क्लिकमान्डु