खोटो झिक्दा वन सङ्कटमा, खोटो सङ्कलकले जथाभावी रुखमा खोप्ने र खोटो निकाले



डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा  सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ ।

विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी वन सङ्कटमा परेका छन् । चालिस वर्षदेखि एउटै रुखबाट निरन्तर रुपमा खोटो सङ्कलन गर्दा सल्लेरी वन नासिने अवस्थामा पुगेका हुन् ।

जिल्लाको अधिकांश सल्लेरी वनका रुख सुकिसकेका छन् । केही रुख सुक्ने अवस्थामा पुगेका छन् । रुख सुक्ने अवस्थामा पुग्दासम्म खोटो सङ्कलन भइरहेको स्थानीय उपभोक्ताले बताएका छन् । खोटो सङ्कलन हुँदा जिल्लाको ७५ प्रतिशत सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले बताए ।

खोटो सङ्कलन उद्योगले सङ्कलन निर्देशिकाको पालनासमेत गरेका छैनन् । एउटा रुखमा दुई वा दुईभन्दा बढी पिँघ लगाउने, रुखको वरिपरि सरसफाइ नगर्ने, माउ रुखबाट समेत खोटो सङ्कलन गर्ने गरेका छन् । खोटो सङ्कलनले समुदायलाई फाइदा नभई उल्टो जङ्गल सखाप भइरहेको ऐरढुङ्गरा सामुदायिक वनका उपभोक्ता एवम् अमरगढी नगरपालिका–२ का  गोविन्दराज पाण्डेयले बताए ।

जिल्लामा दिव्यारोजिन एन्ड टर्पेन्टाइन र भवानी केमिकल्स प्रालिले खोटो सङ्कलन गर्दैआएका छन् । जिल्लाबाट बर्सेनि चार हजार मेट्रिक टन खोटो सङ्कलन हुने गरेको छ । सुदूरपश्चिमका डडेल्धुरासहित डोटी, अछाम, बैतडी, बझाङमा विभिन्न कम्पनीले खोटो सङ्कलन गर्दैआएका छन् ।

खोटो सङ्कलन गरिसकेको रुखको घाउलाई पोत्नुपर्ने,रुख नै मर्ने गरी रिल लगाउन नपाउने भए पनि खोटो सङ्कलकले आफ्नो फाइदाका लागि जथाभावी रुखमा खोप्ने र खोटो निकाल्ने गरेका कारण रुख सुक्नुका साथै वन नै सखाप हुने अवस्थामा पुगेको अमरगढीका यज्ञराज जोशी बताउँछन् ।

वनका उपभोक्ताले सल्लेरी वन नासिँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । सीमित व्यक्ति र कम्पनीका स्वार्थका कारण जिल्लाका अधिकांश सल्लेरी वन सखाप हुने अवस्थामा पुगेका हुन् । खोटो सङ्कलन कार्यलाई व्यवस्थित गरिनुपर्ने सर्वसाधारणले बताएका छन् ।


क्लिकमान्डु