उत्पादनशील क्षेत्रको आधा कर्जा सिसीडीमा गणना नहुने




काठमाडौं । मंगलबार सार्वजनिक मौद्रिक नीतिको मध्यावधी समीक्षाले बैकिङ क्षेत्रमा केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ । ‘टाउको दुखेको रोगमा टाउको दुखेकै औषधि पायौं’ मध्यावधी समीक्षा मार्फत गरिएको नीतिगत परिवर्तनले बैंकहरुको कर्जा-पुँजी–निक्षेप (सिसीडी) अनुपात गणनामा राहत प्रदान गरेपछि बैंकर्सको यस्तो प्रतिक्रिया आएको हो ।

नीतिको मध्यावधी समीक्षामा उत्दादनशील क्षेत्रतर्फको कर्जालाई सिसीडी गणना गर्नु नपर्ने ब्यवस्थाले बैंकहरुलाई राहत मिलेको हो ।

‘उत्पादनशील क्षेत्रतर्फ प्रबाहलाई प्रोत्साहन गर्ने उद्देश्यले बाणिज्य बैंकहरुबाट बिपन्न बर्गमा प्रत्येक्ष रुपमा प्रबाह हुने २ प्रतिशतसम्मको कर्जा, युवाहरुलाई ब्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धि कार्यविधि २०७१ बमोजिम प्रबाह हुने थप कर्जा तथा उत्पादनशील क्षेत्रतर्फ प्रबाह हुने कर्जाको ५० प्रतिशतसम्मको रकमलाई २०७४ असार मसान्तसम्म बिद्यमान ८० प्रतिशतको कर्जा–पुँजी–निक्षेप अनुपात गणना गर्दा घटाउन पाउने ब्यवस्था गरिनेछ,’ नीतिको मध्यावधी समीक्षा मार्फत गरिएको नीतिगत परिवर्तनमा उल्लेख छ ।

यस्तो नीतिगत परिवर्तनले बैंक तथा वित्तीय संस्थाहरुको ऋण दिने क्षमता सबा खर्ब रुपैयाँभन्दा बढीले बढ्नेछ । नयाँ ब्यवस्था अनुसार कर्जा–पुँजी–निक्षेप अनुपात गणना गर्दा बैंक तथा वित्तीय संस्थालाई १ खर्ब २७ अर्ब रुपैयाँ लगानीयोग्य रकम उपलब्ध हुने राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले नेपालले जानकारी दिए ।

मौद्रिक नीतिले परिवर्तन गरेका विषयमा टिप्पणी गर्दै बैकर्सहरुले राष्ट्र बैंकले बैकिङ क्षेत्रमा टाउको दुखेको समस्या समाधानका लागि टाउको दुखेकै औषधी दिएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाब भएपछि राष्ट्र बैंकले रिपो जारी गरेर तरलता उपलब्ध गराउदै आएको थियो । राष्ट्र बैंकले तरलता छाड्नको लागि रिपो ल्याउँदा बैकर्सले टाउको दुख्दा पेट दुखेको औषधी दिएको टिप्पणी गरेका थिए ।

नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले राष्ट्र बैंकले समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याएको बताए । ‘बैकिङ क्षेत्रमा टाउको दुख्ने समस्या थियो ,केन्द्रीय बैंकबाट टाउको दुखेकै औषधी खानको लागि दिएको छ,’ मौद्रिक नीतिमा टिप्पणी गर्दै शाहले भने । उनले यसले उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाहलाई बढाउन मद्दत गर्ने भन्दै वित्तीय क्षेत्रमा अहिले देखिएको समस्या समाधान हुने बताए ।

यस्तै बैकर्स संघका उपाध्यक्ष किशोर महर्जनले समस्या अहिले देखिएको समस्या समाधान गर्नेगरी मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरिएको टिप्पणी गरे । ‘ राष्ट्र बैंकले अहिले देखिएको समस्या अल्पकालिन तरिकाले समाधान गर्नेगरी नीतिमा व्यवस्था गरेको छ,’ महर्जनले भने ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बैंकरले दिएको सुझाव अनुसार समीक्षमा नीतिगत व्यवस्था परिवर्तन गरेको बताए । ‘ मौद्रिक नीतिको मध्यावधी समीक्षामा जेजति कुरा समट्न पर्ने थियो त्यो कुरा समेटिएको छ,’ उनले भने ।


क्लिकमान्डु