पुँजीबादले जन्माएको मायाः दिपेश घिमिरेकाे बिचार



के माया आफै हुन्छ ? के माया स्वतः हुने कुरा हो ? के हामी माया गर्नलाई स्वतन्त्र छौ ? के हामीले माया चाहे अनुसार गर्न सक्छौं ? यसमा अरु केही कुराले निर्धारण वा प्रभाव पार्छ कि पार्दैन होला ? यो लेख यसैमा केन्द्रित छ, जहाँ माया भनेर रोमाञ्टिक लभलाई बुझाउने प्रयास गरिएको छ ।
खासगरी माया र विवाह न विश्वव्यापी कुरा हो न स्वतः हुने कुरा हो । न त यो मानव सभ्यताको ईतिहासको सुरु देखिनै थियो । माया र विवाह भन्ने कुरा खास ईतिहासको खास समय र स्थानको उपज हो । विवाह त खासगरी व्यक्तिगत सम्पत्तिको अवधारणाको उदय भएसँगै सुरुवात भएको हो ।

एउटा सानो उदाहरण हेरौैं । कृषि पेशामा आवद्ध भएको समाजमा लभ म्यारिज लगभग असम्भव हुुन्छ । त्यस्तो समुहमा विवाह त हुन्छ । तर परिवारले खोजिदिएको केटी वा केटासँग परम्परागत ढंगबाट विवाह हुन्छ । अहिले पनि कृषिमा आवद्ध हाम्रो गाउँघरमा भईरहेको एजेन्ज म्यारिज यसैको उपज हो ।

तर सहरी क्षेत्रमा यसरी परम्परागत शैलीमा मागी विवाह गर्न निकै गाह्रो छ । यहाँ आफ्नो जीवनसाथी आफै खोज्नुपर्ने बाध्यता केटा वा केटीलाई हुन्छ । यसरी आफैले आफ्नो जीवन साथी खोज्नुपर्ने बाध्यता हुँदा लभ गर्नैपर्ने बाध्यतामा केटा वा केटी रहन्छन् । यसको मतलब रोमान्टिक लभ खास सामाजिक प्रणाली तथा अवस्था र संरचनाको उपज हो ।

एकजना विद्धान एजे म्याकफारलेनको लेख छ ‘लभ एण्ड क्यापिटालिज्म ।’ अर्थात माया र पूँजीवाद । यस लेखमा उनले रोमाञ्टिक लभ पुँजीवादको उपज भएको तर्क गरेका छन् ।

खासगरी द्रुतगतिमा भईरहेको औद्योगिक विकास, शहरीकरण र पुँजीवाद झाँगिदै गएको समाजमा रोमाञ्टिक लभ बढ्दै जाने म्याकफारलेनको तर्क छ । उनी अगाँडी लेख्छन् ‘भावनात्मक सम्बन्ध र लभ म्यारिज भन्ने कुरा औद्योगिक क्रान्ति र शहरीकरणको साईड ईफेक्ट हो ।’

यसैगरी अर्का विद्धान केईथ थोमस रोमान्टिक लभलाई कमजोर किमिसको सामाजिक तथा पारिवारिक सम्बन्धको उत्पादन भएको बताउँछन् । अर्का विद्धान तथा प्रशिद्ध मानवशास्त्री रेडक्लिफ ब्राउन लभ म्यारिजलाई विशिष्ट सामाजिक विकासको उत्पादनको रुपमा व्याख्या गर्दछन् । उनका अनुसार विवाहसम्म पुग्ने लभ आधुनिकीकरणको विशिष्ट उत्पादन भएको र यो पूँजीवादसँग पनि जोडिएको छ ।

यी तथ्यलाई मिहिन रुपमा हेर्दा रोमाञ्टिक लभ भनेको सत्रौं तथा अठारौं शताब्दीको उत्पादन हो, जुन पुँजीवादको उत्पत्ति र वृद्धिसँग जोडिएको तथा जेलिएको छ ।

विश्व इतिहासलाई मिहिन रुपमा अध्ययन गर्ने हो भने पनि खासगरी १६ औदेखि १९ औं शताब्दीसम्मको युरोपको उथलपुथलको उपज भनेको व्यक्तिवादीता हो । खासगरी यस समयमा युरोपमा परम्परागत रुपमा रहेका नातासम्बन्धमा आश्रित हुने व्यक्ति त्यसबाट रुपान्तरित भयो ।

यसै समयमा युरोपमा झाँगिएको पुँजीवादले परम्परागत नातेदारीमा आश्रित समाजलाई पूर्णत परिवर्तन गरिदियो । यससँगै हुर्किएको आधुनिक पुँजीवादी प्रणालीको जगमा युरोपमा व्यक्तिवाद हावी भयो । यसै समयमा निजी सम्पत्तीको अवधारणाले शिखर चुम्यो ।

उत्पादन र उपभोगको आधारभुत इकाईको रुपमा रहेको परिवारको अन्त्य भयो । पैसामा आधारित अर्थतन्त्रको वृद्धि भयो । ज्यालामा आधारित श्रमको विकास भयो । आधुनिक उद्योगमा आधारित उत्पादनको विकास भयो । शहरको संख्या दिन दुगुना रात चौगुना बढे । कृषिमा आधारित समाज भत्किदै गयो र पुँजीमा आधारित समाज बढ्दै गयो ।

त्यसपछि हप्तामा निश्चित दिन काम गरेपछि निश्चित दिन वा समय आराम गर्न पाईने भयो । अनि व्यक्ति रोमाञ्टिक लभ गर्न थाल्यो । हो, मायालु भावना, रोमाञ्टिक लभ, लभ म्यारिज जस्ता अवधारणा यसैको उपज हो ।

हो, यही समयमा बसाईसराईको मात्रा असाध्यै बढेर गयो । यस्तो बसाई सराईमा परिवारभन्दा पनि व्यक्ति एक्लै आफ्नो थातथलो छाडेर उद्योगधन्दा भएको शहरी क्षेत्रतिर लाग्यो । त्यस्तो शहरी क्षेत्रमा उसको लागि केटी वा केटा खोजिदिने आफन्त तथा नातेदार पनि भएनन् । उसको मनका वह पोख्ने वा भावना साटासाट गर्ने अर्को व्यक्ति पनि भएन ।

खासमा यही विन्दुबाट संसारमा रोमाञ्टिक लभको अवधारणाले प्रवेश पायो । यसै अवधिमा भएको फ्रान्सेली राज्यक्रान्तिले मजदुरलाई निश्चित समय काम र निश्चित समय आरामको अवधारणालाई संस्थागत गर्यो । त्यसपछि हप्तामा निश्चित दिन काम गरेपछि निश्चित दिन वा समय आराम गर्न पाईने भयो । अनि व्यक्ति रोमाञ्टिक लभ गर्न थाल्यो । हो, मायालु भावना, रोमाञ्टिक लभ, लभ म्यारिज जस्ता अवधारणा यसैको उपज हो ।

एकजना विद्धान स्टोनको तर्कमा अठारौं शताब्दी भन्दा अगाडीसम्म रोमाञ्टिक लभ सुरु नै भएको थिएन । उनका अनुसार त्यसबेलासम्म समाजमा असुरक्षा र मृत्युदरको मात्रा अत्यन्तै बढी थियो । जसले मान्छेमा अहिलेको जस्तो लभ र आकर्षणलाई बढाउदैनथ्यो । बरु घटाउथ्यो । उनी लेख्छन् ‘गरिबीमा भावना र माया हुर्कन सक्दैन ।’

उनको यस तर्कमा धेरै विद्धानहरुले विभिन्न कोणबाट आलोचना पनि गरेका छन् । तथापि धेरैजसो मृत्युदर तथा असुरक्षा धेरै भएको समाजमा व्यक्तिले आफ्नो पार्टनरको भन्दा पनि आफ्नै बढी माया गर्ने र ख्याल गर्ने अनि त्यस्तो समाजमा रोमाञ्टिक लभ हुर्कन नसक्नेमा सहमत छन् । स्टोनको अध्ययनको निष्कर्ष छ ‘रोेमाञ्टिक लभ भनेको सत्रौं तथा अठारौं शताब्दीमा युरोपमा भएको जनसांख्यिक, औद्योगिक तथा पुँजीवादी क्रान्तिको परिणाम हो ।’

अर्का एकजना विद्धान सोर्टरको बुझाईमा पनि भावनात्मक सम्बन्ध र रोमाञ्टिक लभको जरा भनेको बजारमा आधारित पुँजीवाद नै हो । उनका यसमा तीनवटा तर्क छन् । पहिलो, पुँजीवादले परम्परागत समाजलाई भत्काईदियो र बजारलाई खुल्ला गरिदियो । मानिसको आवतजावत तथा गतिशीलतालाई बढाईदियो । मानिस आफु जन्मे हुर्केको घर, परिवार तथा समाजलाई छाडेर एक्लै टाढा टाढाको यात्रा गर्न थाले । मानिसहरु नयाँ र खुल्ला वातावरण जहाँ परिवारका अन्य सदस्यहरुको प्रत्यक्ष दबाब र प्रभावबाट मुक्त रहन थाले । यही समयमा पैसा र बजारको मुल्य मान्यताले समाजलाई झ्याप्पै छोप्यो । गुलाब दिदा माया बढ्छ भन्ने र आफ्नो उत्पादन नै नभएपनि बाहिरबाट आयात गरेरै भएपनि गुलाब दिने पुँजीवादको चंगुल बढ्दै गयो । र, यसैको जगमा रोमाञ्टिक लभ हुर्कदै गयो ।

दोस्रो, पुँजीवादले मानिसको गुणस्तरीय जीवनमा वृद्धि गर्यो । स्वास्थ्य, शिक्षा रोजगारीले व्यक्तिमा मायालु भावना बढायो । र तेस्रो भनेको पुजीवादले परम्परागत ग्रामीण समाजलाई विस्तारै भत्काउदै लग्यो । शहरीकरण र औद्योगिकीकरणलाई बढायो ।

यी तथ्यलाई मिहिन रुपमा हेर्दा रोमाञ्टिक लभ भनेको सत्रौं तथा अठारौं शताब्दीको उत्पादन हो, जुन पुँजीवादको उत्पत्ति र वृद्धिसँग जोडिएको तथा जेलिएको छ ।

अन्त्यमा, धेरैलाई लाग्छ मायाँ आफै हुन्छ । माया स्वत हुने कुरा हो । कसलाई माया गर्ने वा नगर्ने कुरामा हामी पूर्णतः स्वतन्त्र छौ । हामीले कुनैपनि सवाल वा वस्तुको प्रभाव विना हामी आफुले चाहे अनुसारको माया चाहेको व्यक्तिलाई गर्न सक्छौं । हामीले लामो समयदेखि यस्तै साहित्य पढ्यौ । ‘पिरती आफै हुदो रैछ’ जस्ता गीतहरु लामो समयदेखि रेडियोमा सुन्यौ र टिभीमा हेर्यौ । त्यसैले हामीलाई लाग्यो माया गर्न हामी स्वतन्त्र छौं । यसलाई अरु केहि कुराले निर्धारण गर्दैन । प्रभाव पार्दैन ।

तर समाजशास्त्रले भन्छ माया आफै हुदैन । न त माया गर्ने कुरामा हामी आफै पूर्ण रुपमा स्वतन्त्र छौं । बृहंगम रुपमा हेर्ने र विश्लेषण गर्ने हो भने यसलाई प्रभावपार्ने र निर्धारण गर्ने विभिन्न सामाजिक संरचना तथा सम्बन्धहरु छन् । नेपालमै पनि हेर्ने हो भने जात, वर्ग, तथा क्षेत्रले मायामा प्रभाव पारिरहेको छ । त्यसैले भन्न सकिन्छ माया गर्न हामी स्वतन्त्र छैनौ । माया स्वतः हुदैन ।  [email protected]