घरबहाल कर तिर्नु भएको छ ? लिलामी गरेरै भएपनि कर उठाउने तयारीमा महानगरपालिका




काठमाडौं । समयमै घरबहाल कर नतिर्ने ब्यक्ति, कम्पनी र संस्थाहरुको भौतिक सम्पत्ति लिलाम गरेर भएपनि कर उठाउने प्रक्रियामा महानगरपालिका लागेको छ ।

बाध्य नहुँदासम्म घरबहाल कर नतिर्ने प्रबृत्ति बढेपनि महानगरपालिकाले नियमाबली नै परिवर्तन गरेर घरबहाल कर असुलीमा कडाइ गर्न लागेको हो ।

महानगरले लक्ष्य अनुरुपको घरावहाल कर उठाउन नसकेका कारण घरवहाल कर नियामवली संशोधन गर्न लागिएको महानगरपालिकाको राजस्व विभाग महाशाखा प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।

नियमावली संशोधन भएपछि महानगरभित्र निर्माण भएका सम्पूर्ण भौतिक संरचनाहरुले त्यस्तो विवरण लिखित रुपमा वडा कार्यलयमा बुझाएर घरबहाल तिर्नु पर्ने हुन्छ । वडामा पेस भएको विवरणमा शंका लागेमा महानगरका कर्मचारीहरुले जाँचपड्ताल गर्न सक्ने छन् ।

बहाल कर नतिरे हुने कारबाही
व्यक्तिगत संरचनाको बहालबाट उठ्ने रकममा महानगरपालिको नियम अनुसार घरबाहल कर तिर्नु पर्ने हुन्छ । यस्तो कर नतिनेमा वा असुल गर्न बाँकी रहेमा महानगरले त्यस्तो करदाताको चल–अचल सम्पत्तिको स्वामित्व हस्तानतरण रोक्का गर्ने सक्ने ब्यवस्था ऐनमा छ । यस्तै व्यापार व्यवसायमा सिलबन्दी, तालबन्दी र निकासी पैठारीमा रोक्का गर्न सक्नेसम्मको अधिकार महानगरपालिकालाई छ ।

घर जग्गा कारोवार वा जेथा रोक्का गर्दा पनि कर उठ्न नसकेमा महानगरले जेथा वा सो बराबरको सम्पत्ति लिलामी गर्न सक्ने छ । कर नतिर्ने व्यक्तिहरुको हकमा महानगरले दिदै आएको सेवा सुविधा (फोहर, खानेपानी आदि) बन्द गर्न सक्ने व्यवस्था छ ।

महानगरले घरबाहल कर नियमाबली आन्तरिक रुपमा संशोधन गरिसकेको छ । महानगरले गरेको संशोधन महानगर परिषद्को बैठकमा पेस भएर पारित हुनुपर्छ । परिषद्बाट पारित भएपछि नियमावलीलाई कार्यान्वयनका लागि स्थानीय विकास मन्त्रालयमा पठाउनु पर्ने हुन्छ । मन्त्रालयवाट पारित भएपछि त्यसलाई कार्यन्वयनमा ल्याउन सकिने कफ्लेले क्लिमाडूलाई बताए ।

महानगरले आर्थिक २०७२÷७३ मा घरबहाल कर स्वरुप ११ करोड उठाएको थियो । महानगरपालिकाले व्यक्तिगत संरचनामा घरभाडा स्वरुप २ प्रतिशत र महानगरपालिकाले निर्माण गरेका संरचनाहरु, हाटबजार, अ‍ैलानी जग्गाहरुमा २ देखि २० रुपैयाँसम्म प्रतिवर्ग फिट घरबहाल कर उठाउने गरेको छ ।

महानगरले २०६९ साउनबाट वडा कार्यालयबाट घरबाल कर मौखिक रुपमा स्वयम घोषणा गर्नु पर्ने व्यवस्था गरेको थियो । स्वयम घरबहाल कर घोषण गर्ने मध्यमा धेरै व्यापारी, कर्मचारी, एनजियो, आइएनजियोमा काम गर्नेहरु रहेका छन् ।

यस्ता ब्यक्तिहरुलाई आम्दानीको श्रोत देखाउनु पर्ने भएकाले घरबाहल कर तिर्ने गरेका काफ्लेको भनाइ छ । अन्य व्यक्तिहरुले घरबहाल बाध्यतात्मक अवस्थामा जस्तै अध्ययन र विदेश भ्रमणका लागि आम्दानीको श्रोत अनिवार्य रुपमा देखाउनु पर्ने भएकाले तिर्ने गरेका छन् । बाध्यतात्मक अवस्थाबाहेक वार्षिक रुपमा घरबाहल कर तिर्नेहरुले पनि ३ वर्ष अगाडिको बुझाएको विवरण अनुसार तिर्ने गरेका महानगरले जानकारी दिएको छ ।

महानगरले आर्थिक वर्ष २०७०/७१ मा १० करोड ४१ लाख, आर्थिक वर्ष २०७१÷७२ मा १० करोड रुपैयाँ, २०७२/७३ मा ११ करोड रुपैयाँ घरबाल कर स्वरुप उठाएको छ ।

२०६८ सालको जनगणना अनुसार काठमाडौंमा महानगरपालिकामा २ लाख ५४ हजार घरधुरी रहेका थिए । तर महानगरपालिकामा १ लाख २३ हजार घर धुरीको नक्शा पास छ । र, त्यसमध्य ६७ हजारले मात्र घरबाल कर तिर्ने गरेको काफ्लेले जानकारी दिए ।


क्लिकमान्डु