अनुदान सहयोग भए सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध हुने: पोल्ट्री महासङ्घ



नेपाल पोल्ट्री महासङघको शुक्रबार राजधानीमा आयोजित तेस्रो अधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत व्यवसायीहरु । तस्बिर: रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताएका छन् ।

नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत  सुधारमा सरकारले अव विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले पोल्ट्री व्यवसाय क्षेत्रका आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वयन गर्न सरकार गम्भीर भएकाे बताए ।

नाकाबन्दी भूकम्पजस्ता अनेकौ समस्या झेलेर पनि देश र जनताका लागि पोल्ट्री व्यवसायका तर्फबाट भएको योगदानको प्रशंसा गर्दै उनले भने, ‘आत्मनिर्भर बन्नका लागि यो व्यवसायले गरेको प्रयासलाई अरु क्षेत्रले अनुसरण गर्नुपर्छ ।’

नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले व्यवसाय सञ्चालन गर्न राज्यबाट अनुदान सहयोग र अनुकूल नीति भएमा आम नागरिकलाई अझै सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध गराउन सकिने बताए ।

रोगको पहिचान र निधान मुख्य चुनौतीको रुपमा रहेको पोल्ट्री व्यवसायीले दानाको रुपमा मकै, भटमास र पीना मात्रै पनि विदेशबाट  वार्षिक रु १५ अर्बको आयात गर्नुपरेको सो अवसरमा जानकारी गराइयो ।

उत्पादनको क्षेत्रमा नेपालमा पोल्ट्री एक मात्र प्रतिस्पर्धी व्यवसायको रुपमा विकास हुँदै आत्मनिर्भर बन्न पुगेको हो । २०५६ सालबाट व्यवसायीले आधुनिक ढङ्गबाट यो व्यवसायलाई अघि बढाएकोमा हाल पोल्ट्री व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा ३ं५ प्रतिशत योगदान दिँदै आएको छ ।

भूकम्प र स्वायन फ्लुले ठूलो मारमा पारेको यो व्यवसायलाई सञ्चालनमा आवश्यक जग्गाको अभाव र निरुत्साहित गर्ने प्रवृत्तिले पनि अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।

पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका  छन् ।

मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ । किसानले कुखुराको मासु प्रतिकिलो रु १८० को दरले बिक्री गर्दै आएका छन् भने उपभोक्ता मूल्य रु २५० रहेको छ ।

मुलुकमा रहेका पोल्ट्री व्यवसायमध्ये ६० प्रतिशत हिस्सा चितवनले मात्र ओगटेको छ । चितवनमा उत्पादन भएको कुखुरा र अन्डाको ८० प्रतिशत खपत राजधानीमा हुने गरेको अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए । नेपालमा कुखुरा व्यसायीको सङ्ख्या १५ हजार ८०० को हाराहारीमा रहेको बताइएको छ । रासस


क्लिकमान्डु