साना किसान विकास बैंकको २५ प्रतिशत बोनस शेयर, ५२० सहकारी संस्था आवद्ध



काठमाडौं । साना किसान विकास बैंकले आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको १५ औं वार्षिक साधारण सभाले कर प्रयोजन वापत नगद लाभांश १.३१६% सहित बोनस शेयर वापत २५% प्रतिफल शेयरधनीहरुलाई उपलब्ध गराउने प्रस्ताव गरिएको जानकारी दिएको छ ।

अहिले बैंकको चुक्तापुँजी रु. ४० करोड २४ लाख ४९ हजार ८०० पुगेको छ । १५ औं साधारण सभाबाट स्वीकृति प्राप्त भएपछि शेयरधनीहरुलाई उपलब्ध गराउने बोनस शेयर समेत गरी यस बैंकको चुक्ता पूँजी रु. ५० करोड ३० लाखभन्दा बढी हुनेछ ।

०७२÷०७३ अन्त्यमा बैंकको कुल सम्पत्ति ३४% ले बृद्धिभई रु. ११ अर्ब ९३ करोड पुगेको छ । त्यसैगरी स्थापनाकाल देखिनै मुनाफामा सञ्चालित यस बैंकले आर्थिक वर्ष ०७१/७२ मा भएको खुद मुनाफा रकम रु. १५ करोड ४० लाखबाट ४५% को बृद्धि सहित रु. २२ करोड ३२ लाख पुर्याएको छ । अघिल्लो आ.व.मा कुल सञ्चालन आम्दानीको ४३% खुद मुनाफा भएकोमा प्रतिवेदन वर्षमा ४६% खुद मुनाफा भएको बैंकले जानकारी दिएको छ ।

२०७३ असारसम्ममा रु. ४० अर्ब ८७ करोड लगानी गरी रु. २९ अर्ब ८४ करोड असुली गरिसकेको छ भने बैंकले लगानी गरेको कर्जा मध्ये भाखा नाघेको कर्जा रकम १ प्रतिशत भन्दा कम रहेको र बैंकको कर्जा असुलीदर ९९.७५ प्रतिशत रहेको छ ।

अहिले बैंकमा ५२० सहकारी संस्थाहरु आवद्ध भएका छन् भने थप १५४ संस्था, साना किसान सहकारी अनुसरणका माध्यमबाट आबद्ध हुने क्रममा रहेका छन् ।

देशभित्रै मासुजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले यस बैंकले नेपाल सरकारको ऋण सहयोगमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा २०७३ असारसम्म कुल ४८ हजार किसानलाई रु. ४५० करोड मासु तथा दुग्धजन्य पशुपालन कर्जा लगानी गर्ने लक्ष्य रहेकोमा ६९ हजार जना किसानलाई रु. ५ सय ८८ करोड कर्जा प्रवाह भएको बैंकले जनाएको छ ।

सो रकमबाट किसानहरुले ३ लाख ७८ हजार ९८ पशुवस्तु पालन गरेका छन् । यस कार्यक्रमका माध्यमबाट बार्षिक रुपमा झण्डै रु. ४ अर्बको हाराहारीमा र हालसम्म रु. १० अर्ब ६७ करोडभन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ उत्पादन भएको अनुमान गरिएको छ ।

एशियाली विकास बैंकको सहयोग र नेपाल सरकारसँगको सहकार्यमा बैंकले जीविकोपार्जन कर्जा तथा विपद जोखिम न्यूनिकरणका कार्यहरु अघि बढाएको छ । जसमा धादिङ्ग, नुवाकोट र रसुवाका १३ हजार परिवारलाई प्रति पिडित साना किसान परिवार ५० हजारसम्मको ऋणको व्यबस्था गरिएको छ भने २४ सय जनालाई भुकम्प प्रतिरोधी घर निर्माण तालिम सञ्चालन गरिदै रहेको बताईएको छ ।

कृषि तालिमका लागि इज्रायल सरकारको सहयोगमा हालसम्म चार चरणमा गरी १६ सय ०२ जनालाई, इज्रायल पठाइएकोमा ११ सय ५० जना फर्कि सकेका छन् भने ४५२ जना इजरायलमा कृषि तालिममा सहभागी भईरहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु