मुलपानीमा यसरी बन्दैछ अन्तराष्ट्रियस्तरको क्रिकेट स्टेडियम (फोटो कथा)



काठमाडौं । सन् १९९६ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको नेपाली क्रिकेटले छोटो समयमा केही सफलता हासिल गरेसँगै भौतिक पूर्वाधार सुधार्नुपर्ने सवालहरु उठ्न थाले । यसै तथ्यलाई ध्यानमा राखेर सरकारले राष्ट्रिय गौरवका आयोजनाअनुरुप काठमाडौँको मुलपानीमा दुई वटा क्रिकेटका रङ्गशाला निर्माण गर्ने घोषणा गर्यो ।

विसं २०६४ सालदेखि सम्याउने, पर्खाल तथा तारबार लगाउने काम सुरु भयो । ८० लाख रुपैयाँको लगानीमा भएको उक्त कार्यको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो ।

त्यस्तै, विसं २०६७ सालमा गौरा कन्स्ट्रक्सनबाट पेवेलियन निर्माणको काम सम्पन्न भयो । करिब चार करोडको लगानीमा भएको उक्त निर्माणको ठेक्का गौरा कन्स्ट्रक्सनले लिएको थियो । त्यसपछि पाकिस्तानी क्यूरेटर ल्याएर सात वटा पिच बनाउने काम सम्पन्न गरियो जसका लागि करिब रु १५/१६ लाख खर्च भएको थियो । तर पिचको ‘फाउन्डेसन’लगायत केही काम भने अझै गर्न बाँकी छ ।


त्यसैगरी, २०७० तिर कविन्द्र निर्माण सघंले ‘रिटेनिङ वाल’ लगायो । यसको लागत करिब रु ७० लाख थियो । त्यसपछि क्यानले दुई/तीन लाख रुपैयाँ खर्च गरेर मैदान सम्याउने काम गर्यो ।

क्यान बिवाद पछि सरकारले विनयराज पाण्डेको अध्यक्षतामा क्यानको तदर्थ समिति गठन गर्यो, मुद्दा लाग्यो र सबै काम रोकियो । कार्यवाहक अध्यक्षको रुपमा आएका दीपक कोइरालाको नेतृत्वको क्यानले केही काम गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को हस्तक्षेपपछि अहिले क्यानको लामो विवाद टुङ्गिने प्रक्रियामा छ । तर क्रिकेटको प्रमुख निकाय क्यान अझै निस्क्रिय छ । क्यान निलम्बन पर्नुअघि नै मैदान लगभग ९०/९५ प्रतिशत बनिसकेको थियो । अब पिचको फाइनल टच गर्ने, लेबलिङ (नमिलेको सम्याउने, रोलिङ गर्ने, ग्रासिङ गर्ने (झार लगाउने), अस्थायी ढल निर्माण गर्ने जस्ता सानातिना काम मात्र बाँकी छन् ।

प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा आफूहरुसँग भएको बजेट सकिएको र थप रु १७ लाख जुटेको खण्डमा मात्र मैदान खेल्न योग्य हुने बताउँछन् । उनी भन्छन्,‘अब १७ लाख रुपैयाँ उपलब्ध भए सम्पूर्ण काम सकिन्छ । मैदान अन्तर्राष्ट्रिय मापदण्डको बनेको छ । त्यसैले त्रिवि मैदान भन्दा राम्रो हुन्छ भन्ने विश्वास छ ।’

आवश्यक १७ लाखसमेत जोड्दा पूरै काम सक्न जम्मा साढे छ करोड रुपैयाँ लाग्ने लामाको भनाइ छ । यसबाहेक काठमाडौँ विकास प्राधिकरणको आफ्नै खर्चमा करिब एक करोडको लगानीमा ‘नेचुरल पार्क’ बनाउने योजना छ ।

यसैबीच, करिब तीन महिनाअघि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य, प्रमुख कार्यसञ्चालन अधिकृत लामा, प्रशिक्षक, राष्ट्रिय खेलाडी, अम्पायर तथा क्रिकेट शुभेच्छुकसहितको एक टोलीले युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा १७ लाखको माग राखिएको थियो ।


क्लिकमान्डु