सन् २०२१ सम्ममा बनिसक्ने भयो नागढुंङ्गामा सुरुङमार्ग




काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ ।

२.३५ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापान सरकारको ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका)ले निर्माण गर्न लागेको हो । सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।

सुरुङमार्ग २ लेनको हुने छ । र, एक्ट्रा १ लेन पनि हुनेछ । सुरुङमार्गमा विद्युत आपूर्ति नियमित हुनेदेखि अन्य सेवा सुविधा अन्तराष्ट्रियस्तरको हुने सचिव सुबेदीले क्लिकमाण्डूलाई जानकारी दिए ।

सो ऋण तिर्नको लागि १० बर्ष ग्रेस अबधि तोकिएको छ । अर्थात आजको दिनदेखि गणना भएर ४० बर्षभित्रमा तिरिसक्नु पर्ने तर ऋणको किस्ता भने अबको १० बर्ष पछिदेखि मात्रै तिर्न थाल्नुपर्नेछ ।

जाइकाको ऋण सहयोगमा बनेका परियोजनामा निर्माण सम्पन्न भएर सकारलाई हस्तान्तरण गरिसकेपछि सो परियोजना वापतको ऋण जापान सरकारले नेपाल सरकारलाई अनुदानमा परिणत गरिदिने गरेको छ ।

सुरुङमार्ग निर्माण गर्न जापानी सहयोग नियोग जाइकाले १६ अर्ब ६४ करोड जापानी ऐन ऋण दिने सम्झौता भएको छ । यसको नेपाली रुपैयाँमा १५ अर्ब ४१ करोड रुपैयाँ हुन्छ ।

बिहिबार विहान भएको सो सम्झौतमा नेपालको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तथा भौतिक पूर्वाधार तथा यातायात भन्त्री रमेश लेखकको उपस्थितिमा अर्थसचिब डा. शान्तराज सुबेदी र नेपालको लागि जापानी राजदुत मासामी ओगावाले हस्ताक्षर गरेका छन् ।

सो ऋण रकम जापान सरकारले नेपाललाई सहुलियत ब्याजदरमा दिने सम्झौता भएको छ । सम्झौता अनुसार ब्याजदर ०.०१ प्रतिशत रहेको अर्थसचिब सुबेदीले जानकारी दिए ।

राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भएमा ट्राफिक समस्या समधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने छ । सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनुका साथै ट्राफिक जामसमेत हुने गरेको थियो ।

सुरुङमार्ग अन्तराष्ट्रियस्तरको हुनेछ । जहाँ खाजाघरदेखि सौचालय, पसल, सर्भिस सेन्टर लगायतका सुविधाहरु हुनेछन् । सुरुङमार्गमा दुई लेनको गाडी आवत जावत गर्न मिल्ने गरी निर्माण हुनेछ । सुरुङमार्गभत्रै पेट्रोलपम्प समेत रहनेछ । सुरुङभित्र पार्किङ, फुटपाथ र रिपेयरिङ सेन्टरसमेत रहने बताइएको छ ।

दुबै तर्फको सुरुङ प्रवेश गर्नु अगाडि ठूलो बाटो पनि जापानले नै बनाइ दिने भएको छ । सोही खर्चमा २.३५ किलोमिटरको एप्प्रोच सडक बनाइने भएको छ । सुरुङमार्ग सन् २०२१ सम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु हुने बताइएको छ ।


क्लिकमान्डु