खाने मुख बढ्यो भनेर चिन्ता नगर्नुस्, घामबाटै बाली उत्पादन बढाउने प्रविधि पत्ता लाग्यो



161118021057_genetic_breakthrough_science_624x351_universityofillinois_nocredit
१ मंसिर, काठमाडौं । बोट बिरुवाको अनुसन्धानमा एउटा महत्वपूर्ण उपलब्धि हात पार्ने क्रममा वैज्ञानिकहरुले आनुवंशिक परिवर्तनमार्फत सूर्यको प्रकाशको बढी उपयोग हुने गरी बाली उत्पादनमा वृद्धि गर्ने उपाय पत्ता लगाएको बताएका छन्।

‘साइन्स’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययनले ‘फोटोसिन्थेसिस’ भनिने सूर्यको किरणलाई उर्जामा परिणत गर्ने बालीको प्राकृतिक प्रकृयामा सुधार ल्याएर खाद्यान्न बालीको उत्पादनमा वृद्धि गराउन सक्ने देखाएको छ।

उक्त अनुसन्धानका क्रममा सूर्तीको उत्पादन १५ प्रतिशतले बढेको पाइएको छ। वैज्ञानिकहरुले खाद्यान्न संकट समाधानमा पछिल्लो अनुसन्धानले सघाउ पुर्याउनसक्ने अपेक्षा गरेका छन्।

सफल सूर्यको प्रकाशलाई रासायनिक उर्जामा परिवर्तन गर्ने ‘फोटोसिन्थेसिस’ भन्ने प्रकृयामा विरुवाको अनुवंशिक परिवर्तन मार्फत सुधार गराएका वैज्ञानिकहरुले यसबाट बालीको उत्पादन बढाउन सफल भएको बताएका छन्।

अनुसन्धानकर्ताहरुले विश्वको बढ्दो जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादनका लागि पछिल्लो अनुसन्धान महत्वपूर्ण हुने तर्क गरेका छन्।

अनुसन्धानको नेतृत्व गरेका एलिनोइ विश्वविद्यालयका प्राध्यापक स्टेफन लोङ भन्छन्, बिरुवाहरुले सूर्यको प्रकाशलाई खानेकुरामा परिणत गर्ने १४० वटा चरणको दशकौँ यताका अनुसन्धानले बिरुवाहरुको क्षमतामा स्पष्ट कमजोरीहरु रहेको देखाएको छ। आफू नेतृत्वको अनुसन्धानले ती कमजोरीको समाधान गरेको उनले जानकारी दिए।

बोट बिरुवाले सूर्यको प्रकाशको उर्जालाई खाद्यान्न उत्पादनमा प्रयोग गर्ने भएपनि चाहिने भन्दा बढी सौर्य उर्जाबाट जोगिन पातहरुमार्फत एउटा प्रकिया अघि बढाइरहने गरेको देखिएको वैज्ञानिकहरु बताउँछन्।

बादलले सूर्यलाई ढाक्दा कम प्रकाश बिरुवासम्म पुग्छ। तर त्यो सबै उसले प्रयोग गर्न मिल्ने हुँदा हुँदै पनि पातको अतिरिक्त सौर्य उर्जालाई तापमा बदल्ने उक्त प्रकिया जारी रहने हुँदा ती सबै किरणको उच्चतम प्रयोग नहुने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन्।

त्यसको रोकावटबाट सूर्यको प्रकाश खेर जाने स्थितिलाई बालीमा अनुवंशिक परिवर्तन गराई आफूहरुले नियन्त्रण गरेको प्राध्यापक लोङले जानकारी दिए। लक्ष्य त्यसरी परिवर्तन गराइएको सूर्तीको बालीमा १५ प्रतिशतले उत्पादन बढेको भन्दै उनीहरुले अब धान, भटमास र गहुँ खेतीमा त्यस्तो परिवर्तन गराउने उद्देश्य राखेका छन्।

पछिल्लो नतिजाले खाद्यान्न उत्पादनमा व्यापक रुपान्तरण ल्याउने उनीहरुको अपेक्षा छ। तर बीबीसीका एक जना विज्ञान संवाददाता भन्छन् यो अनुसन्धानको परिणाम किसानहरुको खेतसम्म आइपुग्न अझै दुई दशक लाग्न सक्छ।

राष्ट्रसंघिय खाद्य तथा कृषि हेर्ने निकाय युएनएफएओका अनुसार सन् २०५० सम्ममा पृथ्वीको नौ अर्ब जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन खानेकुरा उत्पादनलाई अहिलेको भन्दा ७० प्रतिशतले वृद्धि गर्नुपर्ने हुन्छ। विविसी नेपाली सेवाबाट ।


क्लिकमान्डु