पासवर्ड बिर्सेर हैरान हुनु भो? यसो गर्नुस्



forgot-passwordपासवर्ड राखेर मात्र खुल्ने इन्टरनेटमा तपाईँका कति वटा खाता छन् ? सामान्यतः फेसबुक, जिमेल, ट्वीटर, इ-बैंकिंङ आदि होलान् । अथवा तपाईँसंग विभिन्न प्रयोजनका लागि यिनै मध्येका पनि एक भन्दा बढी एकाउन्ट होलान् । मानौं तपाईँसंग लगिन गर्नुपर्ने पचास वटा वेबसाइट छन् र तिनमा तपाईँले प्रयोग गर्ने पासवर्ड कम्तीमा पनि पचास प्रकारका हुने भए । यसरी सबै एकाउन्टलाई फरक फरक पासवर्ड प्रयोग गर्न तपाईँलाई कत्तिको हैरानी होला ? अथवा यी साइटहरुमा तपाईँले प्रयोग गर्ने पासवर्ड सबैमा फरक राख्नुभएको भए, कि त सबै पासवर्ड सजिला छन् र अप्ठ्यारा भए एउटै वा उस्तै  होलान् । यी दुई विकल्पमध्ये जुनसुकै तपाईँको रोजाइमा भए पनि तपाई इन्टरनेटमा सुरक्षाको हिसाबले निकै असुरक्षित हुनुहुन्छ । तपाईँले प्रयोग गरेका सामान्य पासवर्डले आफ्नो एकाउन्टलाई असुरक्षित त राखेकै हुन्छ त्यसमाथि आजकल इन्टरनेटको माध्यमबाट तपाईँको कम्प्युटरसम्म भित्रिने स्पाइवेयर, मालबेयरहरुले सजिलै तपाईँका गोप्य जानकारीहरू चोरिदिन्छन् ।

सजिलो पासवर्ड तपाईँको लागि मात्र सजिलो हुँदैनन् यी ह्याकर र क्रयाककरलाई पनि उत्तिकै सजिलो लाग्छन् त्यस्तै  दोहोरिने पासवर्डले आफूले प्रयोग गरेका कुनै एक एकाउन्ट ह्याक भएमा बाँकी सबै ह्याकको जोखिममा हुने हुन्छन् ।

अहिलेको इन्टरनेट र ग्लोबल कनेक्टिभिटीको  जमानामा अनलाइनमा आफ्ना सामग्री तथा जानकारी गोप्य र सुरक्षित राख्नु निकै चुनौतीपूर्ण काम हो ।

पासवर्ड सुरक्षित राख्न के गर्ने ?

पासवर्डलाई सुरक्षित गर्न अहिले धेरै टुल्सहरु उपलब्ध छन् । जसमा एकपटक लगइन गरेर आफ्नो पासवर्डको संचय गर्न सकिने छ । त्यसमध्ये लास्टपास विश्वासिलो, भर पर्दो र सुरक्षित छ ।

के हो लास्टपास ?

लास्टपास इन्टरनेटमा उपलब्ध पासवर्ड संचय गर्ने भरपर्दो टुल हो । यसलाई आफ्नो कम्प्युटरमा एप्लिकेसन डाउनलोड गरेर वा ब्राउजरहरुमा गुगल क्रोममा क्रोम स्टोरबाट एक्सटेनसन र फायरफक्समा एडअन्स र अन्य लगभग सबै ब्राउजरमा एक्सटेन्सन राखेर प्रयोग गर्न सकिने छ ।

वेबसाइटपिच्छे फरक पासवर्ड राख्नुभएको भए सबै सम्झिन सकिने प्रकारका सजिला र अप्ठ्यारो पासवर्ड राख्नुभएको भए एउटै वा उस्तै होलान् । यी दुवै पासवर्ड सुरक्षाको हिसाबले कमजोर छन् ।

लास्टपासका फाइदा

अटो सेभ, अटो फिल र अटो एक्जिट

यसले कुनै पनि साइटमा लगइन गर्ने बित्तिकै नोटिफिकेसन् मार्फत पासवर्ड सुरक्षित गर्न सुझाउँछ र प्रयोगकर्ताले स्वीकारेमा भर्खरै लगइन गरेको वेबसाइटमा भरेको युजरनेम र पासवर्ड सुरक्षित राखिदिन्छ । एकपटक यसमा सुरक्षित राखेको पासवर्ड जुनसुकै बेला एक्सटेन्सन वा यसको अधिकारिक वेबसाइटमार्फत जहाँबाट पनि हेर्न सकिने छ । प्रयोगकर्ताले कुनै वेबसाइटमा लगइन गर्न खोजे र त्यस वेबसाइटमा पहिले नै अकाउन्ट खोलि सकिएको भएमा लास्टपासले युजरनेम र पासवर्ड आफैँ भरिदिन्छ ।  ब्राउजर बन्द गरेर निस्किनु परेमा यसलाई लगआउट गरे पनि हुन्छ नत्र यसमा रहेको अटो लगआउट वा निश्चित अवधिपछि गर्न मिल्ने लगआउट सेट गर्न पनि सकिने छ । यो पासवर्ड भल्टमा प्रबेस गर्न मास्टर पासवर्डको आवश्यकता पर्छ । यो मास्टर पासवर्ड बिना लास्टपास खुल्दैन ।

सिंक्रोनाइजेसन

यसको अर्को सरल फाइदा भनेको सिंक्रोनाइजेसन  हो । एकपटक यसमा भरेको विवरण जुनसुकै ब्राउजर, अपरेटिङ सिस्टम, मोबाइल वा अन्य कुनै डिभाइसमा सहजै सिंक्रोनाइज हुन्छ जसले गर्दा यसको प्रयोग निकै सरल छ । जुनसुकै समय जुनसुकै ब्राउजरबाट यसको प्रयोग गर्न सजिलो छ ।

निःशुल्क

लास्टपासको प्रयोग गर्न र यसमा प्रयोगकर्ताले आफ्ना पासवर्डहरू सुरक्षित गर्न पैसा तिर्न पर्दैन । यद्यपि यसमा प्रिमियम फिचर सहित प्रयोगको विकल्पमा प्रिमियम र इन्टरप्राइज भर्जन  पनि छन् । प्रिमियम भर्जनलाई प्रयोग गर्न मासिक एक डलर तिरे पुग्छ र इन्टरप्राइज भर्जनको प्रयोगको लागि १-१०० जनाको लागि २४ डलर प्रति प्रयोगकर्ता प्रतिबर्ष, १०१-१००० प्रयोगकर्ताको लागि २० डलर प्रति प्रयोगकर्ता प्रतिवर्ष र १००१ -५०००+ प्रयोगकर्ताको लागि प्रति प्रयोगकर्ता प्रति बर्ष १८ डलर लाग्ने छ  । यसले फ्री भर्जनमा पनि प्रिमियम बराबरको सुरक्षा दिएको ब्लगमा उल्लेख गरेको छ ।

पासवर्ड जेनरेटर

लास्टपासको अर्को फाइदा भनेको यसमा भएको पासवर्ड जेनेरेटर हो । तपाई आफूले राख्ने पासवर्ड हरेक पटक नयाँ आफैले राख्नुभन्दा लास्टपासको पासवर्ड जेनेरेटरको प्रयोग गर्नु सुरक्षित हुन्छ । यसमा हरेक पासवर्डको लम्बाइ आफैले सेट गर्न सकिन्छ । सेट गरिएका पासवर्ड लेन्थमा पनि आफैले रोज्ने क्यारेक्टर रहन्छन् । जस्तो कि तपाईँले पासवर्ड जेनेरेट गर्ने क्रममा साधारण अल्फाबेट, अल्फाबेट र नम्बरको मिश्रण, अल्फाबेट, नम्बर र $, @, % जस्ता अन्य क्यारेक्टरको मिश्रण राख्न सक्नुहुने छ ।

फर्म भरिदिने सुविधा

यसको अर्को फाइदा भनेको फर्म फिलरको सुविधा हो । इन्टरनेटमा धेरै वेबसाइटहरूमा तिनीहरूको सेवा लिन फर्म भरेर खाता खोल्नुपर्ने हुन्छ । हरेक पटक नयाँ वेबसाइटमा खाता खोल्नु परेमा अहिलेसम्म आफैले ती फारम भर्नुपर्थ्यो तर लास्टपासको प्रयोगबाट ती समस्या हट्नेछन् । यसले असुरक्षित वेबसाइटमा फर्म भर्ने बेला सचेत समेत गराउँछ । लास्टपास फर्म फिलरले वेबसाइटमा साइनअप गर्ने बेला भर्नुपर्ने सबै विवरण तपाईँले पहिले भरेर राखेको फर्मबाट भरिदिन्छ । यसो गर्नलाई तपाईले एकपटक लास्टपासको फर फिलरमा आफ्नो विवरण एकपटक मात्र भरे पुग्छ ।

गोप्य नोट

लास्टपासमा रहेको ‘सेक्युर नोट’ मा प्रयोगकर्ताले इन्टरनेट ब्राउज गरेको समयमा भेटेको कुनै महत्वपूर्ण टिप्पणी, मनपर्ने भनाई, कसैको सम्पर्क नम्बर वा यस्तै केही टिप्ने सुविधा दिएको छ जसको लागि कपि कलम बोकेर इन्टरनेटबाट डाटा टिपिरहनु पर्दैन । सेक्युर नोटमा आफूले अन्त कुनै स्रोतबाट कपि गरेर नोट सुरक्षित राख्न मिल्ने सुविधा छ ।  सेक्युर नोट बिशेसगरि आफू आफ्नो वर्कस्टेसन भन्दा बाहिर काम गर्दा नोट टिप्न सबैभन्दा सजिलो हुन्छ ।

पासवर्ड सेयरिङ

लास्टपासले परिवारका सदस्य, कार्यालयका कर्मचारी साथीहरू वा त्यस्तै समूहमा पासवर्ड सेयर गर्ने सुविधा पनि दिएको छ । यसमा हरेक पासवर्ड वा पासवर्डको समूह बाहिरी व्यक्तिहरूलाई शेयर गर्न सकिने छ ।

यसको गर्ने सुरक्षाको ग्यारेन्टी यसमा रहेको मास्टर पासवर्डको स्ट्रेन्थ हो । यदि कसैले तपाईँको मास्टर पासवर्ड फेला पारेमा त्यसले सम्पूर्ण पासवर्डहरूको भल्टमा प्रबेस पाउँछ र अन्य पासवर्डहरू पनि असुरक्षित हुन्छन् । त्यसो हुनाले यसको प्रयोगमा सावधानी अपनाउनु जरुरी छ । लास्टपासलाई ब्राउजर बन्द गर्दा लगआउट हुने र निश्चित अवधिमा आफै बन्द हुने मोडमा सेट गर्नु उपयुक्त मानिन्छ ।  यसो गर्न ब्राउजरमा लास्टपासको आइकनमा क्लिक गरेर प्रिफरेन्समा जानुहोस् र त्यहाँ देखिने जेनेरल ट्याब भित्रको सेक्युरिटीमा गएर पहिलो अप्सनलाई टिक लगाउनुहोस् र निश्चित अवधिमा लास्टपास आफै बन्द हुने बनाउन दोस्रो अप्सनमा टिक लगाउनुहोस् र खाली बक्समा अवधि मिनेटमा लेख्नुहोस् ।


क्लिकमान्डु