बाइक चलाउँदा ख्याल गर्नुस् यी कुरा



bike

चाडवाडको अवसर पारेर धेरैले बाइक किन्ने सोचाई बनाइ रहनु भएको होला । बाइक नेपालको परिप्रेक्ष्यमा छरितो सवारी साधन भएपनि साना ठुला दुर्घटनाको संख्यालाई हेर्ने हो भने अधिकतम घटना बाइककै हुने गर्छ । यो भनेर बाइक नचढ्ने पनि पक्कै हुदैंन । यदी तपाईहरू बाइक चलाउने सुरमा हुनुहुन्छ वा चलाइरहनुभएको छ भने यो उपायहरू अपनाउनु भयो भने दुर्घटना हुने सम्भावनालाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

आवश्यकता हेरेर मात्रै बाइक किनौँ

अहिले बजारमा धेरै सिसि देखि अग्ला किसिमका बाइकहरू आएका छन् । हेर्दा आकर्षक देखिने यस्ता बाइकहरू तपाईको हाईट, शरीरको क्षमता र तौललाई मिल्न नसक्ने पनि हुन्छ । त्यसैले आफुलाई चलाउदाँ सजिलो हुने किसिमको बाइकको मात्र चयन गर्नुपर्छ । स्टाइल र सिसिहरुलाई हेरेर किन्नुभयो भने चलाउदा त्यस्ता बाइकलाई तपाईले नियन्त्रण गर्न सक्नुहुदैंन । जसको कारण दुर्घटना हुने सम्भावना बढी रहन्छ ।

आकर्षक होईन बलियो हेल्मेट लगाऔँ

बाइक दुर्घटना हुदाँ शरीरमा पर्ने चोटहरू मध्ये टाउकाको चोट सर्वाधिक जोखिमपूर्ण हुन्छ । अहिले बजारमा धेरै नयाँ डिजाइनका हेल्मटहरू छन् । त्यसैले स्टाइललाई भन्दा पनि आफ्नो टाउकाको सुरक्षा गर्ने किसिमको गुणस्तरलाई हेर्ने गर्नु पर्छ । यसको लागि पैसा केही बढी भएपनि खर्च गर्न आनकानी गर्नु हुदैंन ।

दुबै ब्रेक लगाउन सिकौं

सम्भावित दुर्घटनावाट जोगिन र जोगाउन अधिकांश बाइक चालकहरूले अगाडी वा पछाडीको एक मात्र ब्रेक लगाउने गर्छन् । यसो गर्दा बाइक लड्ने सम्भावना बढी हुन्छ । त्यसैले यस्तो अवस्थामा दुबै पाङ्ग्राको ब्रेक लगाउन सकेमा बाइकलाई स्थिर गर्न सकिन्छ । यो कार्यलाई अभ्यासको रुपमा पहिला गर्नु राम्रो मानिन्छ ।

बाइकको स्पिडलाई ध्यान दिऔं

बाइक चलाउदाँ धेरै कम चालकले बाइकको माइल मिटरलाई हेर्ने गर्छन् । यो भन्दा बढी अगाडीको भागलाई हेर्ने गरेका हुन्छन् । त्यसैले कुनै स्थानमा गति सिमितको बोर्ड राखेको हुन्छ भने सोही गतिमा चलाउनु पर्छ । यो वाहेक आफ्नो बाइकको माइल मिटरमा हेरेर आफ्नो गतिलाई नियन्त्रण गर्न सकेमा दुर्घटना हुने सम्भावना धेरै कम हुन्छ ।

आफ्नो बाइकको लिमिटलाई थाहा पाऔं

सबै बाइकको आ-आफ्नै किसिमको स्पिडको लिमिट हुन्छ । त्यसैले आफ्नो बाइकको लिमिट भन्दा बढी गतिमा चलाउनु भनेकै दुर्घटना गर्नु हो भने बाइकको लिमिट अनुसार चलाउनु पनि हाम्रो देशको सडकमा दुर्घटना निम्त्याउनुनै हो । त्यसैले हाम्रो जस्तो सवारी चाप हुने मुलुकमा जति बिस्तारै सवारी चलाउन सक्यो त्यत्तिनै राम्रो हुन्छ ।

सुरक्षित दुरीमा बस्ने

गुडीरहेको सवारी साधन र आफ्नो सवारी साधनको बीचमा न्यूनतम पनि १० मिटरको दूरी हुनु राम्रो मानिन्छ । यो दुरी जति टाढा राख्न सक्यो तपाइलाई भवितब्य हुदाँ रोक्न सजिलो समेत हुन्छ । त्यसैले बाइक चालकले आफ्नो भन्दा ठूला सवारी साधनसँग जति सक्दो टाढाको दुरीमै बसेर चलाउनु राम्रो मानिन्छ ।

सिंग्नलको प्रयोग गरौं

बाइकमा भएको सिंग्नलको प्रयोग समय अनुसार गर्न जान्नुपर्छ । मोड्ने बेलामा दिने सिग्नल, रोक्ने बेलामा, ओभरटेक गर्ने बेलामा दिने सिग्नलहरूको सहि सदुपयोग गर्दा सम्भावित दुर्घटनालाई धेरै न्यूनीकरण गर्न सकिन्छ । यो बाहेक बाइकमा रहेको साइड मिररलाई पनि प्रयोगमा ल्याउँदा दुर्घटना हुने सम्भावना धेरै कम हुन जान्छ ।


क्लिकमान्डु