सित्तैका ७ एन्टीभाइरस, तपाईँको छनौट कुन?



anti-virus-windows7-os

विन्डोज कम्प्युटर प्रयोगकर्ताको ठूलो टाउको दुखाई हो भाइरस । समाधानको लागि भनेर बजारमा सयौं एन्टीभाइरस सफ्टवेयरहरू पाइन्छ । कतिपय किन्नुपर्छ भने कतिपय सित्तैमा ।

पैसा तिरेर किन्दैमा राम्रो पाइन्छ भन्ने पनि छैन् । सित्तैमा पाइने एन्टीभाइरसले पनि तपाइका धेरै समस्या समाधान गरिदिन्छन् । तर सबै एन्टिभाइरस सफ्टवेयर उत्तिकै प्रभावकारी पनि हुँदैनन् । अहिले सित्तैमा पाइने राम्रा एन्टीभाइरस कुन-कुन हुन त?

१. विन्डोज डिफेन्डर

विन्डोज अपरेटिङ सिस्टम बनाउने कम्पनी माइक्रोसफ्टले नै बनाएको यो एन्टिभाइरस पछिल्लो समय निकै लोकप्रिय छ । विन्डोज ८.१ र विन्डोज १० मा भने यो सँगसँगै आएको छ । विन्डोज ७ का प्रयोगकर्ताले यो डाउनलोड गरेर इन्सटल गर्नु पर्दछ । पैसा लाग्दैन् । यसमा ख्याल गर्नु पर्ने कुरा के छ भने तपाइको विन्डोज सफ्टवेयर कपि गरेको भर्सन हैन भने मात्र यो प्रयोग गर्न मिल्छ । पाइरोटेटमा मिल्दैन ।

२. एभिरा

एभिराले राम्रो सुरक्षा प्रदान गर्छ । यसमा विकल्प छनौटहरूपनि थुप्रै छन् । चलाउन पनि सरल छ । यसको नराम्रो पक्ष भनेको स्क्यान गरिराखेको बेला मेमोरी बढी प्रयोग गर्छ र कम्प्युटर सुस्त हुन्छ ।

३.एभिजी

कुनै बेला निकै लोकप्रिय निशुल्क एन्टीभाइरस एभिजीको लोकप्रियता बिचमा केही वर्ष खस्किँदै गयो । पछिल्लो समय सुधार गर्न सफल भएपछी अहिले यो बढि चल्ने एन्टी भाइरसमा पर्दछ ।

४. एभास्ट

एभास्ट तपाइको कम्प्युटर मात्र नभइ नेटवर्क सुरक्षामा पनि लोकप्रिय छ । तपाईको राउटर र अन्य जोडिएका कम्य्टरको सुरक्षा पनि यो एन्टीभाइरसले हेर्छ । यसमा भएको पासवर्ड म्यानेजर एडवन प्रयोग गर्नुभयो भने तपाइको ब्राउजरमा स्टोर भएर बसेका पासवर्डको जानकारी र सुरक्षा चेतावनी पनि दिन्छ ।

५. बिट डिफेन्डर

यसको सबैभन्दा राम्रो पक्ष भनेको कम्प्युटरको कम मेमोरीको उपयोग हो । जसले गर्दा स्कान वा मोनिटर गरि राखेको बेलामा पनि अरू काम गर्न असुविधा हुँदैन । कम्प्युटरमा पहिल्यै भाइरसको समस्या छ भने इन्सटल गर्न केही झमेला हुन सक्छ ।

६. पण्डा

पेन ड्राइभ (युएसबी  स्टीक)को प्रयोग सबैभन्दा बढि भाइरस भित्रिने कारण हो । पण्डाको सबैभन्दा राम्रो भनेकै युएसबी प्रोटेक्सन फिचर हो । पेन ड्राइभमा आएका भाइरस अटोमेटिक इन्स्टल हुनबाट रोकेर यसले यसले सुरक्षा प्रदान गर्छ । यो छरितो पनि छ ।

७. लाभासफ्ट एड-अयर

इन्टरनेटबाट सर्ने भाइरसबाट सुरक्षा प्रदान निकै लोकप्रिय लाभासफ्टले असुरक्षित वेभसाइट लिंकलाई ब्राउजरमा ब्लक गरेर प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्छ । यसका केही राम्रा सुबिधाहरू भने निशुल्क भर्सनमा उपलब्ध छैनन् ।

कुन एन्टीभाइरस उपयुक्त?

तपाइको कम्प्युटरमा अलि पुरानो र हार्डवयरको क्षमता कम छ भने थोरै मेमोरी प्रयोग गर्ने छरितो एन्टी भाइरस रोज्नु पर्दछ । क्षमता कम भएको कम्प्युटरमा कतिपय एन्टी भाइरसले झन सुस्त बनाइदिन्छन् । यसको लागि तपाईले एन्टी भाइरस डाउनलोड गर्ने बेला कुनको हाडवयर रिक्यायरमेन्ट कति छ भनेर हेर्नुभयो भने निर्णय गर्न सजिलो हुन्छ ।

अपडेट नियमित गर्नुपर्छ

जुनसुकै एन्टीभाइरस सफ्टवेयर राखे पनि इन्टरनेटबाट त्यसलाई नियमित अपडेट नगर्ने हो भने तपाई सुरक्षित नहुन सक्नुहुन्छ ।


क्लिकमान्डु