२ सय ५१ भारुको स्मार्टफोन, भारतमा मारामार बिक्री



Freedom-251
मात्र २ सय ५१ भारू पर्ने विश्वकै सस्तो स्मार्टफोन उत्पादक कम्पनी रिङ्गिङ् बेलले ५ हजार स्मार्टफोनहरु डेलिभरी गरेर आफ्नो विक्री थालेको छ । फ्रिडम २५१ नाम दिइएको विश्वकै सस्तो उक्त स्मार्टफोन किन्नका लागि ७ करोड ५० लाख सेट अनलाईन बुकिङ भएको कम्पनीले दाबी गरेको छ ।

पहिलो चरणमा ५ हजार स्मार्टफोन डेलिभरी गरेर सुरु गरेकोमा कम्पनीले दोस्रो चरणमा ६५ हजार सेटको डेलिभरी गर्ने लक्ष्य राखेको छ । रिङ्गिङ् बेलका सिइओ मोइत गोएलका अनुसार भारतमा केन्द्रित गरिएको फ्रिडम २५१ स्मार्टफोन अत्यन्तै सस्तो भए पनि गुणस्तरमा कुनै कमि गरिएको छैन ।

अर्डरको चाप निकै बढी भएकाले लक्की ड्र मार्फत १०/१० हजारका दरले हरेक प्रान्तमा सेटहरु पठाइने कुरा गोएलले बताए । उनका अनुसार एउटै मानिसले धेरै सेट अर्डर गरेकाले पनि प्रत्येक व्यक्तिलाई १/१ सेट पुगोस् भनेर लक्की ड्र गरिएको हो ।

यो स्मार्टफोनका मुख्य विशेषताहरुमा ४ इन्चको क्युएचडी आइपिएस डिस्प्ले, १ गिगाहर्ज क्वार्ड–कोर प्रोसेसर, १ जिबी र्‍याम, ८ जिबी इन्टर्नल मेमोरी, एसडीकार्डमार्फत ३२ जिबीको एक्सटर्नल मेमोरी सपोर्ट, ३.२ मेगापिक्सेल रिएर क्यामेरा, ०.३ मेगापिक्सेल फ्रन्ट क्यामेरा, १४ सय ५० एमएएच ब्याट्री क्षमता, डुअल सिमलायत रहेका छन् ।

भारतको नोइडा सहरस्थित रिङ्गिङ् बेलले गत फेब्रुअरीमा फ्रिडम २५१ स्मार्टफोन सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै विश्वभरको ध्यान खिच्न सफल भएको यस कम्पनीलाई धेरैले झुटो तथा ठग कम्पनी भएको बताए ।

झूटो सूचना दिएको भन्दै कम्पनी विरुद्ध मुद्दा दायर गरिएको थियो । किनभने सुरुमा अधिकांशले २ सय ५१ भारूमा स्मार्टफोन उपलब्ध गराउने भन्दा पत्याएकै थिएनन् । तर कम्पनीले भने मोबाइलको डेलिभरी सुरू गरेर उसमाथिको शंका हटाएको छ ।

कसरी कम्पनीले यति सस्तोमा फोन बेच्न सक्छ ?

फ्रिडम २५१ स्मार्टफोनको अपत्यारिलो पक्ष भनेको यसको मूल्य नै हो । धेरैमा रहेको कौतुहलता भनेको कम्पनीले कसरी यति सस्तो मूल्यमा स्मार्टफोन बनाउन सक्छ र नाफा कमाउन सक्छ भन्ने हो ।

उत्पादक कम्पनीका सिइओ चन्दले फोनको मूल्य भारू २५ सय पर्ने बताएका छन् । तर फोनलाई २ सय ५१ भारूमा उपलब्ध गराउने युनिक बिजनेस मोडेल रहेको दाबी गरे ।

उनका अनुसार २५ सय भारू पर्ने फोनलाई भारतमै उत्पादन गर्दा ४ सय भारु कटौति हुन्छ । दोस्रो, अनलाइन विक्रीबाट अर्को ५ सय बचत हुने कुरा उनी थप्छन् । तेस्रो, प्रडक्टको इकोनोमी स्केलबाट थप ५ सय फाइदा हुनेछ । यसैगरी, इनोभेटिभ मार्केटिङ टुल्सबाट भारू ८ सय बचत गर्न सकिन्छ । यसरी समग्रमा कम्पनीले २२ सय भारू बचत गर्न सक्नेछ । यसैगरी, रिङ्गिङ् बेलको इ–कमर्स प्लाटफर्मबाट धेरै कम्पनीले उनीहरुका उत्पादनहरु बेच्न चाहने भएकाले अन्य उत्पादक कम्पनीले उत्तराखण्ड र नोएडामा दूई ओटा अत्याधुनिक प्रविधिमा आधारित स्मार्टफोन उत्पादन गर्ने प्लान्ट निर्माण गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु