साढे ८३ लाखले चलाउँछन् मोवाइल बैंकिङ, सवा ९ लाख इन्टरनेट बैंकिङका प्रयोगकर्ता
काठमाडौं । विश्वका अधिकांश मुलुकहरु प्रविधिमैत्री भए पनि नेपालमा भने अझसम्म पुर्णरुपमा आधुनिक प्रविधिहरु भित्र्याउन सकिएको छैन । तर नेपालका अन्य क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउन नसकिएपनि बैंकिङ क्षेत्रमा भने प्रविधिको प्रयोग बढ्दो छ ।
करिब २ दशक अघिसम्म पछिल्लो समयमा ढड्डा, लेजर र कार्यलयका रेकर्ड फाइलहरुमा सिमित रहेको नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय प्रविधिको प्रयोगले फड्को मारिरहेको छ । हालसम्म स्वदेशी र विदेशी नागरिकको समेत गरि कुल २ करोड ७८ लाख ६७ हजारभन्दा बढी खाता वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका छन् ।
खाता खोलिएपछि इन्टरनेटको पहँुच भएको स्थानमा बैंकिङ कारोबारहरु मोवाइलबाट नै गर्न सकिने सुविधा लिन खातावालहरु आकर्षित हुदै गएका छन् । हालसम्म ८३ लाख ४७ हजार १८७ जना मोवाइल बैकिङ र ९ लाख १७ हजार ३४४ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ । सहज र छिटो छरितो सेवा पाउने भएपनि बैंकका ग्राहकहरु मोवाइल, इन्टरनेट बैंकिङ प्रयोग गर्न थालेका हुन् ।
नेपाल इन्टरनेट बैंकिंङ प्रयोग सबैभन्दा पहिले सन् २००२ मा कुमारी बैंक शुरु गरेको थियो । तर बैंकिङ प्रविधिको प्रयोगले नेपालमा तिव्रता भने केही बर्षयता मात्र लिएको छ । वित्तीय प्रविधिको प्रयोग अथवा इटरनेट, मोवाइल बैंकिङको शुरुवात भने सर्वसाधारणहरुले स्मार्टफोनको प्रयोग गर्न शुरु गरेपछि मात्र गर्न थालेका हुन् । नेपालमा स्मार्टफोनको प्रयोग करिब एक दशकअघिदेखि मात्रै गर्न थालिएको हो ।
जब मोबाइलमा इन्टरनेट जोडियो र बैंकले दिने केहि सेवा मोबाइलबाट नै हुन थाल्यो । नेपालमा सन् २००५ मा पहिलोपटक स्ट्यान्डर्ड चार्टर्ड बैंकले मोबाइल बैंकिङको सुरुवात गरेको थियो । बैंकले सुरुमा यो एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा मात्र जानकारी गराउने सुविधा दिएको थियो । त्यस पश्चात सन् २००८ मा नबिल बैंकले नेप्सिस सफ्टवेयरमार्फत कोर बैंकिंङ गर्न थालेसँगै नेपालको पुर्णरुपमा मोवाइल तथा इन्टरनेट बैंकिंङमा प्रविधिको प्रवेश भएको जानकारहरु बताउछन् ।
नविल बैंकपछि लक्ष्मी बैंक, कुमारी बैंक लगायत वाणिज्य बैंकहरुले क्रमैसँग मोवाइल, इन्टरनेट बैंकिङको शुरुवात गरेका हुन् । हाल संचालनमा रहेका सबै वाणिज्य बैंक, विकास बैंक र केही वित्त कम्पनीहरुले समेत मोवाइल तथा इन्टरनेट बैंकिङ मार्फत बैंकिङ कारोबार गरिरहेका छन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार ४ वर्षमा नै मोवाइल बैंकिङ प्रयोगकर्ता ५ गुणाले वृद्धि भएको छ । २०७३ मा १७ लाख ५४ हजार ५६६ जना रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार १८७ जना पुगेको छ । यस त्यसैगरी, शाखा रहित बैंकिङ्ग केन्द्रको संख्या पनि बढ्दै गएको छ । मोवाइल बैंकिङ प्रयोगकर्ता २०७४ सालमा २६ लाख ६९ हजार ७३२ जना र २०७५ सालमा ५० लाख ८६ हजार ६९ जना रहेका थिए ।
यसैगरि ४ बर्षमा नै इन्टरनेट बैंकिङ प्रयोगकर्ता ४ लाख १ हजार ८७९ जना बढेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७३ सालमा ५ लाख १५ हजार ४६५ जना रहेका थिए भने २०७६ सालसम्म आइपुग्दा उक्त संख्या ९ लाख १७ हजार ३४४ जना पुगेको छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ता २०७४ सालमा ७ लाख ८३ हजार ७५१ जना र २०७५ सालमा ८ लाख ३४ हजार ३०२ जना रहेका थिए ।
हाल प्राय बैंक तथा वित्तीय संस्थाले आफ्नो कारोबार सबै तहमा विस्तार गर्नका लागि मोबाइलबाट नै बैंकिङ कारोबार गर्नका लागि विभिन्न मोबाइल एप्लिकेसनहरु संचालन गरिरहेका छन् ।
मानिसहरु बिस्तारै क्यासलेसमा विश्वास गर्न थालेका छन् । ग्राहकहरू बैंक वा एटीएममा गएर कारोबार गर्नु भन्दा इन्टरनेटको पहुँच भएसम्म मोबाइलबाटै बैंकिङ कारोबार गर्नु रुचाउछन् । इन्टरनेटको पहुँच भएको स्थानबाट मोबाइलबाट नै बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्ने, खातामा भएको व्यालेन्स हेर्न मिल्ने, एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न, डेभिट/क्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको हेरफेर, अनलाइन किनमेल, बिजुली पानीको विल भुक्तानी लगायत विलहरु भुक्तानी गर्न सकिने जस्ता कार्यहरु गर्न सकिने हुँदा बैंकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैंकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण इन्टरनेट मार्फत मोबाइल बैंकिङले गरेको छ । मोबाइलमार्फत् चौबिसै घण्टा बैंकिङ सेवा प्राप्त गर्न सकिने हुँदापनि यस तर्फ सबैको आकर्षण बढेको हो ।
नेपालमा नेपालका बैंकहरुले मोवाइल बैंकिङको सुविधा उपलव्ध गराउन थालेपछि वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ रुपमा बढ्दै गएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।
राष्ट्र बैंकको तथ्याक अनुसार हालसम्म नेपालमा बैंकिङ सेवामा पहुँच उल्लेख्य वृद्धि भई ६०.९ प्रतिशत पुगेको छ । साथै, लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिन्छ ।