कुनै समयको ‘ब्लु चिप’ चिलिमेको सेयर मूल्य अब कहिले बढ्छ ? (प्राविधिक विश्लेषण)
काठमाडौं । कुनै समयको ब्लुचिप कम्पनी चिलिमे जलविद्युत् अहिले पनि स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत् कम्पनीहरुको लागि अग्रणी कम्पनीको रुपमा रहेको छ । नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व रहेको यो कम्पनी सूचीकृत कम्पनीहरुको लागि समेत उदाहरणीय कम्पनी हो ।
तर, कुनै समय (२०७१ सालमा) २ हजार ७ सय ९४ को उच्च मूल्य भेटेको कम्पनी त्यसयता यो तहमा पुग्न सकेको छैन । हुन त तत्कालिन समयमा नेप्से दोस्रो पटक ११०० को त्यसअघिको सर्वाधिक उच्च विन्दु पार गर्ने तयारीमा थियो ।
कम्पनीको सेयर मूल्य भने त्यसयता लगभग आरोलो लाग्ने क्रममा नै छ । हुन त त्यसपछि बजार (नेप्से) ले २०७३ साउनमा १८८१ को उच्च बिन्दु नभेटेको होइन । तर, त्यो समय पनि कम्पनीको मूल्य १ हजार ३ सय देखि १ हजार ४ सयको हाराहारीमा थियो । जबकी त्योभन्दा एक महिना अघि कम्पनीको मूल्य एकाध पटक १५ सय देखि १६ सय सम्म पुगेको थियो ।
सरकारी संस्था नेपाल विद्युत प्राधिकरण सेयर रहेको कारण कम्पनीमा नेतृत्व फेर बदलले समेत मूल्यमा प्रभाव पर्दै आएको थियो । तर, पछिल्लो समय कम्पनीको वित्तीय विवरणमा समेत वृद्धि देखिन छाडेपछि र लाभांश दरमासमेत कटौती हुन थालेपछि कम्पनीको सेयर मूल्य घट्न थालेको देखिन्छ ।
आर्थिक वर्ष २०७०/७१ भन्दा अघिका ३ वर्षमा कम्पनीको बार्षिक औसत लाभांश दर ५० प्रतिशत माथि थियो । तर, गत ५ वर्षमा कम्पनीको लाभांश दर बार्षिक औसत २६ प्रतिशत हाराहारी छ । लाभांश नै घटेपछि कम्पनी प्रति आकर्षण कम हुनु स्वाभाविक पनि हो , विशेषगरी त्यस्ता लगानीकर्ताहरुलाई जो अल्पकालिन राणनीति बनाएर लगानी गर्छन् ।
अहिले भने कम्पनीको अवस्थामा फेरबलदको संकेत भने देखिँदैछ । जस्तो कि, लाभांश दरमा क्रमिक सुधार भइरहेको छ । कम्पनीले सहायक कम्पनीहरुमा लगानी बढाइरहेको छ । यसले दीर्घकालमा समेत कम्पनीलाई थप आम्दानीको बाटो बनेको छ । हाल कम्पनीले साञ्जेन र मध्यभोटेकोशी दुवै जलविद्युतमा ३८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनीमा ३३ प्रतिशत लगानी गरेको छ ।
सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर जारी भएर पनि वितरण भइसकेको छ । दुवै कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेको थियो । मध्य भोटेकोशीको भने सर्वसाधारणमा सेयर जारी हुन बाँकी छ ।
हालसम्म यी तीनवटै कम्पनीका कुनै पनि आयोजनाबाट विद्युत उत्पादन भइसकेको भने छैन । साञ्जेनका दुवै ४२.५ र १४.८ मेगावाटका जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन मिति सर्दै आएको छ । यी आयोजनाहरुबाट उत्पादन सुरु भएसँगै यसबाट हुने लाभमा चिलिमे समेत अंशियार रहनेछ ।
कम्पनीको प्रकाशित चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरणमा ४ सय २० मेगावाटको बुढिगण्डकी र सहायक चुमचेत स्यार खोलामा समेत ६० मेगावाट विद्युत उत्पादनको लागि अध्ययन भइरहेको उल्लेख छ । यसरी कम्पनीले गरिरहेको लगानी विस्तार हेर्दा भविष्यको लागी कम्पनीको सेयर राख्नु उचित देखिन्छ । यो आधारमा चिलिमे सम्भावना भएको कम्पनी भने निश्चय नै हो ।
कम्पनीको वित्तीय विवरण त्यति उत्साहप्रद देखिदैन । कम्पनीको आयोजना सञ्चालन, प्रशासनिक खर्च र ह्रास कट्टी खर्चमा वृद्धि भएको छ । यस कारण कम्पनीको सञ्चालन नाफा नै घटेको छ ।
कम्पनीले उत्पादन गर्दै आइरहेको विद्युतमा केही वृद्धि गरेको कारण विद्युत बिक्रीबाट हुने आयमा ०.३७ प्रतिशत बढेको छ । १ अर्ब १९ करोड निक्षेप बैंकहरुमा राखेको कम्पनीको व्याज आम्दानीमा पनि वृद्धि भएको छ । यो रकम आइडल नराख्ने र थप लगानीका लागि लगाउने कम्पनीले उल्लेख गरेको छ । तेस्रो त्रैमाशमा १७ प्रतिशतले नाफा घटेको कम्पनीले आगामी दिनमा यसमा मानविय कारणबाट भने प्रभाव नपर्ने उल्लेख गरेको छ ।
कम्पनीका अन्य वित्तीय सूचकमा पनि सुधार हुन भने बाँकी नै छ । कम्पनीको प्रतिशसेयर आम्दानी, मूल्य आम्दानी अनुपात र प्रतिसेयर नेटवर्थ सबै घटेको छ ।
प्राविधिक विश्लेषण
कम्पनीको सेयर मूल्यको प्राविधिक अध्ययनहरुले मूल्य वियरिश प्रवृत्तिमा रहेको देखाइ रहेको छ । १४ दिने आरएसआई सूचक स्केल २० मा छ । सामान्य घटबढ देखिएपनि कम्पनीको मूल्य अधिक बिक्री (स्केल ३० मुनि) क्षेत्रबाट बाहिरीन सकेको छैन । स्केल ३० माथि पुगे माग र आपुर्ति सन्तुलिन क्षेत्रमा आएको र ७० भन्दा पनि माथि लागे अधिक खरीद क्षेत्रमा पुगेको विश्लेषण गरिन्छ ।
केही समय अघि मात्रै सेयर मूल्यको आधारमा बनाइएको २१ दिने मुभिङ एभेरेज रेखाले ७ दिने मुभिङ एभरेज रेखालाई तल पारेको छ । यसले बजार घट्दो क्रममा नै रहेको संकेत गर्छ । एक महिना अवधिको पीभट विश्लेषणले भने कम्पनीको सेयरले आगामी एक महिनाको अवधिमा ५३९ मा पहिलो प्रतिरोध र घट्ने क्रम जारी रहे ४९६ मा पहिलो टेवा पाउनेछ ।
मैनवत्ति चित्र विश्लेषण अनुसार विगत चार दिनमा पहिलो र दोस्रो दिन ठूला कालो मैनवत्ति आकृति बनेको छ । बजार वियरिश प्रवृत्तिमा रहेको यो दरिलो संकेत हो । यद्यपी अन्तिम दुई दिन मा ह्यामर र सुटिङ स्टार आकृति बनेका छन् । यी दुवैले मूल्य बढ्न सक्ने संकेत त गर्छन् । तर, यो संकेत कमजोर मानिन्छ ।