कन्काइलाई दुलही बनाएर भित्र्याउँछौं: प्राइम, हुर्काएकी छोरी जिम्मा लगायौं: कन्काइ, स्वाप कति ?



काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काइ विकास बैंकलाई एक्विजिसन (प्राप्ति) गर्ने भएको छ । प्राइमका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काइका अध्यक्ष सेवक दाहालले बुधबार एक समारोहबीच एक्विजिसनसम्बन्धी सैद्दान्तिक सहमतिमा हस्ताक्षर गरे ।

एक्विजिसन सम्झौतामा हस्ताक्षर गर्दै प्राइम बैंकका अध्यक्ष श्रेष्ठले कन्काइ विकास बैंकसँग आज इन्गेजमेन्ट भएको र अब छिट्टै दुलही बनाएर भित्र्याउने बताए ।

‘आज इन्गेजमेन्टको काम सकिएको छ, अब राष्ट्र बैंक गएर संयुक्त कारोबारको अनुमति ल्याउँछौं अनि छिट्टै दुलही बनाएर भित्र्याउँछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘कन्काइ पाउँदा हामी हर्सित छौं ।’

कन्काइमा १०० कित्ता सेयर हुने सेयरधनीले प्राइम बैंकको ७१ कित्ता सेयर पाउने सहमति भएको छ ।

कन्काइ विकास बैंकका अध्यक्ष दाहालले छोरीलाई जस्तै मायाँ गरेर हुर्काएको कन्काइ विकास बैंक प्राइमलाई जिम्मा लगाउन लागिएको बताए ।

‘हामीले छोरी जस्तै गरेर हुर्काएको यो बैंक प्राइमलाई जिम्मा लगाउँदै छौं,’ दाहालले भने ।

दुई अध्यक्षले यस्तो भाष्ण गरिरहँदा लाग्थ्यो यहाँ बैंकको एक्विजिसन सम्झौता होइन, बिहेबारी भइरहेको छ । प्राइमले आफूभन्दा १ वर्ष जेठी दुलही भेटेको हो । प्राइम स्थापना भएको १२ वर्ष भयो भने कन्काइ स्थापना भएको १३ वर्ष भएको छ ।

६ वाणिज्य बैंकसहित डेढ दर्जन संस्थासँग मर्जर तथा एक्वायरको छलफल गरेको प्राइमले कन्काइ विकास बैंक जोडी भेट्टाएको हो ।

यी दुई बैंक एक भएपछि शाखा संख्या ८९ वटा हुने र पूर्वमा व्यवसाय विस्तार गर्न सहज हुने प्राइमका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘लगानीकर्तालाई कसरी अधिकतम प्रतिफल दिने भन्ने एकमात्र उद्देश्य छ, एक्वायरपछि अझ राम्रो प्रतिफल दिन सकिन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने ।

कन्काइका अध्यक्ष दाहालले यी दुई संस्थाबीचको एक्वायर १+ १= ११ को रिजल्ट आउँछ भन्ने विश्वास रहेको बताए ।

स्रोतका अनुसार कन्काइमा १०० कित्ता सेयर हुने सेयरधनीले प्राइम बैंकको ७१ कित्ता सेयर पाउने सहमति भएको छ । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ठ्याक्कै कति हुन्छ भन्ने कुरा चाहीँ ड्यु डेलिजेन्स अडिट (डीडीए) पछि मात्रै थाहा हुनेछ ।

‘डीडीए गर्दा जे आउँछ त्यसलाई मानेर अघि बढ्छौं,’ कन्काइ विकास बैंकका एक सञ्चालकले भने ।

राष्ट्र बैंकको कारबाहीबाट जोगियो प्राइम

प्राइमले गत भदौ ३ गते ओम डेभलपमेनट बैंकसँग एक्विजिसनको सम्झौता गरेको थियो । तर, गत बैशाखमा ओमले प्राइमसँगको एक्विजिसन प्रक्रिया तोड्दै जेठ २ गते एनएमबि बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ ।

बैशाख अन्तिम साता प्राइम र ओमको डिमर्ज स्वीकृति गर्दै राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर तथा एक्वायरमा नगए शाखा खोल्न नदिने, सञ्चालकलाई सचेत गराउने, आधारभूत सेयर ट्रान्सफर गर्न रोक लगाउने चेतावनी दिएको थियो ।

कन्काइसँग एक्विजिसनको सम्झौता गरेसँगै प्राइम बैंक राष्ट्र बैंकको कारबाहीबाट जोगिएको छ ।

यस्तो हुनेछ एक्वायरपछिको वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ भने चैतसम्ममा कन्काई विकास बैंकको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ छ ।

दुई बैंक एक भएपछि प्राइमको निक्षेप ७० अर्ब ५८ करोड ६६ लाख ३२ हजार रुपैयाँ पुग्ने छ । चैत मसान्तसम्ममा प्राइमको निक्षेप ६८ अर्ब ६५ करोड ७८ लाख २० हजार रुपैयाँ रहेको थियो भने कन्काइको १ अर्ब ९२ करोड ८८ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै मर्जपछि बैंकको कर्जा लगानी ७१ अर्ब ५८ करोड ४१ लाख २८ हजार रुपैयाँ पुग्ने छ । अहिले प्राइमको ६९ अर्ब ८६ करोड ३९ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको रहेको छ भने कन्काईको १ अर्ब ९० करोड १ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा प्राइमको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै कन्काइको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४० पैसा बार्षिक र प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्राइमले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब ५४ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३१।३६ प्रतिशतले बढेको छ ।

गत आवको सोहि अवधिमा बैंकले १ अर्ब १७ करोड ८३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म आईपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ७९ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

यस्तै कन्काइले पनि चैत मसान्तसम्ममा ४ करोड ४० लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

प्राइम बैंक वाणिज्य बैंक हो भने झापाको दमकमा मूख्य कार्यालय रहेको कन्काइ ३ जिल्ला कार्यक्षेत्र भएको क्षेत्रीयस्तरको विकास बैंक हो ।


पुष्प दुलाल