ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता, १३ लाखले पाउने



काठमाडौं । ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँले बढाएर ३ हजार रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा १ हजार रुपैयाँले वृद्धभत्ता बढाएका हुन्।

आर्थिक वर्ष २०७६/०७७ को बजेटले व्यवस्था गरे अनुसार साउन १ गतेदेखि वृद्धभत्ता पाउनेको संख्या १३ लाखले पाउने अपेक्षा गरिएको छ ।

सरकारले अहिले मासिक २ हजार रुपैयाँका दरले वृद्धभत्ता दिइरहेको थियो । आगामी आवको बजेटमा १ हजार रुपैयाँ थपेर ३ हजार रुपैयाँ पुगेको छ ।

वृद्धभत्ता १ हजार रुपैयाँले बढाउँदा राज्यलाई १५ अर्ब ६० करोड रुपैयाँ व्ययभार थपियो

सरकारले सामाजिक सुरक्षाका लागि ६४ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अब बढेको रकमसँगै मासिक ३ अर्ब ९० करोड रुपैयाँ मासिक खर्च हुने भएको छ । यो रकम वार्षिक रुपमा हेर्दा ४६ अर्ब ८० करोड रुपैयाँ खर्च हुने देखिएको छ ।

चुनावी घोषणापत्रमा वामगठबन्धनले बृद्धभत्ता बढाएर ५ हजार पुर्याउने प्रतिबद्धता गरेको थियो ।

नेपालमा बृद्धभत्ताको सुरुवात तत्कालीन अर्थमन्त्री स्व भरतमोहन अधिकारीले गरेका हुन् ।

मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारका अर्थमन्त्री अधिकारीले यसको सुुरुवात गरेका थिए । उनले आर्थिक वर्ष २०५२÷०५३ को बजेटमार्फत वृद्ध भत्ता दिने चलनको सुरुवात गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री मनमोहनले अर्थमन्त्री रहेका भाई भरतमोहनलाई बजेट बिफ्रिङ गर्न दरवार लगे । दरवारमा उनले तत्कालिन राजा विरेन्द्रलाई बजेटको बिफ्रिङ गरे । राजाले ब्रिफिङ सुनेपछि भरतमोहनलाई गुड भन्दै भने, ‘७० वर्षको उमेरलाई ७५ वर्ष गर ।’

उनले जारी गरेको बजेटमा भनिएको थियो, ‘समाज कल्याणतर्फ ७५ जिल्लाको ७५ वर्ष र सो भन्दा माथिका जेष्ठ गरिकहरुलाई प्रतिव्यक्ति प्रतिमहिना १०० रुपैयाँका दरले जेष्ठ नागरिकलाई भत्ता दिने व्यवस्था गर्न २० करोड रकम छुट्याएको छ । लोक कल्याणकारी राज्यको स्थापना गर्ने बाटोमा यो व्यवस्था
महत्वपूर्ण हुने कुरा निर्विवाद छ’ भनिएको थियो ।

वृद्धभत्ता बाँडेर राजयको ढुकुटी रित्याउन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चर्को आलोचना गरेको थियो । तर, कांग्रेसको आलोचनाले उसैलाई ब्याक फायर गर्यो ।

भरतमोहनले १०० रुपैयाँदेखि सुरु गरेको वृद्धभत्ता पटक–पटक बढेर अहिले २ हजार रुपैयाँ रहेको छ । कांग्रेस सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री शुसील कोइरालाको सरकारका अर्थमन्त्री डा। रामशरण महतले ५०० रहेको वृद्धभत्तालाई बढाएर १००० रुपैयाँ पुर्याएका थिए ।


क्लिकमान्डु